काठमाडौं : केही दिनअघि टिकटकमा एउटा भिडियो देखियो। भिडियोमा गुन्डा नाइके चक्रे मिलन आफ्ना अघिपछि केही युवा लिएर फिल्मी शैलीमा हिँडेका थिए। कुनै होटेलभित्रबाट उनको समूह बाहिर निस्किरहेको देखिन्थ्यो भिडियोमा। त्यही भिडियोमा एउटा लामो राइफल जस्तो देखिने हतियार बोकेर एक युवक चक्रेको बडीगार्डका रुपमा हिँडिरहेका थिए।
खुला रुपमा हतियार लिएर नै हिँडेको भिडियो सार्वजनिक भएपछि त्यो भिडियो भाइरल भयो। टिकटकबाट भाइरल भएको सो भिडियो अन्य सामाजिक संजालमा फैलिन धेरै समय लागेन।
प्रश्न उठ्यो : खुल्लमखुल्ला हतियार लिएर हिँड्ने अनुमति कसले दियो? त्यो पनि गुन्डाको छवि बनाएका चक्रे मिलनलाई। त्यसपछि प्रहरीले भिडियोबारे अनुसन्धान थाल्यो। अनुसन्धान गर्दै जाँदा घटना बाँकेको नेपालगंजमा भएको खुल्यो। प्रहरीले भिडियोमा हतियारसहित देखिएका चक्रेका सहयोगी गणेशबहादुर बोगटीलाई नियन्त्रणमा लियो। त्यसपछि भिडियोमा उन बोकेको हतियार 'प्वाइन्ट टुटु राइफल' भएको खुल्यो।
'सार्वजनिक स्थानमा कसैलाई पनि त्यसरी हतियार लिएर हिँड्ने पाइँदैन। हामीले भिडियो हेरेपछि पक्राउ गरेका हौं,' बाँके जिल्लाका प्रहरी प्रमुख सन्तोष सिंह राठौंरले भने।
प्रहरीको अनुसन्धानमा बोगटीले बोकेको हतियार स्थानीय प्रशासनबाट अनुमति लिएको देखिन्छ।
सरकारसँग अनुमति लिएर आफ्नो सुरक्षाको लागि हतियार राख्न पाइन्छ। तर त्यसमा पनि सर्तहरू लागु हुन्छन्। सार्वजनिक स्थानमा लाइसेन्स भए पनि हतियार लिएर हिँडडुल गर्न पाइँदैन। तर, बोगटीले लाइसेन्सको दुरुपयोग गर्दै हतियार बोकेर चक्रेको वरिपरि हिँडेको देखिएपछि प्रहरीले कारवाही अघि बढाएको हो।
प्रहरीले अहिले सो घटनाबारे अनुसन्धान अगाडी बढाएको छ।