PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अन्त्य होस् अराजकता, फेरियोस चोला : स्वागतम् २०८०



पहिलोपोस्ट

अन्त्य होस् अराजकता, फेरियोस चोला : स्वागतम् २०८०

आजदेखि क्यालेन्डर फेरिएको छ। वर्षमात्र होइन, नयाँ दशक प्रवेश आफैँमा अर्को अध्याय। आजको सूर्योदयसँगै प्रारम्भ भएको ८० को दशकमा तपाईँलाई हार्दिक स्वागत छ। नयाँ वर्ष र दशक दुवैले तपाईँको स्वास्थ्य, परिवार तथा सिंगो सामाजिक उपस्थितिमा नयाँ इट्टा थपोस्। तपाईँको प्रगतिले मुलुकले गर्व गर्न सकोस्। नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना।

असङ्ख्य अपेक्षा र सीमित उपलब्धिका बिच ७० को दशकबाट हामी पार भयौं। राजनीतिक संक्रमण अविछिन्न रुपमा गएको दशकमा हामीसँगै गाँसिइरह्यो। २०६० को दशक नेपालीका लागि भयको राजबाट मुक्ति मिल्ने दशक थियो। नेपाली जनताको एकता र संघर्षबाट रक्तरञ्जित इतिहासमा पूर्णविराम आफैँमा एउटा उपलब्धि बन्यो। त्यसअघिको दशक हिंसात्मक र बिर्सनलायक नै थियो। समग्रमा पछिल्ला तीन दशक राजनीतिक उतारचढाव र संघर्षपूर्ण बन्यो। सकसपूर्ण पनि। जसको प्रतिफल आज हरेक नेपालीले भोगिरहेको छ।

नेपाली समाज उच्च महत्त्वाकांक्षा र ओरालो गतिको उपलब्धिसँग बाँच्न बाध्य छ। निमुखा निरीह बन्न बाध्य छन्। राजनीतिक र सामाजिकमात्र होइन आर्थिक क्षेत्र पनि कुहिरोको कागभित्र रुमलिएको छ। मुलुकका कुनै स्थायी अवयवहरु निष्कलङ्क छैनन्। अनि यस्तै दुरावस्थमा हामी नयाँ वर्ष र दशकलाई स्वागत गरिरहेका छौं।

व्यवस्था बदलिँदा व्यवहार बदलिएनन्। संक्रमणको सकस सीमित भएनन्। राजनीति लेनदेन र स्वार्थ केन्द्रित बन्दै गए सबै क्षेत्र। लोकतन्त्रमा रुपान्तरित भएको प्रजातन्त्रले नाम फेर्‍यो। चरित्र फेरेन। हरेक वर्ष क्यालेन्डर फेरियो। जनताको चेहरा फेरिएन। राजनीतिक चरित्र फेरिएन। सोच र संस्कार फेरिएन। अत्यन्तै दु:खका साथ स्वीकार्नुपर्छ – नेतृत्वको निकम्मा चरित्र बारम्बार उजागर भइरह्यो। त्यसको असर कुनै एक राजनीतिक दलमात्र होइन, कुनै एक नेतामात्र पनि होइन सिंगो समाज निहीत स्वार्थ केन्द्रित बनिरह्यो। प्रतिफलमा आशाका किरण फैलिनै पाएनन्। तिनमाथि बारम्बार राजनीतिक ग्रहणले छोपिरह्यो। स्वार्थका तानावानाले तुँवालोको काम गरिरह्यो। जनताको अनुहारमा प्रकाश त पुग्नै पाएन। पछिल्ला तीन दशक राजनीतिक परिवर्तनका हिसाबले आमूल हुन्। तर, ती परिवर्तन जनकेन्द्रित भएको भए आज हामी अर्कै परिवेशमा हुने थियौं। अस्थिरताको उदय यसरी हुने थिएन। अराजनीति झाँगिने थिएन। यस्तै खराब परिवेशमा धमिलो पानीमा माछा मार्न च्याँखे थापेर बसेकाहरु यसरी उदाउने थिएनन्।

अनित्य जगतमा असफलताका श्रृङ्खला पनि नित्य हुन सक्दैन। अँधेरी रातपछि सुखद् बिहानी हुन्छ नै। हामी त्यही बिहानीबाट नयाँ वर्ष र दशकलाई स्वागत गरिरहेका छौं। राजनीतिक अस्थिरतामा पूर्णविरामको अपेक्षा गरिरहेका छौं। आर्थिक विश्रृङ्खलता अन्त्य चाहिरहेका छौं। अराजकताको अन्य कुरिरहेका छौं। समतामुलक समाजको प्रतीक्षा गरिरहेका छौं। समस्याका चुचुरो चुलिएको हामीलाई थाहा छ। हाम्रा विवेकपूर्ण निर्णय र कार्यसम्पादनले त्यसखाले सबै चुचुरोलाई धरातलमुनि पुर्‍याउने लक्ष्य आवश्यक छ। आशा गरौं हाम्रा सबै नेतृत्व त्यसखाले उपलब्धी प्राप्तिमा लागुन्। राजनीतिक परिवर्तनका श्रृङ्खलामा पनि पूर्णाविराम चाहिएको छ। आर्थिक र सामाजिक रुपान्तरण अबका मुद्दा बनुन्। विकासले व्यवस्थाको जग बलियो बनावस्। व्यवस्थापिकादेखि न्यायालयसम्म ढाकिएका काला बादलहरु हटुन्। आर्थिक अराजकता निमिट्यान्न होउन्। सदाचार बढोस्। समुन्नत समाज निर्माण होस्। जनता बलिया बनुन्। जिम्मेवार बनुन्। लोकतन्त्र प्रवल बनोस्।

फेरि पनि शुभकामना। तपाईँको मंगल होस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell