PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित



रासस

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ।

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ।

पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन। तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो।

विमानस्थलका अनुसार आज आन्तरिकतर्फ एक सय १५ उडान तालिका छन्। तीनदिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो। गत शुक्रवार र शनिवार पनि पोखराको उडान प्रभावित भएको थियो।

अन्तर्राष्ट्रियतर्फ बिहान केही समय उडान सामान्य प्रभावित भए पनि अहिले नियमित उडान भइरहेको प्रवक्ता सिटौलाले उल्लेख गरे। कतार एयरवेजको जहाजले विमानस्थलमा गलत दिशा ‘मिस एप्रोच’ लिएकाले करिब दुई घण्टा ‘होल्ड’ (आकासमा फन्को लगाउने) भएको थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामानय बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

राजधानी काठमाडौं उपत्यकाको आकाशमा गत शुक्रवारदेखि बाक्लो तुवाँलो लागिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell