PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

‘बुलाकी’को प्रिमियर : फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयको प्रशंसा



लक्ष्मी बलायर

‘बुलाकी’को प्रिमियर : फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयको प्रशंसा

काठमाडौं : बैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘बुलाकी’को प्रिमियर शोमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। बुधवार काठमाडौंमा आयोजित प्रिमियर शोमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको हो।

प्रिमियरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही पनि उपस्थित थिए। शाहीले आफ्नै कर्णाली क्षेत्रको कथा समेटिएको भन्दै खुसी व्यक्त गरे।

पश्चिम नेपालको जारी प्रथामा आधारित फिल्म ‘बुलाकी’का सबै कलाकारहरुको अभिनय राम्रो लागेको उनले बताए। साथै क्रान्ति गर्नेहरुले कसरी गाउँमा लुटे भन्ने कुरा समेत फिल्मले देखाएको उनले सुनाए।

पश्चिमेली भाषाको चलचित्रलाई हलले विभेद गरेको समेत भन्दै शाहीले आक्रोश पोखे।

उनले भने, ‘पश्चिमेली भाषा हुने बित्तिकै हलले जुन विभेद गर्छ त्यो यहाँ पनि देखिएको छ। पहिले ‘प्रकाश’को बेला पनि ठ्याक्कै यस्तै गरिएको थियो। पहिलो दिन फिल्म चलेन भनेर हलबाट उत्रार्नु र शो नदिनु स्वभाविक हो। तर, प्रिमियर नहुँदै हलहरुले शो नदिने जुन सिन्डिकेट छ। यो सिन्डिकेट हाम्रो विषयवस्तु होइन। तर, यो फिल्म जुन भाषामा बनाइएको छ। त्यो नेपाली भाषाको उत्पति खस भाषामा ‍हो। त्यसैले खस भाषाको संरक्षण गर्नुपर्छ।’

अभिनेत्री नीता ढुंगानाले ‘बुलाकी’को कथावस्तुले मन छोएको बताइन्। कथावस्तु अनुसार कलाकारहरुको अभिनय पनि उत्कृष्ट भएको उनको प्रतिक्रिया थियो।

त्यस्तै, अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले फिल्मको सम्पूर्ण पक्ष मन परेको र एक अर्गानिक फिल्म बनेको बताए। कथा र कलाकारहरुको अभिनयले दर्शकलाई कर्णाली क्षेत्रसँगै साक्षात्कर गराउने समेत उनले सुनाए।

पोस्टर सार्वजनिक भएदेखि नै फिल्म ‘बुलाकी’ हेर्न मन भएको सञ्चारकर्मी दिनेश डिसीले बताए। फिल्मको कथावस्तुले दर्शकलाई बाँधिराख्ने उनको भनाइ थियो। सुरक्षा पन्त र नरेन खड्काको अभिनय निकै उत्कृष्ट रहेको भन्दै उनले प्रशंसा गरे।

त्यसैगरी, कलाकार राज कटुवालले ‘बुलाकी’ राम्रो फिल्म भएको बताउँदै उनले यसलाई स्पेश दिन हलसञ्चालकहरुसँग आग्रह गरे।

लक्ष्मण सुनार निर्देशित यस फिल्ममा टोपेन्द्र विष्टले लगानी रहेको छ। फिल्ममा सुरक्षा र नरेन खड्काका साथै विराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री लगायतका कलाकारको अभिनय छ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा दिंवगत मोति बिष्टको प्रस्तुति रहेको फिल्ममा राजबहादुर सानेको कथा/पटकथा रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell