काठमाडौं : विश्वको सबैभन्दा ठूलो फन्डिङ फेस्टिबलका रुपमा दाबी गर्दै भारतमा आयोजित वर्ल्ड स्टार्टअप कन्भेन्सन (डब्लुएससी) एक स्क्याम मात्र भएको आशंका गरिएको छ। उक्त कार्यक्रममा सहभागी उद्यमीहरूले प्रहरीमा गरेको उजुरीले आयोजकहरूलाई १२ अर्ब डलर घोटाला गरेको आरोप लगाएका छन्।
गत मार्चमा भएको यस स्टार्टअप गालामा भाग लिन सयौं उदीयमान उद्यमीहरू भारतको राजधानी नयाँ दिल्लीस्थित नोयडा पुगेका थिए।
सन् २०२१ र २०२२ को सुरूवातसम्म भारतीय स्टार्टअप इकोसिस्टममा फन्डको कुनै अभाव थिएन। कम्पनीहरूले लगानीकर्ताहरुबाट अत्यधिक रकम उठाएका थिए। धेरै स्टार्टअपहरू युनिकर्नमा परिणत भएका थिए। तर, तरलता अभाव बढेसँगै स्टार्टअपहरूको लागि पुँजीको स्रोत सुक्दै गएको अवस्थामा भारतमा आयोजित उक्त कार्यक्रममा धेरै स्टार्टअपहरूको लागि आशाको किरण रूपमा आएको थियो।
यस सम्मेलनमा उपस्थित हुने लगानीकर्ता तथा व्यवसायिक लिडरहरूले स्टार्टअपका १५ मिनेटका पिच फण्डमा परिणत गर्ने आशा गरेका थिए। सम्मेलनको चर्चा परिचर्चा गत फेब्रुअरीदेखि नै थियो। विज्ञापनका लागि बनाइएको छोटो प्रोमो भिडियोहरूमा अंकुर वारिकू, प्रफुल्ल बिलोर, राज शामानी र चर्चित लेखक चेतन भगत लगायतका भारतीय ‘इन्फ्लुएन्सर’हरु समावेश गरिएको थियो।
उक्त सम्मेलनमा पन्ध्र सय भेन्चर क्यापिटलिस्ट, ९ हजार एन्जल इन्भेष्टर र ७५ हजार स्टार्टअपको सहभागिता रहने भनेर प्रचारप्रचारप्रसार गरिएको थियो। साथै यसलाई विश्वभरको सम्भावित ग्राहकहरू, नेटवर्किङ र सिधै लगानीकर्ताहरूलाई भेट्न सकिने प्लाटफर्मको रूपमा चित्रण गरिएको थियो।
डब्लुएससीको वेबसाइटमा उल्लेख गरे अनुसार यस कार्यक्रममा भारतका संघीय यातायात मन्त्री नितिन गडकरी र स्वास्थ्य मन्त्री मनसुख मण्डावियासहित शीर्ष राजनीतिज्ञहरू प्रमुख अतिथि थिए। सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का राज्यका मुख्यमन्त्रीहरू र मन्त्रीहरू समेत कार्यक्रममा उपस्थित हुने बताइएको थियो। यसकारण पनि यस सम्मेलनबाट सबैले उच्च अपेक्षा राखेका थिए।
तर, मार्च २४ मा कार्यक्रम सुरु भएको केही घण्टाभित्रै यो कार्यक्रम पूरै निराशामा परिणत भयो। धेरै सहभागीहरू र केही प्रायोजकहरुले नै सो सम्मेलनमा धोका भएकोआरोप लगाएका छन्। आयोजकहरूले झुठो प्रलोभन देखाएर धोका दिएको आरोप लगाउँदै केही उद्यमीले कार्यक्रम नै अवरुद्ध गरेको थिए। आयोजकले भने यसलाई अस्वीकार गरेका छन्।
कार्यक्रमको पहिलो दिन, सचिन चौहान र उनको टोली कार्यक्रम स्थलमा आइपुगे। उत्तरी राज्य हरियाणाका उद्यमी चौहानले सामाजिक सञ्जालमा आएको विज्ञापन हेरेर कार्यक्रमको लागि पास किनेका थिए।
बाइक सर्भिसिङ एण्ड रिपेयर एप अपना मेकानिकका सह-संस्थापक सचिनले आफ्नो र चार सहकर्मीका लागि टिकट किन्न २० हजार भारतीय रुपैयाँ खर्च गरेका थिए। अरू स्टार्टअप उद्यमी झैं सचिनको टोलीले पनि सम्भावित लगानीकर्ताहरूको लागि आफ्नो उद्यमको बारेमा प्रेजेन्टेसन तैयार गरेका थिए।
यस कार्यक्रमलाई उनीहरू निकै उत्साहित थिए। तर, उनीहरुको उत्साह लामो समय टिकेन, ‘घण्टा बित्यो तर हामीले कुनै पनि लगानीकर्तालाई देखेनौं,’ उनले भने।
त्यस्तै, स्टार्टअप रिप्रोकका संस्थापक भैरव जैनलाई पनि यस सम्मेलनले निराश बनायो। दक्षिणी भारतीय राज्य तमिलनाडुबाट हजारौं किलोमिटर यात्रा तय गरेर कार्यक्रममा सामेल भएका भेरव भन्छन्, ‘सम्मेलन स्टार्टअपका संस्थापकहरूले भरिएको थियो। मलाई लाग्दैन कि त्यहाँ एक व्यक्ति पनि लगानीकर्ता थिए।’
कार्यक्रम सुरू भएको दिउँसो साढे एक बजेसम्म त मन्त्री नितिन गडकरीको निर्धारित भर्चुअल सम्बोधन पनि रद्द भयो। त्यसपछि सहभागीहरूमा असन्तुष्टित देखिन थाल्यो। अधिकांश सहभागीहरु स्टेज वरिपरि भेला हुन थाले र सम्बोधन रद्द हुनुको जवाफ माग्न थाले।
चौहानले भने, ‘लगानीकर्ता कहाँ छन् भन्दै धेरैले प्रश्नले तेर्स्याउन थाले। माहोल त्यसै बिग्रिन पुग्यो किनभने आयोजकसंग कुनै पनि जवाफ थिएन।’
त्यस दिनको अन्त्यमा, चौहान र जैन सहित १९ उद्यमीहरूको समूहले आयोजकहरूलाई धोकाधडीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए।
तर, डब्लुएससी आयोजना गर्ने क्युफन्डर प्रालिका सह-संस्थापक लुक तलवार र अर्जुन चौधरीले सबै आरोप अस्वीकार गरेका छन्। उनीहरूले ‘भाजपा विरोधी एजेन्डा’ भएका ‘विरोधीहरू’ को समूहले उक्त समारोहलाई बिगारेकोले उनीहरूलाई पुलिस बोलाउन बाध्य पारेको दावी गरेका छन्।
यस विषयमा उपस्थित नभएका मन्त्रीका साथै भाजपाले कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्।
अर्जुन चौधरीले गडकरीको सम्बोधन समूहको हड्तालका कारण रद्द गरिएको दाबी गरेका छन् भने बाँकी कार्यक्रम पुलिस सुरक्षासहित नै पूरा भएको बताए।
लगानीकर्ताको सन्दर्भमा भने उनले भने, ‘त्यहाँ लगानीकर्ताहरू संख्यामा कम थिए होला तर उनीहरू त्यहाँ थिए।’
उनका अनुसार भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक आईसीआईसीआई बैंक, लगानी फर्म युनिकर्न इन्डिया भेन्चर्स, वित्तीय सेवा कम्पनी बजाज फिनसर्भ र सफ्टवेयर टाइकुन अजिम प्रेमजीको स्वामित्वमा रहेको प्रेमजी इन्भेष्टको निजी इक्विटी कोष सो सम्मेलनमा सामेल थिए।
तर, चौहानका अनुसार त्यहाँ स्टेजमा गएर पिच गर्ने र दर्शकको रूपमा पिच सुन्ने दुवै स्टार्टअपहरूको संस्थापकहरूको भीड मात्र रहेको बताए। उनले प्रशन गरे, ‘त्यसको औचित्य के हो?’
चौहान जस्तै थुप्रै असन्तुष्ट सहभागीहरूले सामाजिक सञ्जालमा डब्लुएससीबारे आफ्ना अनुभवहरू समेटेर नकारात्मक पोस्टहरू गरेका छन्। साथै नकारात्मक गुगल रिभ्यू पनि छोडेका छन्।
त्यस्तै, कतिपय कम्पनीले पनि आफूलाई कार्यक्रमलाई प्रायोजन गर्नका लागि प्रेरित गर्दा झुठो बोलेको बताएका छन्। यस कार्यक्रमलाई प्रायोजन गर्न ४५ हजार अमेरिकी डलर खर्च गरेका बैंगलोरमा रहेको दिगो प्याकेजिङ्ग ब्रान्ड ब्याम्ब्रेउका संस्थापक वैभव अनन्त चरम निराश देखिन्छन्।
उनी भन्छन्, ‘हामी आयोजकको जालमा फस्यौं र प्रायोजक मात्र होइन सेटअप र मानिसहरूमा वितरण गर्ने स्याम्पल बनाउन पनि ठूलो लगानी गर्यौं।’
कार्यक्रमको अर्का प्रायोजक सफ्टवेयर डेभलपमेन्ट बिल्डर डट एआई डब्लुएससीसँग ‘अत्यन्त निराश’ थियो।
‘हामीले आयोजकहरूलाई स्पष्टीकरण तथा रिफण्डका लागि साथै यस कार्यक्रम र यसका अन्य च्यानलहरूबाट हाम्रो नाम र ब्रान्ड हटाउन अनुरोध गर्न पुग्यौं। तर हामीले कुनै पनि जवाफ प्राप्त गरेका छैनौँ,’ कम्पनीका एक प्रवक्ताले भने।
हालसम्म पनि बिल्डर डट एआईको नाम र लोगो डब्लु्एससीको वेबसाइटमा प्रष्ट रूपमा देख्न सकिन्छ। अन्य प्रायोजकहरूले पनि सोहि लाइनमा ट्वीट गरेका छन्।
सामाजिक सञ्जालमा लाखौं फलोअर भएका वारिकू र शामानीले डब्ल्यूएससीले आफ्ना भिडियोहरूलाई अनुमति बिना प्रचारका लागि प्रयोग गरेको आरोप लगाएका छन्। तर यसलाई आयोजकहरूले अस्वीकार गरेका छन्।
यद्यपि आयोजकहरूले प्रायोजक र ‘इन्फ्लुएन्सर’हरुको प्रतिक्रियाको लागि विरोधमा उत्रिएका उद्यमीहरूलाई दोष दिएको छ। आयोजक चौधरीले व्यापक मिडिया कभरेजले व्यक्तिगत जीवनमा समेत असर गरेको आरोप लगाएका छन्।
केही प्रायोजक र सहभागीहरूले आयोजकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अल्फाबेटका सीईओ सुन्दर पिचाई र ट्विटरका प्रमुख इलन मस्क जस्ता प्रभावशाली व्यक्तित्व यस सम्मेलनमा सहभागी हुने भन्दै प्रभावित बनाएको गुनासो गरेका थिए।
तर आयोजकहरूले यी प्रभावशाली व्यक्तित्वको फोटोहरू जनवरीको लागि प्लान गरिएको तर हुन नसकेकोले यस कार्यक्रमको लागि प्रयोग गरिएको भन्दै उम्किन खोजेका छन्।
नेटवर्किङको आशा लिएर सम्मेलनमा सहभागी भएका वकिल रघुमन्यु तनेजा अहिले सम्मेलन आयोजक विरूद्ध पुलिस उजुरी दर्ता गर्ने समूहको प्रतिनिधित्व गर्दै छन्।
उनले भने, ‘उक्त सम्मेलनमा उनीहरूको विश्वास वारिकु जस्ता ‘इन्फ्लूएन्सर’हरूको संलग्नताले प्रेरित गरेको थियो। उनीहरूले समेत अब भारतमा इन्डोर्समेन्ट नियम अन्तर्गत जरिवाना भोग्न सक्छन्।’
यद्यपि इन्डियाका टप कन्टेन्ट क्रियटर वारिकु यसलाई अस्वीकार गर्छन्, ‘म सबैलाई व्यक्तिगत रूपमा प्रतिक्रिया दिँदैछु। संगै औपचारिक प्रतिक्रिया मिडियामा पनि सेयर गर्दै छु।’
उद्यमीहरूले दायर गरेको उजुरीमा आयोजकहरूलाई १२ मिलियन डलरको घोटाला गरेको आरोप लगाएका छन्। उनीहरूले कार्यक्रममा देखेका मानिसहरू र स्टार्टअपको संख्याको आधारमा यो अनुमानित आंकडामा आइपुगेका हुन्।
तर आयोजक चौधरीले कार्यक्रमबाट डब्ल्यूएससीको कुल आम्दानी यो रकमभन्दा निकै न्यून भएको दाबी गरेका छन्।
‘यदि यो साँच्चै घोटाला हो भने, म यहाँ हुन्थें होला त!, पैसा लिएर भाग्थिन होला?’ उनले सोधे।
तलवारका अनुसार कार्यक्रममा चार हजार सहभागी थिए। डब्लुएससीले आफ्नो वेबसाइटमा स्टार्टअपहरूबाट आएको इन्डोर्समेन्ट साझा गरेको छ। यद्यपि यसमा आफूले उठाएको रकमबारे भने कुनै पनि उल्लेख गरिएको छैन।
उजुरीकर्ताले आफ्नो अर्को मुभ व्हाट्सएप समूहमा प्लान गरिरहेको बताए। अर्कोतर्फ डब्लुएससी आयोजकहरूले उनीहरू विरुद्ध कानुनी कारबाही गर्ने योजना बनाएका छन्।
हाल प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको जनाएको छ भने अहिलेसम्म एक जना पनि पक्राउ परेका छैनन्। (बीबीसीबाट साभार)