PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

फुटबल फोहोरी राजनीतिले बदनाम, ‘पहिलो रोजाइ’ समेत बाहिरिँदा कमजोर टिम बोलाएर आत्मरति



मुकुन्द घिमिरे

फुटबल फोहोरी राजनीतिले बदनाम, ‘पहिलो रोजाइ’ समेत बाहिरिँदा कमजोर टिम बोलाएर आत्मरति

काठमाडौं : सन् २०१९ मा नेपालले घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्णपदक जित्यो। सागको समापन समारोह अघि भएको फाइनल खेलमा सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले भुटानलाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो।

उक्त फाइनल खेलमा नेपालको तर्फबाट गोल गर्ने खेलाडी थिए अभिषेक रिजाल र सुनिल बल। भुटानको तर्फबाट गोल गर्ने खेलाडी थिए चेन्चो ग्याल्चेन।

त्यसैको ४ वर्षपछि फेरि भुटानी टोली नेपाल आयो। यसपटक भने सिनियर नेपाली टोलीसँग खेल्न, चेन्चोकै कप्तानीमा।

सागमा कप्तानी गरेका श्रेष्ठ संन्यास लिँदै अस्ट्रेलिया पुगिसकेका छन् भने भुटानविरुद्ध गोल गरेका दुई खेलाडी पनि अस्ट्रेलियामै छन्। अझ रोचक भनेको नेपालले सन् २०१९ को सागमै भुटानसँगको पहिलो खेलमा चार गोल गरेको थियो।

कप्तान सुजल श्रेष्ठले दुई गोल तथा मिक्चेन तामाङ र अभिषेक रिजालले समान १/१ गोल गर्दै ४-० को फराकिलो जित निकालेका थिए। बिडम्बना भन्नु पर्छ सन् २०१९ मा नेपालले दुई खेलमा ६ वटै गोल गर्ने सबै खेलाडी हाल विदेश पलायन भइसकेका छन्।

वर्ष २०७९ मा के-के भयो नेपाली फुटबलमा?

नेतृत्व परिवर्तन र राजनीति

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यो वर्ष नयाँ नेतृत्व चयन गर्‍यो। एन्फाको नेतृत्वमा अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका पंकजविक्रम नेम्बाङले पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराए।

तर नेम्बाङ नेतृत्वमा आए पनि कार्यसमितिमा उनी अल्पमतमै छन्। जसकारण एन्फाको विवाद टुंगिएको छैन।

एन्फामा कहिले विदेशी नागरिकलाई महत्वपूर्ण पद सुम्पिएर विवाद चलिरहेको छ भने कहिले बोर्ड बैठकमा हस्ताक्षरकै विषयलाई लिएर पनि विवाद छ। अघिल्लो बोर्ड बैठकमा त एन्फामा हात हालाहाल र तोडफोडकै अवस्था आइपरेको थियो।

एन्फा नेतृत्व स्पष्ट रुपमा तीन भागमा विभाजित हुँदा फुटबल नराम्ररी गिजोलिएको छ।

महिला साफ च्याम्पियनसीप : फेरि उपविजेता

दक्षिण एसियाली फुटबल साफमा नेपालको छवि हो सदाबहार उपविजेता। लगभग सँधैजसो फाइनल पुगेर भारतसँग पराजय ब्यहोर्दै उपविजेतामा खुम्चनु नेपालको नियति बन्दै आएको छ।

तर यो वर्ष काठमाडौंमै नेपाल फेरि उपविजेता बन्दा कथामा केही ‘ट्वीस्ट’ थियो। नेपालले सदाबहार विजेता र उपाधिको प्रवल दाबेदार भारतलाई त सेमिफाइनलमै हराउन सफल भयो तर फाइनल खेलमा बंगलादेशसँग पराजित हुन पुग्यो।

यो वर्ष साफमा धेरै कीर्तिमान टूटे र बने पनि। सबैभन्दा ठूलो कीर्तिमान बंगलादेशले बनाएको थियो, साफ च्याम्पियनसिपको पाँच पटकको विजेता रहेको भारतलाई पहिलो पटक हराएर।

अहिलेको संस्करणसम्म आइपुग्दा भारतले ब्यहोरेको यो पहिलो हार थियो। सेमिफाइनलमा बंगलादेश विजेता र भारत उपविजेता बनेर प्रवेश गर्दा नेपाल समूह ‘बी’को विजेता बन्दै यात्रा तय गरेको थियो।

सेमिफाइनलको समीकरण अनुसार नेपालले सेमिफाइनलमा भारतसँग खेल्यो। साफ च्याम्पियसिपमा यसअघि सन् २०१६ मा नेपालले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो।

सोही संस्करणमा मात्र हो नेपाल फाइनलमा नपुगेको। संयोग त्यतिबेला पनि नेपाली टोलीका प्रशिक्षक कुमार थापा नै थिए। र, यसपाला भारतसँग सेमिफाइनल खेलाउने जिम्मेवारी थापाकै काँधमा थियो।

तर, यसपटक भने इतिहास फेरियो। साफ इतिहासमै पहिलो हार ब्यहोरेको पीडा भुल्न नपाउँदै भारतले ब्याक टू ब्याक हार ब्यहोर्न पुग्यो।

नेपालले साविक विजेता भारतलाई १-० गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो। सेमिफाइनल चरण सकिँदा स्पष्ट भयो : यसपटक साफ महिला च्याम्पियसिपमा नयाँ च्याम्पियनको आगमन हुँदैछ।

साफले नयाँ च्याम्पियन त पायो तर त्यो नेपाल नभएर बंगलादेश थियो। फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले हराउँदै इतिहास रचेको थियो। साफले नयाँ विजेता पाउँदा नेपाल भने सदावहार उपविजेतामै खुम्चियो।

प्रशिक्षक परिवर्तन

भदौ २७ गते नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारीबाट राजीनामा दिए। र, लगत्तैको एन्फाको कार्यसमितिले उनको राजीनामा स्वीकृत गर्‍यो।

त्यसयता प्रदीप हुमागाइँ र प्रवेश कटुवालले क्रमश: बंगलादेश र पाकिस्तानविरुद्धको सिरिजका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सम्हाले। तर, मुख्य प्रशिक्षक भित्र्याउन भने एन्फाले ठ्याक्कै ६ महिना लगायो। मुख्य प्रशिक्षकका लागि आएका १६८ आवेदनबाट एन्फाले छान्यो इटलीका नागरिक : भिन्सेन्जो अलबेर्टो एनेस।

भारतको विभिन्न लिगमा काम गर्दै आएका एनेस नेपालको मुख्य प्रशिक्षकका रुपमा आइपुगेका छन्। अव्यवस्था र विवादपछि खेलाडी पलायनको मार नेपाली फुटबलले खेपिरहेको समयमा उनी नेपाली टोलीको जिम्मा लिन आइपुगेका छन्।

पहिलो रोजाइकै खेलाडी पलायन

नेपाली फुटबलमा र समग्रै खेलकुदमा पनि चिन्ता बढाएको विषय हो खेलाडी पलायन। चैत महिनामै मात्रै नेपाली टोलीका महत्वपूर्ण सदस्य तथा मछिन्द्र क्लबका कप्तान सुजल श्रेष्ठ संन्यास लिँदै अस्ट्रेलिया भासिए।

उनीसँग रञ्जित धिमाल पनि अस्ट्रेलिया गए। यो नेपाली फुटबलमा नयाँ दृश्य छँदै थिएन। उनी भन्दा अघि ए डिभिजन लिग खेल्ने करिब ५० को हाराहारीमा खेलाडी पलायन भइसकेका थिए। खेलाडी पलायनबारे आन्तरिक राजनीतिमा रुमल्लिएको एन्फाले गैरजिम्मेवार जवाफ दिँदै आएको छ।

खेलाडी पलायनको अवस्था भयावह हुँदैगर्दा संसद्मा समेत यसको चर्चा पुगिसकेको छ। चैत १२ गतेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले खेलाडी पलायन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

‘अहिले पनि खेलकुद क्षेत्रमा नेपाल सरकारको बजेटमध्ये ०.१३ प्रतिशत बजेट छुट्याइएछ। यसो हेर्दा मन्त्रीज्युको स्वकीय सचिवभन्दा कम पैसामा खेलाडी खेलिरहेका छन्’, सांसद शाहीले भनेका थिए, ‘म भन्न चाहन्छु, हामी सबै सांसद मन्त्रीहरुको स्वकीयको पैसा कटाएर खेलाडीहरुको तलबमा बृद्धि गरियोस। रंगशाला बनाइयोस।’

नेपाली कांग्रेसकी सांसद शान्ति विकले पनि खेलाडी संन्यास लिँदै विदेशिने अवस्था आएको भन्दै सरकारलाई प्याकेज ल्याउन ध्यानाकर्षण गरेकी थिइन्।

फोटो : रोयल वेस्टर्न क्लब मेलबर्न/फेसबुक


‘खेलाडी राष्ट्रका गहना हुन्। तर तिनै खेलाडी पीडाबोध भएर राष्ट्रिय टोलीबाट संन्यास लिँदै विदेश पलायन हुन बाध्य भइरहेका छन्’, उनले भनिन्, ‘यस्तो धराशायी अवस्थामा रहेको खेलप्रति विद्यमान खेलाडी र नव खेलाडीलाई कसरी प्रोत्साहन गर्ने भन्ने बृहत प्याकेज घोषणा गर्न ध्यानकर्षण गर्दछु।’

पछिल्लो समय नेपाली खेलाडी विदेश पलायन हुने दर भयावह छ। ‘ए’ डिभिजन लिग खेल्ने खेलाडीसँगको तथ्यांक जोडेर हेर्दा ४० भन्दा बढी खेलाडी विदेश पलायन भइसकेका छन्। जसमा आधा दर्जन बढी खेलाडी राष्ट्रिय टोलीको पहिलो रोजाइमा पर्दै आएका छन्।

पहिलो रोजाइमै खेल्ने विशाल राई, तेज तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, सुनिल बललगायतका महत्वपूर्ण खेलाडी विदेश पलायन हुँदा टिमको सन्तुलन भने बिग्रिएको काठमाडौंमै सम्पन्न प्रधानमन्त्री कप थ्री नेशन्स कपले स्पष्ट देखायो। प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई हराए पनि प्रदर्शन भने अत्यन्तै फितलो देखिएको थियो।

‘अभ्यासमा राम्रै भइरहेको थियो। त्यही मोमेन्टमा गोल भए। तर, खेल सन्तोषजनक थिएन’, उक्त खेलका प्लेयर अफ द म्याच बनेका तामाङले भनेका थिए, ‘तयारी पनि समय थिएन। नयाँ खेलाडी धेरै हुँदा सोचे जति भएन। अलि पछाडि बसेर खेलेका थिएनन्। बल पोजेसन राख्न नसके पनि जितका कारण राम्रै भयो।’

त्यस्तै, खेलाडी पलायनले गर्दा लिगको स्तर र राष्ट्रिय टोलीको सन्तुलन बिग्रने पटक-पटक फुटबलका जानकारहरुले चेतावनी दिँदै आएका छन्। यद्यपि, खेलाडी पलायन हुने क्रम भने रोकिएको छैन।

कमजोर टिम बोलाएर आत्मरति

नेपालले चैत महिनामा कमजोर वरीयताका दुई टोली लाओस र भुटानलाई बोलाएर प्रधानमन्त्री थ्री नेशन्स कप आयोजना गर्‍यो। कमजोर टिमलाई बोलाएर सफलता हासिल गर्न खोजेको चर्चा त्यो बेला चल्यो। त्यसैले नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसलाई सोधियो : सजिलै जित्ने लक्ष्य हो?

जवाफमा उनले भने : वरीयता भनेको फुटबल नबुझ्नेले भन्ने कुरा हो।

नेपालले थ्री नेशन्स कपको फाइनलमा लाओसलाई हराएर च्याम्पियन त बन्यो तर बहसका लागि प्रश्न भने छाड्यो : यस्तो प्रदर्शनले अघिल्लो सिजन साफ च्याम्पियनसीपको फाइनलमा पुगेको नेपालको यसपाला के होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell