काठमाडौंः मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ।
सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो।
“काठमाडौँ महानागरपालिकाको फोहोर स्थानीय तहले उठाउने कानूनी व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्थाअनुसार काम गर्नुपर्छ”, बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, “उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक बैठकमा छलफल भएको छ।”
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले उक्त स्थानको फोहोर नउठाउने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन्।