PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा



रासस

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा

त्रिशूली : नुवाकोटको विदुर नगरपालिका-१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गरेका छन्। उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराएका हुन्।

वडा नम्बर १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बिमावापत प्रतिविद्यार्थी दुई सय रुपैयाँका दरले एक वर्षको प्रिमियमवापत दुई लाख ४४ हजार रुपैयाँ वडाध्यक्ष खड्काले भुक्तानी दिएका छन्।

बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ। चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताए।

वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उनले मासिक २६ हजार छ सय ७० रुपैयाँ पाउँदै आएका छन्। सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताए।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell