PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वीरगंजका युवक मृत अवस्थामा भेटिए मुम्बईमा, हत्याको आशंका



राधेश्याम पटेल

वीरगंजका युवक मृत अवस्थामा भेटिए मुम्बईमा, हत्याको आशंका
मृतक सोनालालको दाहसंस्कारपछि परिवारजन।

वीरगंज : वीरगंजका एक जना युवकको भारतमा रहस्यमय मृत्यु भएको छ। वीरगंज–१ छपकैया सिसौबारीका गणेश राउत कूर्मीका जेठो छोरा सोनालाल राउत कूर्मीको एक साता अगाडि मृत्यु भएको हो। 

३२ वर्षीय सोनालाल गत चैत २३ गते दिउँसो १ बजेबाट सम्पर्कविहीन भएका थिए। उनको शव चैत २६ गते बिहान महाराष्ट्रको मुम्बइस्थित कुर्ला स्टेसनबाट रक्सौल–मुम्बई जाने रेल(लोकमान-तिलक एक्सप्रेस)मा फेला परेको थियो। उनलाई टाउकोमा प्रहार गरी तथा घाँटी थिचेर हत्या गरिएको कुर्ला प्रहरीको प्रारम्भिक अनुमान छ। मृतक सोनालालको अन्तिम पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। शव बरामद भएपछि सोनालालका बुबा गणेश राउतसहित छ जना परिवारजन गत सोमवार मुम्बइ गएर शव सनाखत गरी दाहसंस्कार गरी फर्केको छ। 

परिवारजनले स्थानीय प्रहरीमा छोरा बेपत्ता भएको प्रारम्भिक जानकारी गराइसकेको तर जाहेरी दिन बाँकी रहेको बुझिएको छ। सोनालालका भाइ सुनीलका अनुसार वीरगंज–१ छपकैयाकै ३२ वर्षीय सरफुल्लाह मियाँ पवरिया र ३० वर्षीय रेयाजुल मियाँ अन्सारीको संलग्नता रहेको दावी गरेका छन्। दुवैजना अहिले फरार छन्। उनीहरु भारतमै लुकेर बसेको पीडित परिवारजनको अशंका छ। मुम्बइ जानुअघि चैत २२ गते बुधवारका दिन दिउँसो तीनैजना खानपिन गरी उनीहरुले सोनालालको  १५ हजार रुपैयाँ पनि खोसेको उनकी आमा सरस्वती देवीको आरोप छ। 

मृतक सोनालालको पत्नी निभा देवी र १३ महिने छोरा आदित्य पटेल छन्। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटनाबारे आफूलाई जानकारी भइसकेको उल्लेख गर्दै सूक्ष्म अनुसन्धानको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell