PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वर्ष २०७९: क्रिकेटमा सपना साकार भएर मख्ख, तर राजनीतिले वाक्क!



मुकुन्द घिमिरे

वर्ष २०७९: क्रिकेटमा सपना साकार भएर मख्ख, तर राजनीतिले वाक्क!

काठमाडौं:  सन् २०१९ मा नेपाली क्रिकेट टोलीले सात टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ खेल्न सुरु गर्दा नेपालको दुईवटा लक्ष्य थिए। पहिलो : एकदिवसीय मान्यता जोगाउने। दोस्रो : शीर्ष ३ भित्र रहेर विश्वकप छनोट खेल्ने। अझ लिग २ को च्याम्पियन नै बन्न पाए त, 'बोनस'।

घरेलु मैदानमा ज्ञानेन्द्र मल्लको कप्तानीमा अमेरिका र ओमनसँगको सिरिजबाट नेपालले लिग २ खेल्न सुरु गरेको थियो। लिगका ३६ औँ कीर्तिपुरस्थित घरेलु मैदानमा भयो जसमा यूएईलाई पराजित गर्दै नेपालले विश्वकप छनोट पनि खेल्ने अवसरको ढोका खोल्यो।

नेपालको यो यात्रा यति सहज थियो त? पक्कै थिएन।

यसक्रममा नेपाली टोलीले तीन जना कप्तान पायो। अनि चार जना विदेशी प्रशिक्षक। कथा यतिमा मात्रै सीमित छैन, यसबीच खेलाडी र नेपाल क्रिकेट संघ (क्यान), खेलाडी र प्रशिक्षकका साथै क्यानभित्रैको आन्तरिकलगायतका धेरै विवादले प्रश्रय पाए। खास गरि वर्ष २०७९ सालमा क्रिकेटले विवाद, असफलता, 'कन्ट्रोभर्सी', सफलता सबै कुराहरु देख्यो।

यही वर्षको पुस महिनातिर नेपालले विश्वकप छनोट पुग्नु त परैको कुरा, एकदिवसीय मान्यता नै जोगाउन कठिन छ भन्ने तर्क बलियो थियो। तर, वर्षको अन्तिममा नेपालले अभूतपूर्व लय समात्दै १२ खेलमा ११ जित निकालेर विश्वकप छनोटसम्म पुग्न सफल भयो।  

क्रिकेटमा केके भयो यो वर्षमा?

नेपाल टी २० लिग

चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा आउँदै गर्दा मुख्य एजेण्डा बनाएका थिए : नेपाल प्रिमियर लिग। आफ्नो कार्यकालमा यसलाई नेपाल टी २० लिगका रुपमा क्यानले सम्पन्न गर्न सफल पनि भयो। तर, यही नेपाल टी २० लिगले क्यानको सम्मान बढाउने भन्दा पनि उल्टै मानमर्दन गरिदियो। र, कार्यकालभर पिरोल्ने प्रतियोगिता बनिदियो।

पटक-पटक मिति सरेको लिग पुस महिनाबाट सुरु भयो। तर, पटक-पटक विवादमा तानिएको यो प्रतियोगिताले क्यानले दाबी गरेको जस्तो चर्चामा आउन भने सकेन।

टियू क्रिकेट मैदानमा दर्शक नपुगेपछि टिकट निःशुल्क बाँड्नुपर्ने अवस्थामा आयोजक पुग्यो। अझ विदेशी खेलाडीको श्रम स्वीकृति, साझेदार संस्था सेभेनथ्री स्पोर्टससँग क्यानको सम्झौता लगायतको विषयले सदनदेखि अदालतसम्मै स्थान पायो।

यो प्रतियोगितामा फिक्सिङ प्रकरणले गर्दा राष्ट्रिय टोलीमा उदीयमान खेलाडीदेखि भेट्रान खेलाडीमाथि फिक्सिङको मुद्धा चलाइयो। अझ क्यानमाथि ‘बिडिङ’ नगराएको, विवादास्पद भारतीय कम्पनी ल्याएर आफ्नो क्षेत्राधिकार र कानुनबाहिरको काम गरेको भन्ने आरोप लगाएको थियो। पछि आरोप सही सावित हुँदै आए। यही सम्झौताले गर्दा क्यानभित्र मतभेद बढ्यो तर त्यसलाई झेलेरै क्यान नेतृत्व अघि बढ्यो।

सम्झौता गरेको भारतीय कम्पनी सेभेनथ्री स्पोर्टस्  बाहिरिए पनि क्यानको कमजोर उदाङ्गो भयो। सेभेनथ्री स्पोर्ट्स र क्यान दुबैले आआफ्नो तर्फबाट सम्झौता तोड्ने घोषणा गरे। नेपाल टी २० लिगमा स्थानीय खेलाडीले राम्रो 'एक्पोजर' पनि पाए। तर, सधैँ पारिश्रमिकदेखि गैरकानुनी क्रियाकलापले यो बढी चर्चामा रह्यो।

नेपाली क्रिकेटको इतिहासमा पहिलोपटक 'स्पट फिक्सिङ' को गम्भीर आरोप लाग्यो यो वर्ष। पुस ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित क्रिकेट मैदानमा लिग भएको थियो। जसमा ६ टिमका ९० खेलाडी सहभागी थिए। विदेशी खेलाडी पनि सहभागी खेलमा फिक्सिङ भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो। सीआइबीले डिएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाएको थियो। जसमा १० जना प्रतिवादी बनाइएको छ। खेलाडी, टिमका व्यक्ति र बाहिरी बिचौलियाको संलग्नता खुलेको प्रहरीको दाबी छ।

लामिछाने प्रकरण र रोहितको उदय

नेपाली क्रिकेट टोली केन्या भ्रमणमा गएको बेला तत्कालीन कप्तान सन्दीप लामिछानेमाथि नाबालिकमाथि बलात्कार गरेको उजुरी पर्‍यो। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लियो। १७ वर्षीया किशोरीलाई करणी गरेको जाहेरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगे। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

१०० दिन थुनामा परेका लामिछानेलाई उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र उनी छुटेका थिए। पछि सर्बोच्च अदालतबाट अनुमति लिएर यूएईसमेत पुगेर खेलेका थिए। उनलाई राष्ट्रिय टोलीमा खेलाएको भन्दै आलोचना अहिले पनि भइरहेको छ।

दासानायके र प्रभाकरले सकेनन्, देसाइको चमत्कार

२०७९ सालमा नेपाली क्रिकेट टोलीको जिम्मेवारी तीन जान प्रशिक्षकले सम्हाले। जसमा सन् २०१४ मा नेपालले टी २० विश्वकप खेलमा महत्वपूर्ण भूमिका निभाएका पुबुदु दासानायके, पूर्व भारतीय अलराउण्डर मनोज प्रभाकर र हालका प्रशिक्षक मोन्टी देशाइ।

जसमध्ये पुबुदु दासानयके खेलाडीको चरम विवादबीच नेपाल आएका थिए। खेलाडीबीचको फाटोलाई केही कम गरे पनि उनी केही महिना नेपाल बसेर क्यानडा फर्किए। त्यहीँको टोलीको मुख्य प्रशिक्षक बनेर। त्यसपछि आएका मनोज प्रभाकरले नतिजा त दिलाउन सकेनन् नै खेलाडीसँगै उनको वादविवाद भएको चर्चा चलेको थियो।

लिग २ मा नेपाली टोलीको सबैभन्दा खराब लय उनी प्रशिक्षक छँदा रह्यो। लिग २ मा खराब लयमा रहेको बेला संकटमोचक बने भारतीय प्रशिक्षक मोन्टी देशाइ।

एकदिवसीय मान्यता जोगाउनै 'मिराकल' चाहिएको अवस्थामा खराब लयमा रहेको टोली सम्हाल्न आएका देशाइले नेपालको एकदिवसीय मान्यतामात्र जोगाउनमात्र सफल भएनन्, लिग २ को शीर्ष ३ मा नेपाललाई पुर्‍याउँदै एकदिवसीय विश्वकपको छनोटमा सोझै पुर्‍याउन सफल भए।

बोर्डमा दुई भाग, स्पष्टीकरण सोधेर कारवाहीको चेतावनी

नेपाल टी २० लिगको सम्झौता क्यानले सेभेनथ्री स्पोर्ट्ससँग गरेयता नै क्यानको बोर्ड सदस्यहरुबीच मतभेद उत्पन्न भएको थियो। यसबारे क्यानका असन्तुष्ट पक्षहरुले पत्रकार सम्मेलन नै गरेर नेतृत्वको आलोचना गरेका थिए। पछि पोखरामा सम्पन्न बोर्ड बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको राजीनामा माग्दै उनीहरुले बैठक बहिष्कार गरेका थिए। उनीहरु फागुनमा सुर्खेतको साधारणसभामा पनि गएनन्।

सुर्खेतमा बसेको साधारणसभाले पाँच जना केन्द्रीय सदस्यलाई संघलाई बदनाम गराएको र निलम्बनमा लैजान खोजेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण सोधिने केन्द्रीय सदस्यहरुमा संजयराज सिंह, मोहम्मद दाउद अन्सारी, ऋषिराम गौतम, अमीतवीर पाण्डे र करण महतारा छन्। उनीहरुले संघको विधानविपरित संघका विरुद्ध पत्रकार सम्मेलन गरेको, संघलाई निलम्बन गराउने उद्देश्यले क्रियाकलापहरु गरेको लगायतको आरोप लगाइएको छ।

त्यस्तै, वाग्मती क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले केन्द्रीय कार्यसमिति निलम्बन गरिपाउँ भनेर राखेपमा दिएको निवेदनको प्रमाण आफूहरुसँग भएको भन्दै स्पष्टीकरण सोध्यो। जिल्ला क्रिकेट संघले पनि केन्द्रीय कार्यसमितिको निर्देशन उल्लङ्घन गरेर साधारण सभामा प्रतिनिधि नपठाएकोमा पनि स्पष्टीकरण सोध्यो।

अविश्वसनीय लय

यो वर्षको पुस/माघतिर लिग २ मा पपुवा न्युगिनीपछि कुनै लय बिग्रेको टोली थियो भने त्यो नेपाल नै थियो। जुन १४ मा ओमनलाई हराएयता लिग २ मा ९ खेल खेलेको नेपालले एउटामात्र जित निकालेको थियो। लाग्थ्यो, नेपालले शीर्ष ३ को प्रतिस्पर्धा त परको कुरा, एकदिवसीय मान्यता जोगाउन पनि सक्ने छैन।

त्यसैबीच पटकपटक प्रशिक्षक परिवर्तन, कप्तान परिवर्तन, टिम भित्रको टसल, अभिभावक संस्थाको प्रवेश र नेपाल क्रिकेट संघ (क्यान) का आन्तरिक किचलो अझ थपथाप भए। यसबीच नेपालले खेलहरु सुम्पिरहँदा प्रतिस्पर्धीहरुले अंक दूरी बढाउँदै लगे। तर, एकाएक नेपालको लय फेरियो।

भारतीय प्रशिक्षक मोन्टी देशाई आएपछि नै सुधारको संकेत देखिन थालेको हो। अनि सुरु भयो ब्याक टू ब्याक जितको श्रृङखला।

घरेलु मैदानमा लिग २ को च्याम्पियन स्कटल्याण्ड र अनुभवी टोली नामिबियामाथि समान २-२ खेलमा जित निकालेर नेपालले 'क्लिनस्वीप' गर्‍यो। त्यसपछि यूएई पुगेको नेपालले ४ मध्ये तीन खेलमा जित निकाल्दै छैटौँ स्थानबाट पाँचौँ स्थानमा उक्लियो। हारको श्रृङखलाले अंक तालिकामा यति ठूलो खाडल बनाएको थियो कि एक स्थान माथि उक्लन पनि नेपालले ७ खेलमा जित निकाल्नुपर्‍यो। ७ खेल अर्थात १४ अंकको दूरी।

अनि लिगको अन्तिम सिरिजमा घरेलु मैदानमा 'क्लिनस्वीप' गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो।

माघको अन्तिम सातातिर नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक मोन्टी देशाईलाई औपचारिक रुपमा सार्वजनिक गर्दा उनले एउटै लक्ष्य भएको बताएका थिए : ह्याप्पी ड्रेसिङ रुम।

सायद उनले नेपाली टोलीभित्रको पछिल्ला किस्साहरुलाई नजिकबाटै बुझेका थिए। त्यसैले पनि 'ह्याप्पी ड्रेसिङ रुम'को उनको रणनीति सफल पनि देखियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell