काठमाडौं : शुक्रवार शितल निवासमा विभिन्न मानपदवी वितरणका लागि विशेष समारोह आयोजना गरिएको थियो। मानपदवी प्रदानका लागि विशेष मञ्च तयार थिए। पदक पाउनेहरुलाई धमाधम सम्मान गर्दै थिए राष्ट्रपति रामचन्द्र पौडेल। त्यही क्रममा कोही भने मञ्चसम्म उक्लन सकिरहेका थिएनन्। ती मध्ये थिए एक वृद्ध। शारीरिक रुपमा अशक्त ती वृद्ध अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए। तर सकिरहेका थिएनन्।
यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोजे। तर त्यहाँ रहेका सुरक्षा अधिकारीले राष्ट्रपतिलाई प्रोटोकल सम्झाए र त्यसरी जान नमिल्ने संकेत गरे। यद्यपि राष्ट्रपति पौडेल वृद्ध भएकै ठाउँमा ओर्ले, अनि पदक प्रदान गरे। ती वृद्धमात्र होइन शारीरिक रुपमा अशक्त भएका वृद्धवृद्धालाई राष्ट्रपति पौडेलले मञ्चबाट तल ओर्लेर पदक प्रदान गरे। पौडेलको एक्सनलाई सहभागीले मनपराए। तर कोहीले भने पदक वितरण स्थल अपाँगमैत्री नभएको गुनासो गर्दै थिए।
क कसले पाए पदक?
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रवार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी उक्त अवसरमा प्रदान गरे। राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री स्व कोइरालालाई दिइएको नेपाल रत्न उहाँकी परिवारिक सदस्य किरण कोइरालालाई प्रदान गरे। राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, लाई प्रदान गरिएको राष्ट्र गौरव उहाँकी धर्मपत्नी माया न्यौपानेलाई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गरे। सुप्रसिद्ध प्रबल जनसेवाश्री डा. जगमान गुरुङलाई प्रदान गरियो। समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको थियो।
मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेका थिए। नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।