काठमाडौं : कोरोना भाइरस महामारीले दुई वर्ष थला परेको नेपाली रंगमञ्च २०७९ सालमा भने पुरानै लयमा फर्किन सफल भयो। यो वर्ष काठमाडौं उपत्यकाका विभिन्न नाटक घरहरु झण्डै तीनदर्जन नाटकहरु मञ्चन भए।
हाल काठमाडौंमा १० वटा निजी नाटक घर संचालनमा छन्। जसमा मण्डला थिएटर, सर्वनाम नाटक घर, शिल्पी थिएटर, थिएटर मल, कौसी थिएटर, कुञ्ज थिएटर, स्टुडियो थिएटर, थिएटर भिलेज, आरोहण गुरूकुल र पुरानो नाटक घर पर्छन।
यो वर्षको सुरुमै वैशाख ६ गतेदेखि टेकुस्थित कौशी थिएटरमा‘उलार’ मञ्चन भएको थियो। नयनराज पाण्डेको उपन्यासमाथि आधारित यस नाटकमा दर्शकको उपस्थिति औसत थियो। चे शंकर निर्देशित यस नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायतको अभिनय थियो।
त्यसैगरि, वैशाख ९ बाट थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भएको ‘पल्पसा क्याफे’ ले दर्शकको घुइँचो नै लगाइदियो। लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ माथि बनेको यस नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका थियो।
सुरज सुवेदीको नाट्य रुपान्तरण र विमल सुवेदी निर्देशित यो नाटक समीक्षात्मक र व्यवसायिक हिसाबले उत्कृष्ट ठहरियो। १० लाखको व्यापार गरेको ‘पल्पसा क्याफे’ लाई कोरोना महामारीपछि धेरै कमाउने नाटकका रुपमा लिइन्छ।
उपत्यकाभित्रका थिएटरमध्ये यसवर्ष मण्डला थिएटरमा सबैभन्दा बढी नाटकहरु प्रस्तुत भए। जसभित्र ‘पल्पसा क्याफे’,‘चोरको स्वर’, ‘२४ मा १२’, ‘खुवालुङ’, ‘कुभिण्डोको कथा’, ‘सुनकेशरी’, ‘गलत लाग्छ मलाई मेरो देशको इतिहास’, ‘मुनमुन’, ‘यौटा सपनाको अवसान’ लगायत छन्।
तर, यी नाटकहरुमध्ये पल्पसा क्याफे, ‘चोरको स्वर’ र ‘खुवालुङ’ मात्रै समीक्षात्मक हिसाब र व्यवसायिक रुपमा सफल भए। दयाहाङ राईको निर्देशन रहेको नाटक ‘कुभिण्डोको कथा’ ले पनि राम्रो प्रतिक्रिया पाएको थियो। हाल मञ्चन भइरहेको अनुप बरालको नाटक ‘यौटा सपनाको अवसान’ लाई पनि दर्शकको राम्रो साथ छ। अन्य नाटकहरुले भने लगानी समेत उठाउन नसकेको मण्डलाका सोमनाथ खनाल बताउँछन।
यसैवर्षको जेठ २६ गतेबाट रंगकर्मी अनुप बरालले ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ संचालनमा ल्याए। नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा सो थिएटर सुरु गरिएको हो। उद्घाटनको दिन दिया मास्केको निर्देशित नाटक ‘कथा कस्तुरी’ मञ्चन भएको थियो। सो नाटक नयनराज पाण्डेको कथा ‘सर्पदंश’को नाट्य रुपान्तरण हो। असार १९ गतेसम्म मञ्चन भएको यस नाटकले दर्शकबाट राम्रै प्रतिक्रिया पाएको थियो। त्यसैगरि, स्टुडियो थियटरमा ‘लालाबाला’ र ‘देउराली डाँडी’ लगायतका नाटकहरु समेत प्रस्तुत भए।
त्यसैगरि, २०७८ सालको असोजमा ‘म’ नाटक मञ्चन गरेर पुरानो घरले आफ्नो नाट्य यात्रा सुरु गर्यो। सो नाटकमा सुलक्षण भारतीको निर्देशन/लेखन र एकल अभिनय रहेको थियो।
यसवर्ष ‘लाटीको छोरा’ पुन: मञ्चनसँगै पुरानो घर आफ्नो यात्रामा निरन्तर लागिरहेको छ। त्यसपछि ‘खत’, ‘एन इन्सपेक्टर कल्स’, ‘सिटामोल’ र ‘कनन हरलता’ नाटकहरु मञ्चन भए। जसमध्ये ‘खत’ र ‘एन इन्सपेक्टर कल्स’ समीक्षात्मक रुपमा चर्चा बटुल्न सफल भए। तर, पनि यी नाटकहरुले लगानी उठाउन नसकेको भारती सुनाउँछन्। अहिलेको अवस्थामा पैसा ल्याएर नाटकमा हाल्ने र डुबाउने मात्र भएको दुखेसो पोखे उनले।
‘पुरानो घर’ नयाँवर्षबाट नाटक ‘चे इज ब्याक’ मञ्चन गर्ने तयारीमा छ। नाटकमा चे ग्वाभाराको नाम प्रयोग गरिए पनि यो नाटक उनको जीवनकथा नभएको उनले बताए।
थापागाउँस्थित ‘गुरुकुल थिएटर’ मा यसवर्ष पाँचवटा नाटकहरु मञ्चन भए। गुरुकुलमा वैशाख १४ गतेबाट दिलिप बान्तावाको कथामा आधारित नाटक ‘स्कुल’ मञ्चन भएको थियो। सुरज तमूको निर्देशन र परिकल्पना रहेको यो नाटक वैशाख २८ गतेसम्म चलेको थियो। त्यसपछि गुरुकुलमा सेमुना, गच्छामी, तन्त्र लगायतका नाटकहरु मञ्चन भए।
अहिले मञ्चन भइरहेको नाटक ‘मार्क्स फर्किए’ ले समीक्षक र दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ। सुनील पोखरेल र निशा शर्माको मुख्य भूमिका रहेको यो नाटक वैशाख ९ गतेसम्म चल्नेछ। अमेरिकी इतिहाकार हवार्ड जीनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’ को नेपाली रुपान्तरण यो नाटक यसअघि २०७६ सालमा पनि मञ्चन गरिएको थियो।
बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरमा २०७९ सालमा लेखक रवीन्द्रनाथ टैगोरको नाटक ‘मालिनी’,‘हिउँको पृथ्वी यात्रा’ र ‘बिमोक्ष’ मञ्चन भए। घिमिरे युवराजकै लेखन र निर्देशन रहेको नाटकहरु ‘हिउँको पृथ्वी यात्रा’ र ‘बिमोक्ष’ ले निकै चर्चा बटुल्यो। दर्शकको राम्रो साथ पाउँदा यी दुवै नाटकहरुको समय पनि थप गरिएको थियो।
यसवर्ष कौशी थिएटरमा पनि ‘उलार’ सहित ‘ऐया माया’, ‘साथी साथी आइदेउन’ मञ्चन भएका छन। त्यसैगरि, शैली थिएटरमा पनि यसवर्ष ‘असुर’, ‘माउजङ बावुसाहेबको कोट’ लगायतका नाटकहरु मञ्चन भए।
यसवर्ष काठमाडौं उपत्यकाका नयाँ नाटकहरु मञ्चन हुनुका साथै विभिन्न महोत्सवहरु सम्पन्न भएका छन। असार १२ गतेबाट आरोहण गुरुकुल थिएटरमा ‘बहुभाषिक नाट्य उत्सव’ भएको थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको महोत्सवमा ७ नाटक मञ्चन गरिएको थियो। महोत्सवमा खस भाषा, लेप्चा भाषा, तामाङ भाषा, थारु भाषा, वाम्बुले राई भाषा, पुमा राई लगायतका भाषामा नाटकहरु देखाइएको थियो।
मंसीर ९ गतेबाट मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण सुरु भएको थियो। जहाँ विशेष अतिथिको रुपमा आएकी भारतीय रंगकर्मी शबाना आजमीले ‘मास्टरक्लास’ दिएकी थिइन।
‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नारा रहेको महोत्सव ९ दिनसम्म चलेको थियो। महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तरक्रिया, गरिएको थियो।
त्यस्तै, माघ २९ गतेबाट ‘राष्ट्रिय बाल नाटक महोत्सव’ को १४ औँ संस्करण आयोजना भएको थियो। शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा भएको महोत्सवमा देशबाट छानिएका २९ नाटकहरु मञ्चन गरिएको थियो।
त्यसैगरि, चैत १३ गतेबाट जमलस्थित साँस्कृतिक संस्थानमा बुद्ध थिएटर फेस्टिभल आयोजना भएको थियो। चैत १७ गतेसम्म चलेको महोत्सवमा बुद्धसम्बन्धित ६ नाटकहरु र १ नृत्यनाटिका प्रस्तुत गरिएको थियो।
समग्रमा, २०७९ साललाई रंगमञ्चका लागि उत्साहजनक वर्षकै रुपमा लिन सकिन्छ। यसवर्ष थिएटरपिच्छे नयाँ नयाँ नाटकहरु मञ्चन भएर काठमाडौं उपत्यका रंगमञ्चमय बन्यो। संख्यागत हिसाबमा नेपाली तथा विदेशी पुस्तकमा आधारित नाटकहरु २०७९ मा बढी मञ्चन भए। त्यसैगरि, फरक जनरामा बनेका भूगोल र संस्कृतिमा आधारित नाटकहरु दर्शकको रोजाईमा परे। तर, व्यवसायिक हिसाबले भने थौरै नाटकले मात्रै दर्शकको साथ पाए।