PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

स्मृतिले पनि छाड्दा रहेछन् साथ, अनि म रहेछु ‘एक्लो’...



ऋषिकेश दाहाल

स्मृतिले पनि छाड्दा रहेछन् साथ, अनि म रहेछु ‘एक्लो’...

कहिलेकाही मन एकतमास हुन्छ। लाग्छ - स्मृतिहरु पनि अस्थायी रहेछन्। सम्झिन खोज्छु ती साथ। ओहो! त्यो छिचोलिनसक्नु भिड। मेचीदेखि कालीसम्मका भिडबाट छानिएर जुटेका साथी। कहिले दक्षिणकाली त कहिले साँखु बज्रयोगिनीसम्मको यात्रा। हाइकिङ जाँदा असजिला बाटामा दिएका हात र साथ। लाग्थ्यो – जीवन यिनकै वरपर घुमिरहने छ। तर, किन हुन्थ्यो? अहिले त तिनकै अनुहार स्मृतिबाट गायव! मानौं तीस दिनमा आफैँ ‘इरेज’ हुने इमेलको ‘स्पाम’जस्तै रहेछन् मेरा स्मृति। अनि मेरा साथीहरु। को कहाँ पुगे? को कहाँ? स्मृतिधरीले साथ दिन्न भने म कति एक्लो भइसकेँ हँ?

सम्झिने कोसिसमा छु - बज्रयोगिनी मन्दिरबाट तलतिर झरिरहाँदा तिनका हातमा झुन्डिएका ब्लक हिल। थर्थराउँदै चलेका नाङ्गा पैताला। तर अनुहार? अहँ ठम्याउन सकिन। मेमोरीमा अनुहारको रुपरेखा नै लापता। सायद तेजेनले सम्झेला कि? ऊ पनि त सँगै थियो। सोसल मिडियाले तेजेनलाई बाँधिरहेकै छ। नत्र अचम्म होइन त? जो पहिले सबै लाग्थे, ती त गुमनाम भइसकेछन्। स्मृतिबाट धरी? फेरि एक्लोपनको अद्भुत आभाष।

बुद्धिसागरको एक्लो मेरो हातमा छ। अनि त्यसैका पानापानाले सम्झाउन खोजिरहेछन् ती दिन। ती साथ। ती हात। एकाएक मेरो अन्तरमनबाट स्मृतिमा उक्लिन खोजिरहेछ ती पल – सुस्तरी, सुस्तरी।

अँध्यारा कक्षा कोठा। भिडभाड। अनि ‘लास्ट बेन्च’मा बसेर उडाएका कागजी रकेटले चुमिरहेका सिलिङ। कागज पट्याएर बनाएको रकेटको टुप्पोमा थुक लगाउँदै दुवै हातका माझी औंलाले एकै पटक झट्कारेर हुत्त्याउँदा, क्षेप्यास्त्रभन्दा कम लाग्थेनन्। केही सिलिङतिर सोझिन्थे। केही सोझिन्थे युवतीतिर।

लामा कपालभित्र कागजी रकेट घुसेपछि झनक्क रिसाए झै घुर्दै हेर्थे म बस्ने लास्ट बेन्चतिर। अनि कालोपाटीतिरै फर्किन्थे, मुसुक्क मुस्काउँदै। ती मुस्काउनेहरु को को पो थिए? आज सम्झिन मन लागिरहेछ, बुद्धि।

म २०५५ सालमा विद्यार्थी बनेर जहाँ छिरेँ। आज त्यही कक्षा कोठमा छु। निमिट्यान्न भइसक्यो लास्ट बेन्चरको भूमिका। बिर्सिसकेको थिएँ ती कागजी रकेट। बुद्धि, एक्लोले मेरो हार्ड डिस्कबाट रिमुभ भइसकेका डेटाका अवशेषहरु कोट्याउन पो थाल्यो त। अचम्म!

‘मेरो रुमबाट जुत्ता चोरियो पैसा छ भने दिनुस् न।’

सहयोग माग्ने साथीसँग पहिलो भेट थियो।

पत्याएँ।

खल्तीमा भएको पचास रुपैयाँ दिएँ। साता नबित्दै उसले फिर्ता पनि गर्‍यो। कस्तो ज्ञानी!

पहिलो भेटमै किन पत्याएँ?

थाहा छैन।

घटना याद आयो। याद आएन त उसको अनुहारको आकार। तिम्रो एक्लोले मेरो स्मृतिमा भूकम्प ल्यायो यार। तरङ्गित भएँ – स्मृतिले त साथ दिन्न भने तिमीले तिम्रा पात्रबाट के साथ पाउथ्यौ? पानैपिच्छे तिमी एक्लिएका सन्दर्भ मलाई फिटिक्कै असान्दर्भिक लागेन।

विद्यार्थी वयका आरआरकालीन कतिपय घटना सम्झनामा ल्यायौ। भन्दिन, खत्रा उपन्यास लेख्यौ। तर जे लेख्यौ, मैले देखेका लेख्यौ। तिमीले कर्णाली ब्लुजबाट कटासेबाट कालीकोट उकाल्यौं। फिरफिरेमा कैलालीका वनको सफर गरायौं। अनि एक्लोबाट आफैँ साक्षी भएका घटना उतारिदियौ। मलाई एकफेरि फेरि सम्झिन बाध्य बनायौं – लास्ट बेन्चर भएर गरेका ती हर्कतहरु। एकपटक फेरि अनामनगरमा बस्ने साथीको कोठामा पुर्‍यायौ। त्यो कोठा जहाँ चामल राख्ने भाँडा टङ्ग्रङ्ग रित्ता थिए। ती साथीहरुको याद गरायौ जो सुखा पाउरोटीकै भरमा ज्यान धान्थे। अनि गजबले पढ्थे पनि। अभावदेखि तिनको अद्भुत सफलतासम्म देखेको छु मैले। यतिमात्र हो तिमीले फेरि एकपटक मैले देखेका बिगतलाई सम्झनाको सतहमा ल्याइदियौ।

बुद्धि, तिम्रो उपन्यास आरआर क्याम्पस सेरोफेरोबाट अनामनगर र बागबजारका गल्लीतिर रुमलिएको भए पनि मेरो समय बोल्छ। आरआर पढ्न आउनेको कथाले ती सबैको कथा बोल्छ – जो पढ्न घर र बाआमा छाडेर शहरमा संघर्ष गरिरहेका छन्। एक्लोको कुनै पनि पात्र मसित मिल्ने छैन। तर, जति पात्र छन् ती सबै मैले देखे-भोगेभन्दा टाढाका पनि छैनन्। त्यसैले त तिनले मेरो स्मृति हुँडलिरहे।

स्कुले जीवनमा मेरा लागि कीर्तिपुर बलियो जुत्ता पाउने ठाउँमात्र थियो। पछि चाल पाएँ – काठमाडौं पढ्न आउनेहरुका लागि खास राजधानी पो हो त्यो ठाउँ। एक्लोको कभर चित्र त्यही कीर्तिपुर हो, ठम्याउन समय लागेन। अनि टेलिफोन तरङ्गको कोलाज, वाह! त्यही तरङ्गले सिर्जेको प्रेमकथाले नै हो मलाई झल्यास्स बनाएको – हातका ती स्पर्स र साथका सन्दर्भ। रेडियोमा अरुका टेलिफोन कुराकानी सुन्ने बानी त मेरै पनि थियो त। धत ! सबै पोलेर खाइसकेछु। एक्लोले नै सम्झनामा फेरि ल्यायो।

‘फिल्म कति लामो छ?’

प्रश्न सोधिन्थ्यो।

‘६ किलोमिटर।’ तीन घन्टा रैनछ भन्ने थाहा लाग्थ्यो।

फिल्मको लम्बाई किलोमिटरमा तोकिने कुरा पनि बिर्सिएछु पो त। मेरो ‘रिसाइकल बिन’बाट स्मृतिमा उत्रिएको किलोमिटरको कथा एकादेशको भइसकेछ। छिट्टै बिर्सन हामी अभ्यस्त भइसकेछौं।

द्वन्द्वका ती डरलाग्दा दिनहरु पनि बिर्सिँदै पो छौं त।

‘जाबो ३ जना मरेछन्। आज समाचारको खडेरी भयो।’

समाचार कक्षमा काम गर्दा मृत्युको मूल्य घट्दै गरेका दिनहरुको पनि झलस्स सम्झना आयो। माओवादीसँगको भिडन्तमा जति धेरैको मृत्यु हुन्थ्यो उति नै बलियो बन्थ्यो ‘न्यूज भ्यालु’। उफ! ती सकसपूर्ण दिन। मृत्युको गन्तीका समाचारमा अभ्यस्त हामी।

मलाई टाइम मेसिनमा झै मध्यपचासको दशकमा फर्किएको अनुभूति भयो, बुद्धि। अमूर्त प्रेमका भावहरुमा रमाउँदाका ती दिन सम्झनाको सतहमा ल्याइदियौ। तिम्रो लेखनप्रति म ‘बायस’ नै छु। एक्लोको समीक्षा गर्छु भन्ने ठानेको थिएँ। सकिन। उपन्यासका सन्दर्भहरुमा आफैँले देखेका दृश्य पो जोडिन थाल्यो त। नमीठो गरी बहकिएँ। तिम्रो उपन्यासका पात्र झै मसँग जोडिएका पात्रहरु खोज्नतिर पो थालेँ त। अनि एकएक गरी ‘पप-अप’ हुन थाले अधुरा र अपूरा मेरो सन्दर्भहरु। ती पूरा हुने आश छैन मलाई। किनकि स्मृतिहरुले नि एक्लो बनाउँदै गइरहेको छ मलाई। तिमीले थोरै कोट्याएर सतहमा ल्याइदियौं। त्यसैले तिम्रा पात्रहरु झै एक्लो अनुभूति गरिरहेछु। सबैको बिचमा रहे पनि एक्लो महसुस गरायौ। मलाई यसरी बहकायौ कि तिम्रो एक्लो किन हो किन मेरै जस्तो पो लागिरहेछ। म एक्लो। मेरो एक्लो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell