PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सेन्सर प्रक्रियामा बोर्डको दोहोरो मापदण्ड,‘नाई नभन्नु ल ६’ ले पायो सेन्सरको लागि सिफारिस



पहिलोपोस्ट

सेन्सर प्रक्रियामा बोर्डको दोहोरो मापदण्ड,‘नाई नभन्नु ल ६’ ले पायो सेन्सरको लागि सिफारिस

काठमाडौं : वैशाख १ गते प्रदर्शन मिति तोकिएको ‘नाई नभन्नु ल ६’ को रिलिज रोकिएको छ। चलचित्र विकास बोर्डले 'सेन्सर' सिफारिस नगरेको कारण देखाउँदै मिति सारिएको निर्माण टिमको दाबी छ।

तर, प्रदर्शन रोकिएको समाचार छ्यापछ्यापी आउन थालेपछि बोर्डले हतार गर्दै सेन्सर प्रक्रियाको लागि स्विकृति दिएको छ। बोर्डले आज जारी गरेको पत्रमा ‘नाई नभन्नु ल ६’ लाई आवश्यक जाँचका लागि सिफारिस गरिएको उल्लेख गरेको छ।

खासमा फिल्म टिमले शुक्रवार नै बोर्डलाई सेन्सर स्विकृतिको लागि पत्र पठाएको थियो। तर, मंगलबारसम्म पनि बोर्डले सेन्सर सिफारिस स्विकृति नदिँदा आफूहरुले मिति सार्न बाध्य भएको निर्देशक विकास आचार्य बताए। फिल्मका एक निर्माता विरुद्ध बोर्डमा उजुरी परेकै कारण सेन्सर प्रक्रिया ढिलो गरेको निर्देशक आचार्यको आरोप छ।

‘नाई नभन्नु ल ६’ को सेन्सर प्रक्रियामा बोर्डको यो अस्वभाविक व्यवहारले बोर्डको दोहोरो मापदण्डलाई देखाउँछ।

केही दिनअघि चैत २४ गते रिलिज हुने भनिएको ‘प्रसाद २’ पनि विवादमा परेको थियो। फिल्मका निर्माता सुवास थापाविरुद्ध केशव पाण्डेले ठगी र बैंकिङ कसूरमा जिल्ला प्रहरी परिसरमा जोहरी दर्ता गरेसँगै थापा विवादमा मुछिएका थिए। साथै, थापाले कलाकार, प्राविधिक र फिल्म सुटिङ गरेको कास्कीको होमस्टेको समेत पैसा नदिई फरार भएपछि कलाकार संघ, प्राविधिक संघ र चलचित्र विकास बोर्डमा उजुरी परेको थियो।

तर, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने फरार निर्माता थापाकै पक्षमा उभिएका थिए। उनले बोर्डले लेनदेनको कुरा नहेर्ने बताउँदै ‘प्रसाद २’ को सेन्सर पास गरेका थिए। तर, पछि उच्च अदालत पाटनको आदेशपछि तत्काललाई रिलिज मिति स्थगित भएको थियो। हिजोमात्रै अदालतले प्रसाद प्रदर्शनको बाटो खुलेको थियो।

यसर्थ, ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’ को सेन्सर प्रक्रियामा बोर्डले दोहोरो चरित्र देखाएको छ। चलचित्र क्षेत्रको ठूला अभिभावक संस्थाले फिल्ममाथि दुइटा मापदण्ड लगाउनु अस्वभाविक देखिन्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell