PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

खुलेन कोर टिमः रविले सोधे, 'कोर टिम भनेको को हो?'



पहिलोपोस्ट

खुलेन कोर टिमः रविले सोधे, 'कोर टिम भनेको को हो?'
फाइल फोटो

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अडिओ प्रकरणमा अन्य जोसुकै संलग्न देखिए पनि कारबाही गर्ने बताएका छन्। सो प्रकरणमा केन्द्रीय सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी दलले कारबाही गरेको छ।

अडिओमा श्रेष्ठले लामिछानेको कोर टिमका सदस्यहरुको संलग्नता खुलाएका थिए। तर केन्द्रीय समितिको बैठकले कोर टिमको बारेमा कुनै पनि जानकारी दिएन। सभापति लामिछानेले यस प्रकरणमा कसैले भनेको आधारमा मात्र नभएर प्रमाण भेटिए कारबाही गर्ने दाबी गरेका छन्।

'अर्को मान्छे पनि देखियो प्रमाण पनि भेटिएका कारबाही गर्छौं,' सभापति लामिछानेले भने।

उनले आफूले कोर टिम भनेको को हो? भनेर नबुझेको बताए। तथ्यसहित कोर टिमको बारेमा आए कारबाही गर्ने बताएका थिए।

अख्तियार दुरुपयोग आयोगलाई कारबाही गर्न अनुरोध गरेको र जो कोही भए पनि कारबाही गर्न तयार भएको बताएका छन्।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडिओ प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो। समितिले साधरण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिस गरेको थियो। सांसद श्रेष्ठले मन्त्री बनाउनको लागि साढे २ करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो।

तर श्रेष्ठले भने अडिओ इडिट भएको दाबी गर्दै आएका छन्। तर पार्टीको समितिले भने अडिओमा श्रेष्ठ नै भएको पुष्टि भएपछि कारबाही भएको बताएको छ।

पार्टीले अनुसन्धान गर्दा अमूर्त व्यक्तिसँग लेनदेनको कुरा भएको  आधारमा कारबाही गरेको सभापति लामिछानेले जानकारी दिए।

'ले मेनले पनि हो भन्ने किसिमको आयो। हामी फोरेन्सिकमा पनि जान सक्थ्यौं। उहाँले नै स्वीकार गरेको कुरा हामीले प्राप्त गरेपछि त्यसमा जानु पर्ने अवस्था आएन,' सभापति लामिछानेले भने।

श्रेष्ठले स्पष्टीकरणको क्रममा पनि बयान फेरेको देखिएको छ। उनले पुरानो अडियो अहिले सार्वजनिक भएको स्वीकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell