काठमाडौं : केही दिनअघि कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति असन्तुष्टि जनाए। कारण थियो : बोर्डले सार्वजनिक गरेको फिल्मको बक्सअफिस कलेक्सन। खासगरि, हाल प्रदर्शनमा रहेको ‘छक्का पञ्जा ४’ को ग्रस कलेक्सन गलत रहेको भन्दै उनी केसीप्रति आक्रोशित बने।
यतिसम्म कि गिरीले ठाडो भाषामा सामाजिक सञ्जालमार्फत केसीलाई निशाना बनाए। ‘यो अध्यक्ष आएपछि जताततै लफडा नै लफडा छ हाम्रो क्षेत्रमा,’ नाम उल्लेख नगरेपनि यो कटाक्ष भुवन केसीतिरै सोझिएको थियो।
दीपकको स्टाट्सपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी बढ्यो। त्यसपछि बोर्ड अध्यक्ष केसीले पनि फिल्ममेकरले कमाएको रकमको कर तिर्नुपर्ने भन्दै चेतावनी दिए। एक अर्काप्रति लक्षित स्टाट्सले उनीहरुबीच टकराव बढ्यो। गिरी र केसीबीच यस्तो टकराव भइरहन्छ नै।
तर, चर्चा र विवादबिच दीपक र भुवन एकसाथ मञ्चमा देखिएका छन्। आइतवार बोर्डमा नेपाल-भारत सिनेमा एक्स्चेन्ज समिट कार्यक्रम थियो। कार्यक्रमको प्रमुख अतिथि थिए बोर्ड भुवन। फिल्मको माध्यमबाट नेपाल चिनाउने फिल्ममेकरको रुपमा मञ्चबाट दीपकराजको नाम घोषणा गरियो।
नाम बोलाएपछि दीपक मञ्चमा उक्लिए। लगत्तै भुवन र दीपकराजले हात मिलाए। त्यसपछि केसीकै हातबाट गिरीले मायाको चिनो ग्रहण गरे। र, दुबैले एकसाथ फोटोसमेत खिचे। दृश्य रोचक नै थियो - असहज मानिरहेका थिए दुबै जना। औपचारिकताको लागि मञ्च सेयर गरे झैं देखिन्थ्यो।