PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वर्ष २०७९ : राजनीतिक नेतृत्वको बेवास्तामा खेलकुद मन्त्रालय



मुकुन्द घिमिरे

वर्ष २०७९ : राजनीतिक नेतृत्वको बेवास्तामा खेलकुद मन्त्रालय

काठमाडौं : २०७९ सालमा नेपाली खेलकुदमा केही महत्वपूर्ण उपलब्धि हासिल भए। क्रिकेट र फुटबलमा उतारचढाव आउँदा अन्य खेलकुदको अवस्था पनि त्यस्तै रह्यो।

पोखरामा नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भयो। अभाव र अव्यवस्थापनबिच भए पनि सो प्रतियोगिता सम्पन्न भयो।

खेल क्षेत्रमा राज्यको नजर नपरेको वर्षको अन्तिमसम्ममा पुष्टि भयो। सरकार गठनको चार महिनासम्म मन्त्रालय मन्त्रीविहीन हुँदा खेल क्षेत्र थप अव्यवस्थित बन्यो।

नवौँ राष्ट्रिय खेलकुद

निर्धारित समयमा हुने/नहुने भन्ने चर्चाका बिच पटक-पटक स्थगित भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक महिनामा सम्पन्न भयो। तर, व्यवस्थापकीय कमजोरीका कारण खेलकुद आलोचनामा परिरह्यो।

पौडी, एथ्लेटिक्स लगायतका खेलका कीर्तिमाननै विवादमा परे। फुटबलमा गैरआवासीय नेपाली (एनआरएनए) र प्रदेश १ को विवाद चुलिँदा एनआरएनए बाहिरिनु पर्‍यो।

कबड्डीमा रेफ्रीहरुबिच नै झगडा पर्‍यो। त्यसको बावजुत नयाँ सम्भावना बोकेका खेलाडीहरु सम्भावना लिएर आए। विवाद जति भए कीर्तिमानहरु पनि त्यतिकै बने।

राष्ट्रिय खेलकुदको उपाधिमा आर्मीको एकलौटी वर्चस्व रह्यो। आर्मीले कुल १७२ स्वर्णसहित ३७१ वटा पदक जित्दा दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६५ स्वर्णसहित २१९ पदक जित्यो।

एसियन क्रस कन्ट्रीमा नेपाललाई दुई स्वर्ण

सन् २००१ पछि दुई दशको अन्तरालले नेपालले एसियन क्रस कन्ट्री आयोजना गर्‍यो।

फागुन २३ गते नेपाल एथलेटिक्स संघको आयोजनामा एसियन क्रस कन्ट्री सम्पन्न भयो। प्रतियोगितामा नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको थियो।

त्यस्तै, सिनियर महिला र जुनियर महिलामा नेपालले समान दुई रजत पदक जितेको थियो। नेपालले थप दुई कास्य पनि जित्यो।

सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जिते। सो इभेन्टमा मुकुशबहादुर पालले कास्य पदक जिते। २६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते।

एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि दुई रजत पदक जितेको थियो। सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितिन्।

त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक जितेको थियो। राजपुराले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा पार गर्दै रजत पदक जितिन्।

सोही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो। राजपुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले १० किमी दौडको दुरी २ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन्।

एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू–२०) ८ किलोमिटर दौडमा नेपाली टोलीले कास्य पदक जित्यो। गोकर्ण गल्फ रिसोर्टमा भएको च्याम्पियनसिपमा नेपालले कास्य पदक पाएको थियो। च्याम्पियनसिपमा भारतले स्वर्ण र इरानले रजत पदक जित्यो।

नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक पक्का गरे। 
नेपालकी राममाया बुढा फोटो फिनिसमा पछि पर्दै महिला जुनियर ६ किलोमिटर दौडमा रजत पदक पाइन्। राममाया र भारतकी श्रुती श्रीधर रेडाकर दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा भारतकी श्रुतीले बाजी मार्दै स्वर्ण पदक प्राप्त गरिन्।

नेपालका राममाया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले १ घण्टा १८ मिनेट २२ सेकेन्डमा दूरी तय गरेर रजत पदक दिलाए। टिमतर्फ तीन खेलाडीले तय गरेको समय जोडेर विजेता चुनिएको हो।

च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा ११ राष्ट्रका ६५ खेलाडीको सहभागिता रहेको थियो।

बक्सिङमा इतिहास

थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर सुष्मा तामाङले रजत पदक जितिन्। महिला तर्फ ४८ किलो तौल समूहको फाइनल खेलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग ५-० अंकको आधारमा पराजित भएसँगै उनले रजत पदक जितेकी हुन्।

तामाङले क्वाटरफाइनलमा भियतनामकी क्यूनहानलाई ५-० अंकले हराएकी थिइन् भने सेमिफाइनल खेलमा मंगोलियाकी प्रतिद्वन्द्वी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन्।

सुष्माले जितेको उक्त पदक नेपाल बक्सिङ संघको स्थापनाकालदेखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ। यसअघि नेपालले एसियनस्तरमा कास्य पदकसम्म नै सीमित रहेको थियो।

मन्त्रालयमा छैन चासो, खेलाडी उडेको उड्यै 

युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्रीले सम्हालेको पुस १० गते यताबाट हो। करिब चार महिनायता खेलकुद मन्त्रालय मन्त्रीविहीन छ। कुनै राजनीतिक दलले खेलकुद मन्त्रालयमा चासो देखाएका छैनन्।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड आएयता उनलाई समर्थन गर्ने दल फेरिए, मन्त्री फेरिए तथा खेलकुद मन्त्रालयमा पछिल्लो चार महिनामा कुनै दलको नजर परिरहेको छैन।

अर्कोतर्फ खेलाडी पलयनको अवस्था विकराल बन्दै गएको छ। खासगरि फुटबलका पहिलो रोजाइकै खेलाडी विदेश पलायन भइरहँदा अन्य खेलको चर्चा बाहिर आइरहेको छैन। अरु खेलको अवस्था अझ विकराल छ।

यो विषयले प्रतिनिधिसभामा समेत स्थान पाइसकेको छ। तर, समस्या समाधानतर्फ कसैले चासो देखाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell