PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नयाँ वर्षको पूर्व सन्ध्यामा गुलजार बन्यो वीरगंज, तीन दिने रात्री बजारको रौनक



राधेश्याम पटेल

नयाँ वर्षको पूर्व सन्ध्यामा गुलजार बन्यो वीरगंज, तीन दिने रात्री बजारको रौनक

वीरगंज  : नयाँ वर्षको अवसरमा वीरगंजमा रात्री बजार लागेको छ। वीरगंज महानगरपालिकाको आयोजनामा लागेको रात्री बजारको बिहिबार राती पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरे।

तीन दिने रात्री बजारको उदघाटन गर्दै सांसद् यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगंजमा रात्री बजारको आयोजना गरेकोमा महानगरलाई धन्यावाद दिए। उनले नयाँ वर्षको पूर्वसन्ध्या आयोजित रात्री बजारबाट कोभिड –१९ महामारीले थलिएको वीरगंज महानगरका व्यापार, व्यवसाय र उद्यमलाई फेरि नयाँ उँचाइसम्म पुर्‍याउँदै अर्थतन्त्रलाई पुनः चलायमान बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे। बजार सञ्चालन गर्न सुरक्षा व्यस्थापनमा सहयोग गर्ने स्थानीय प्रहरी र प्रशासनका प्रमुखहरुलाई पनि उनले धन्यवाद दिए। वीरगंज महानगरले पछिल्लो समय सरसफाई र सडकलगायतका पूर्वाधार विकासमा देखाएको तदारुकताको पनि यादवले प्रशंसा गरेका थिए।

त्यस्तै, महानगरका मेयर राजेशमान सिंहले रात्री बजार मार्फत आफूले देखेको वैभव वीरगंजको सपनाको लागि पहिलो पाइला चालिएको बताए। उनले केही वर्ष यता सुस्त भएको वीरगंजका पसलहरु राति ९ बज्दै सुरक्षाकर्मीले बन्द गराउँदै आएका कारण झनै थलिएको भन्दै यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले पहिलो पटक रात्री बजार सञ्चालन गरिएको बताए सिंहले बजार सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्ने चलनको विकास हुने आफूले अपेक्षा लिएको बताए।

यसका साथै यहाँका व्यापारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यापार व्यावसाय गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि रात्री बजारको अवधरणा ल्याइएको उनले बताए।

आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्री बजारमा एक सयभन्दा बढी थरिथरिका स्टलहरु राखिएको छ। शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहेका छन्। साथै, रात्री बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत रहेन जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell