PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

माओवादीको सहयोगी बन्न कांग्रेस र एमालेबीच तछाडमछाडै भयो : शंकर पोखरेल



निशा गुरुङ

माओवादीको सहयोगी बन्न कांग्रेस र एमालेबीच तछाडमछाडै भयो : शंकर पोखरेल

हेटौँडा : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको सहयोगी बन्न नेपाली कांग्रेस र नेकपा एमालेबिच तछाडमछाड भएको बताएका छन्। नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिवार हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कसैसँग गठबन्धन नगरेर एक्लै चुनावमा लडेको भए साना पार्टी जनताबाट जनादेश नचाहेको पार्टीले शाषण गर्ने प्रवृत्तिको अन्त्य हुनेसमेत बताए। 

‘हामीले चुनाव अगाडि नेपाली कांग्रेसका नेताहरुसँग भनेका थियौं, तपाईहरु पनि कसैसँग नमिल्नुस् हामी पनि कसैसँग मिल्दैनौं, एक्लाएक्लै चुनावमा जाउँ ,’ पोखरेलले भने, ‘म अहिले पनि भन्छु कांग्रेसले अहिले जति सिट जितेको छ त्यो भन्दा धेरै एक्लै चुनावमा गएको भए जित्न सक्थ्यो। र , नेकपा एमालेले जति जितेको छ त्यस्को दोब्बर जित्थ्यो होला, तर , यो मुलुकमा साना पार्टीहरुले जनताबाट जनादेश नचाहेकाहरुले शाषण गर्ने जुन प्रकारको परिपाटी को अन्तय हुन्थ्यो नि, आज के छ? झण्डै ९० को सिटमा रहेको नेपाली कांग्रेस र ८० को हाराहारीमा रहेको एमाले ३२ सिट भएको माओवादीका सहयोगी बन्नका लागि तछाडमछाड भएको छ।’  महासचिव पोखरेलले यस्तै तछाडमछाड हुँदै गयो भने त्यो भन्दा पनि साना दललाई खोजेर प्रधानमन्त्री दिने तयार हुने स्थिति बन्ने बताए। 

प्रचण्डले माओवादीलाई धोका दिएको र त्यसको परिणाम केही समयभित्रै थाहा हुने चेतावनीसमेत उनले दिए। अध्यक्ष प्रचण्डले एमालेलाई नभइ आफैलाई धोका दिएको बताएका छन्। कार्यक्रममा पोखरेलले माओवादी नेतृत्वको सरकारले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने बताए। माओवादी–कांग्रेस सरकारसँग अर्थतन्त्र सुधार गर्ने कुनै पनि कार्यक्रमहरू नरहेको भन्दै महासचिव पोखरेलले सरकारको कारण देशको अर्थतन्त्र डामाडोल बनेको आरोप लगाए।

एमाले सरकारमा रहेको समयमा बजार ‘गुल्जार’ हुने बताउँदै पोखरेलले यथास्थितिवादी सोच भएका पार्टीहरू मिलेर निर्माण भएको सरकारले देशमा परिवर्तन गर्न नसक्ने ठोकुवा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell