काठमाडौं : २०७९ साल आजबाट बिदा हुँदैछ। नयाँ वर्ष २०८० सालको स्वागतको तयारी देशभर भइरहेको छ। अन्य वर्षमा झै यो वर्षमा पनि राजनीतिक अस्थितरता कायम भयो। खेल क्षेत्र पनि सदा झै अस्थिर ने रह्यो तर क्रिकेट विश्वकपको छनोटमा पुगेर नेपालले केही आशा जगायो।
वर्ष २०७९ का १३ घटना
स्थानीय तह निर्वाचन
वर्षको सुरुवात स्थानीय तह निर्वाचनबाट भयो। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका बेला पाँच दलीय गठबन्धन भर्सेस एमाले बन्यो। सत्ता गठबन्धनसँग भिडेको एमाले स्थानीय तह निर्वाचनमा दोस्रो भयो। २०७४ सालमा जितेका ठाउँमा पनि एमालेले सत्ता गुमाउनुपर्यो यसपटक।
स्थानीय तह निर्वाचनको नतिजाले कांग्रेस- माओवादी गठबन्धनमा भने नराम्रोसँग विवाद उत्पन्न भइसकेको थियो। विवादकै माझ पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुरदेउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई अघि बढाइरहे। एमाले भने गठबन्धनलाई फुटाउने दाउ कुरेर बस्यो।
स्थानीय तह निर्वाचनमा यसपटक स्वतन्त्र उम्मेदवारहरु पनि चर्चामा रहे। काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ मेयरमा जिते। उनीहरु वर्षभर चर्चामा रहे।
प्रतिनिधिसभा निर्वाचन
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयो। नेपाली कांग्रेस र नेकपा माओवादी सहितका दलहरु नेकपा एमाले विरुद्ध उभिए यो निर्वाचनमा। जसमा नेपाली कांग्रेस पहिलो दल बन्दा नेकपा एमाले दोस्रो दल बन्यो।
यो निर्वाचनमा नयाँ दलहरुको पनि उदय भयो। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा प्रवेश गर्यो। राप्रपाले पनि यो निर्वाचनबाट कम्ब्याकको प्रयास गर्यो।
यताउता प्रचण्ड
मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको भागबण्डाले पनि राजनीतिमा तरंग भने ल्याइनै रह्यो यो वर्ष। यो निर्वाचनपछि गठबन्धनमा असन्तुष्टि मात्रै आएनन्, नतिजापछि पुष्पकमल दाहाल प्रचण्डलाई शेरबहादुर देउवाले प्रधानमन्त्री बनाएनन्। त्यहि झोकमा पुस १० गते प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे। १० गते नै प्रधानमन्त्री बनिहाले प्रचण्ड।
त्यतिबेला नयाँ गठबन्धन बन्यो - ७ दलीय। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत, नागरिक उन्मुक्ति र ३ स्वतन्त्र गरि १६९ जना सांसदको समर्थनमा रह्यो प्रचण्डलाई प्रधानमन्त्री बनाउन। पुस ११ गते प्रधानमन्त्रीमा प्रचण्डसहित उपप्रधान तथा गृहमा रवि लामिछानले, उपप्रधान तथा भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा अर्थमा विष्णु पौडेलले सपथ लिए। ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले एमालेबाट लिँदा अब्दल खानले जनमत पार्टीबाट बिना विभागिय मन्त्रीको शपथ लिए। सुरुवातमै बार्गेनिङ गरिरहेका साना पार्टी पनि उतिकै महत्वपूर्ण रहे गठबन्धनमा।
प्रचण्डको पुस-२६ विश्वासको मत पनि अनौठो घटना बन्न पुग्यो यसवर्ष। २७५ मध्ये २७० सांसद उपस्थिति भएकोमध्ये २६८ जनाको मत पाएर प्रचण्डको पक्षमा माहोल बन्यो। त्यसै दिन ओलीले कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थापेको आरोप चर्चित रह्यो राजनीतिमा।
जसरी एमालेले कांग्रेस-माओवादी गठबन्धन टुटायो, त्यसरी नै कांग्रेसले पनि एमाले-माओवादी गठबन्धनलाई धेरै समय चल्न दिएन। पुस १० देखि फागुन १२ सम्म मात्रै टिक्यो ओली प्रचण्ड सहकार्य। त्यसपछि कांग्रेससहितको सरकार बन्यो।
मनोज पाण्डे प्रकरण
यसबर्ष सदनदेखि सडकसम्म चर्चामा रहेको घटना बन्यो मनोज पाण्डे प्रकरण। ८ वर्ष अगाडिको यौनदुर्व्यवहार प्रकरणमा पाण्डे समातिए। गत जेठको पहिलो साता टिकटकमा ‘सुसी खान जाने हो’ नामको अकाउन्टबाट एक जना युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी थिइन्।
२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी थिइन्। त्यसपछि हदम्याद लगायत प्रकरणमा प्रहरीले मुद्दा अगाडि बढाउन आनाकानी गर्यो। तर चर्को दवाव पछि युवक समातिए। अहिले अदालतको आदेशमा उनी कैद छन्। उनलाई मानवबेचबिखन मुद्दामा ७ बर्ष कैद सजाय तोकिएको छ।
सन्दीप प्रकरण
मध्य दशैं चलिरहेको थियो। तर प्रहरीको टोली विमानस्थलमा अभियुक्त समात्न तैनाथ थियो। दशैंको टीकाटालोलाई केही पन्छाएर भए पनि त्यो दृश्य कैद गर्नु नै थियो। किनकी प्रहरीले समात्ने व्यक्ति देशमा मात्र होइन अन्तराष्ट्रिस्तरमा पनि कलिएका व्यक्ति थिए। असोज २० गते धेरैले अपेक्षा नगरेको जस्तै भयो। सधैं फुलामाला लिएर विमानस्थलमा स्वागत भेट्ने राष्ट्रिय क्रिकेट टीमका तत्कालिन कप्तान सन्दीप लामिछाने समातिए। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको प्रहरीमा उजुरी परेको थियो। विदेशमा रहेका लामिछाने फर्किन ढिलो गरेपछि प्रहरीले उनीविरुद्ध 'डिफ्युजन नोटिस'नै जारी गर्नु परेको थियो। पक्राउ गर्दा सन्दीपको अनुहार झुकेको थियो। हातको हथकडी रुमालले छोपेर हिरासत पुगेका थिए।
जिल्ला अदालतले सन्दीपलाई हिरासतमा राख्न अनुमति थियो। तर सय दिनपछि उच्च अदालत पाटनले रिहा गर्न आदेश दियो। २० लाख रुपैयाँ बुझाएर उनी रिहा भए। त्यति मात्र होइन उनी माथि विदेश जान लगाएको प्रतिबन्ध समेत सर्वोच्च अदालतले फुकुवा गर्दियो। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल्ने मौका पाए। बलात्कार अभियुक्तलाई देशको प्रतिनिधित्व गर्न दिन हुन्न मत हाबी भए पनि उनी क्रिकेट खेलहरुमा देखिरहे। अझै पनि सन्दीपको केस जिल्ला अदालतमा बिचाराधिन रहेको छ।
राष्ट्रपतिमा रामचन्द्र, सभामुखमा देवराज
राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेता रामचन्द्र पौडेललाई सघाएपछि एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शितल निवास छिर्ने चाहाना पुरा हुन पाएन। राष्ट्रपतिको निर्वाचनमा एमाले नराम्रोसँग एक्लिसकेको थियो। किनभने पुस १० मा बालकोट पुगेर ओलीसँग सहकार्य गरेका रास्वपा र राप्रपाले नै नेम्वाङको पक्षमा मतदान गरेनन्।
रास्वपाले पौडेललाई मत दियो भने राप्रपाले चुनाव नै बहिस्कार गर्यो। ८८२ मतदाता मध्ये ३३२ संघका र ५५० प्रदेशका सांसद थिए। संघमा ३१३ र प्रदेशमा ५१८ मत खस्यो। पौडेलले ३३ हजार८०२ मतभार पाए भने नेम्वाङले १५ हजार ५१८ मत मात्रै पाए।
उपराष्ट्रपतिमा भने जसपाका रामसहाय यादव निर्वाचित भए। चैत ३ मा भएको उपराष्ट्रपतिको निर्वाचनमा जसपाका रामहसया प्रसाद यादवले ३०३२८ मतभार ल्याएर निर्वाचित भए। एमालेकी अष्टलक्ष्मी शाक्यले १६३२८, जनमतकी ममता झाले २५३७ मतभार ल्याइन।
प्रचण्डसँगको सहकार्यमा हुँदा एमालेले सभामुखमा देवराज घिमिरेलाई सजिलै जितायो। त्यस्तै, उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित भइन्।
लामिछानेको उदय र विवाद
यो वर्ष चर्चामा रहे रवि लामिछाने। प्रतिनिधिसभा निर्वाचनमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलताले मिडियामा रँहदाको उनको चर्चालाई थप बल पुर्यायो। जनमतका साथ प्रतिनिधिसभामा पुगेको उनको पार्टी प्रचण्ड नेतृत्वको सरकारमा त पुग्यो नै लामिछाने आफै उपप्रधान तथा गृहमन्त्रीसमेत बने।
तर, नागरिकता विवादमा मुछिएका उनको सांसद र मन्त्री पद सर्वोच्च अदालतको आदेशसँगै गुम्यो। माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको विपक्षमा फैसला गर्यो।
नागरिकता विवादमा उनलाई नागरिकता पुनप्राप्ति गर्नुपर्ने अदालतको फैसला थियो। लगत्तै उनको पद गयो र फेरि उनले नागरिकता हासिल गरे।
रविले पत्रकार सम्मेलन गरेर मिडियामाथि आक्रोश पोखे। यो विषय पनि चर्चामा रह्यो यो वर्ष। हाल उनै रवि फेरि उपनिर्वाचनमा लड्दैछन्।
पोखरा विमान दुर्घटना
गत माघ १ गते कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटना भयो। दुर्घटनामा विमानमा सवार सबै जनाले ज्यान गुमाए। काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटना भएको थियो।
चालक दलका चार जनासहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो। विमान दुर्घटनामा १५ विदेशी नागरिक पनि थिए। तीन चिकित्सक र एक पत्रकारले पनि दुर्घटनामा ज्यान गुमाए।
बालाजु-गोङ्गबु आन्दोलन
गत फागुनमा गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा प्रहरीको गाडीमा तोडफोड र आगजनी भयो। यतिमात्र हैन भीड ल्होत्से मल फोडेर मोबाइल लुटपाटमै उत्रियो। राजधानीमा दिनदहाडै यस्तो घटना भएपछि प्रहरीको सुरक्षा व्यवस्थापनमा प्रश्न उठ्ने नै भयो।
नागरिक समाज, व्यवसायीले मात्र हैन, संसदमै सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठ्यो। प्रहरीले भने संयमता अपनाएकोले ठूलो क्षति हुनबाट बचेको भन्दै आफ्नो संगठनको बचाउ गर्यो।
प्रहरीले बालाजु परिसरका डीएसपी रविन विष्टलाई रानीपोखरी तान्यो कारबाहीस्वरुप। उक्त घटनामा संलग्न धेरैजना पक्राउ परे। नयाँ बसपार्क र गोंगबुचोकको बिचको सडक विस्तार हुने क्रममा रहेपछि त्यहाँबाट सञ्चालन हुँदै आएका बस र माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गर्नेबारे व्यवसायीसँग छलफल भइरहेको बेलामा केही व्यवसायी तथा मजदुर सडकबाट बस सञ्चालन गर्न पाउनुपर्ने अडान राखेर आन्दोलनमा उत्रिएका थिए। सोही आन्दोलन हिंसात्मक बनेको थियो।
काठमाडौंमा मिटर ब्याजी
मिटर ब्याजी पीडितहरु न्याय माग्दै यो वर्ष काठमाडौं आए। खुल्लामञ्चमा बस्न काठमाडौं महानगरले रोकेपछि उनीहरु शान्ति बाटिकामा आश्रित भए। अहिले त्यहाँ हरेक दिन सामुहिक चुलो संचालन भइरहेको छ। काठमाडौंमा हिँड्दै आएका उनीहरु आफ्नो आवाज सरकारसँग पुर्याउने कोसिसमा छन्। सरकारसँग वार्ता पनि गरिरहेका छन्।
तर, मिटर ब्याजीहरुको शिकारमा परेका उनीहरुले आफ्नो दु:ख प्रधानमन्त्री पुष्पकमल दाहालसम्मलाई सुनाए।तर, आश्वासनबाट मात्रै उनीहरु चुप लाग्ने मनस्थितिमा छैनन्। पीडितहरुको तीन माग छन्। पहिलो प्रशासनिक, दोस्रो नीतिगत र तेस्रो कानुनी प्रश्नसहितको। त्यसमध्ये पीडकले धम्क्याउने, तर्साउनेजस्ता विषयमा प्रशासनिक रुपमा हल गर्न सकिने र त्यस्ता सूचना प्राप्त हुने बित्तिकै गृहमन्त्रालयले कारबाही अघि बढाउन उनीहरुले माग गरिरहेका छन्।
विश्वकप छनोटको यात्रा
सन् २०१९ मा नेपाली क्रिकेट टोलीले सात टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ खेल्न सुरु गर्दा नेपालको दुईवटा लक्ष्य थिए। पहिलो : एकदिवसीय मान्यता जोगाउने। दोस्रो : शीर्ष ३ भित्र रहेर विश्वकप छनोट खेल्ने। अझ लिग २ को च्याम्पियन नै बन्न पाए त, 'बोनस'।
घरेलु मैदानमा ज्ञानेन्द्र मल्लको कप्तानीमा अमेरिका र ओमनसँगको सिरिजबाट नेपालले लिग २ खेल्न सुरु गरेको थियो। लिगका ३६ औँ कीर्तिपुरस्थित घरेलु मैदानमा भयो जसमा यूएईलाई पराजित गर्दै नेपालले विश्वकप छनोट पनि खेल्ने अवसरको ढोका खोल्यो।
नेपालको यो यात्रा यति सहज थियो त? पक्कै थिएन।
यसक्रममा नेपाली टोलीले तीन जना कप्तान पायो। अनि चार जना विदेशी प्रशिक्षक। कथा यतिमा मात्रै सीमित छैन, यसबीच खेलाडी र नेपाल क्रिकेट संघ (क्यान), खेलाडी र प्रशिक्षकका साथै क्यानभित्रैको आन्तरिकलगायतका धेरै विवादले प्रश्रय पाए। खास गरि वर्ष २०७९ सालमा क्रिकेटले विवाद, असफलता, 'कन्ट्रोभर्सी', सफलता सबै कुराहरु देख्यो।
यही वर्षको पुस महिनातिर नेपालले विश्वकप छनोट पुग्नु त परैको कुरा, एकदिवसीय मान्यता नै जोगाउन कठिन छ भन्ने तर्क बलियो थियो। तर, वर्षको अन्तिममा नेपालले अभूतपूर्व लय समात्दै १२ खेलमा ११ जित निकालेर विश्वकप छनोटसम्म पुग्न सफल भयो।
दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल
यो वर्ष दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए। ८४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको यही वर्ष हो। जेठमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आयो।
जेठ २ गतेबाट विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको थियो। यस्तै, यही वर्षबाट नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि संचालनमा आयो।
दुवै विमानस्थल संचालनमा आए पनि यहाँबाट नियमित र सोचे अनुरुप अन्तर्राष्ट्रिय उडानहरु भने हुन सकेका छैनन्।
सुकुम्बासी र महानगर टसल
यो वर्ष काठमाडौं महानगर र सुकुम्बासीबिच टसल पर्यो। महानगरले सुकुम्बासीलाई हटाउने प्रयास गर्दा उनीहरु प्रतिकारमा उत्रिए जसकारण थापाथली क्षेत्र कयौं दिन अशान्त रह्यो। महानगरले सुकुम्बासी व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप वर्ष भर लगाइरह्यो।
महानगर प्रमुख बालेन्द्र शाहले संघीय सरकार र दलहरुमाथि सुकुम्बासीलाई भोट बैंक बनाएको आरोप लगाए। सुकुम्बासीहरु भने महानगरले जबरजस्ती हटाउन खोजेको भन्दै प्रतिकारमा उत्रने चेतावनी दिइरहेका छन्।