काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेका हुन्।
दोस्रो चरणको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रवेश गरेका छन्। रामचन्द्र संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
अन्जनको प्यानलबाट एक जनाले पनि उपाध्यक्ष जित्न सकेनन् भने संघईको प्यानलबाट दुई र उमेशलालकोबाट एक जनाले उपाध्यक्ष जितेका छन्। दोस्रो चरणको निर्वाचन दिउँसो हुने जनाइएको छ।
बस्तुगतमा उमेशलाल श्रेष्ठले अग्रता कायम गरेका थिए। उनले ल्याएको मत कुल मतको ५६ प्रतिशत हो। कुल १२३ मतमध्ये एउटा बदर भएको छ।
उमेशले ६९ मत पाएका छन् भने अन्जन श्रेष्ठले ४१ र रामचन्द्र संघाईले १२ मत पाएका छन्।
जिल्ला/नगरतर्फ सर्वाधिक मत अन्जन श्रेष्ठले ल्याएका थिए। उनले ४० प्रतिशत ल्याएका हुन्। रामचन्द्र संघईले ३३ प्रतिशत र उमेललाल श्रेष्ठले २३.९३ प्रतिशत मत ल्याएका छन्। कुल ११७ मतमध्ये अन्जनको ४७, रामचन्द्रको ३९ र उमेशको २८ हो। तीन वटा मत बदर भएको छ।
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जनले ५५८, उमेशले ४१५ र रामचन्द्रले ६१० मत प्राप्त गरेका छन्। यस आधारमा सर्वाधिक मत ल्याएका संघईको ३७ प्रतिशत छ।
अब संघई पक्षले जसलाई सघाउँछ उसले निर्वाचन जित्ने छ।