काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान भएको भेटवार्ता केही बेरअघि सकिएको छ।
भेटमा सरकार विस्तार, देशको पछिल्लो आर्थिक अवस्था र उपचुनावबारे चर्चा भएको बताइएको छ। यद्यपि कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने आज उपचुनावबारेमात्र छलफल भएको बताए। 'बैठक केहीबेरअघि सकियो। आज उपचुनावबारेमात्र छलफल भएको हो,' उनले भने।
वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ। ती क्षेत्रमा गठबन्धनबाट चितवनमा कांग्रेसका जितनारायण श्रेष्ठ, तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा छन्। आफ्ना उम्मेद्वारको पक्षमा जित निकाल्न र चुनावका दिन शान्ति सुरक्षाको विषयमा भेटमा छलफल भएको बताइएको छ।
यता सरकारले अझै पूर्णता पाउन सकेको छैन। नेपाली कांग्रेसले आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्ने टुंगो नलगाउँदा मन्त्रिपरिषद्ले अझै पूर्णता नपाएको हो। कांग्रेसमा संस्थापनइतरले ३ मन्त्री मागेपछि यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जनामात्र सरकारमा सहभागी भएका छन्। सरकारमा उपप्रधानसहित रक्षामा खड्का, अर्थमन्त्रीमा डा रामशरण महत, उद्योग वाणिज्यमा रमेश रिजाल र सहरी विकासमा सिता गुरुङ सहभागी भएका हुन्। बाँकी ४ जनालाई कहिले सरकारमा सहभागी गराउने भन्ने विषयमा अझै सहमति हुन नसक्दा सरकार विस्तारको टुंगो लागेको छैन।