PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

नक्कली वकिल बनेर ठगी, ७० लाख रुपैयाँभन्दा बढीका चेक बरामद



पहिलोपोस्ट

नक्कली वकिल बनेर ठगी, ७० लाख रुपैयाँभन्दा बढीका चेक बरामद

काठमाडौंः एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन्। जाजरकोटको छेडागाड नगरपालिका १२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानुन व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो। उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

यसरी ठगीमा उनले अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको उनले बताए। उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि भेटिएको छ। उनले अहिलेसम्म रु ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट रु ७० लाखभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ।

उनको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशम्शेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशम्शेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ। यस्तै विभिन्न अदालतबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले बताए।

रिजालले उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन पनि अनुरोध गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell