काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरु केही मतभिन्नता र असमझदारीलाई थाँती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्। नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिए।
मुलुकको व्यवस्थामात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृती र परम्परालाई नष्ट गरेकोमा चिन्ता जनाए। थापाले आर्थिक विकास, समृद्धि र देश निर्माण मृगतृष्ण बनेको बताए। वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घर झैं ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका राजनीतिको छाँयामा परेको दाबी गरे।
ठुला दलहरुको अदुरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथि हमला गरिएको सीमित राजनीतिक दलका सीमित नेताहरुको सिन्डिकेटतन्त्र हाबी भएको भन्दै थापाले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने अग्नि परीक्षामा उच्च मनोबलसहित खरो रुपमा उत्रन नयाँ वर्षले सबैमा प्रेरणा दिने समेत थापाले विश्वास व्यक्त गरे। कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं उपत्यका संयोजक जयकुमार खड्का, केन्द्रीय सदस्य राजकुमार खड्का लगायतले बोलेका थिए।