PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कास्कीमा अपराध : बैंकिङ कसुर मुख्य, सार्वजनिक हित, सुरक्षा र आत्महत्या अर्को समस्या



रिना थापा

कास्कीमा अपराध : बैंकिङ कसुर मुख्य, सार्वजनिक हित, सुरक्षा र आत्महत्या अर्को समस्या

पोखरा : जग्गा पास गरिदिने आश्वासनका साथ हरिले श्यामकी आमासँग १ करोड ६८ लाख रुपैयाँ सापटी मागे। जग्गा पाइने आशमा श्यामकी आमाले पैसा सापटी दिइन्। तर, श्यामकी आमाले न जग्गा पाइन् न पैसा फिर्ता।

सापटी दिएको रकम फिर्ता माग्दा हरिले श्यामको नाममा बैंकको चेक दिए। श्याम चेक साट्न बैंक पुगे। तर, पर्याप्त मौजदाता रकम नभएको कारण चेक साटिएन।

उनले हरिलाई खबर चेक बाउन्स भएको खबर गरे। हरिले पैसा फिर्ता दिने आश्वासन दिइरहे। अन्त्यमा चेक बाउन्स भयो। श्यामले गत महिना मात्र जिल्ला प्रहरी कार्यालय कास्कीमा आएर हरिविरुद्ध उजुरी दिएका छन्। हरि हाल फरार छन्।

यस्तै, पाँच दिन अगाडि मात्र बैंकिङ कसुर मुद्दा कास्की प्रहरीमा दर्ता भयो। अस्ट्रेलिया जानका लागि विश्वासले विरमलाई ५० लाख रुपैँया दिए। विरमले प्रलोभन देखाए जसरी विश्वासलाई विदेश लैजान असफल भए।

अस्ट्रेलिया पठाउन नसकेपछि विरमले लिएको रकम फिर्ता दिने बताए। उनले ५० लाखमा १ लाख रुपैँया विश्वासलाई फिर्ता गरिसकेका छन्। बाँकी फिर्ता गर्नुपर्ने रकमको चेक विश्वासको नाममा काटिदिए।

उक्त चेक बाउन्स भयो। अस्ट्रेलिया जानका लागि विश्वास आफैँले बैंकबाट ऋण लिएका थिए। अहिले विश्वास न अस्ट्रेलिया जान पाए न त लिएको ऋण नै तिर्न सकेका छन्।

कास्की प्रहरीमा पछिल्लो समय यस्ता प्रकृतिका मुद्दा दर्ता हुने क्रम बढ्दो छ। कास्की प्रहरीले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म सबैभन्दा बढी बैंकिङ कसुरका घटना दर्ता भएका छन्।

२६.८९ प्रतिशत बैंकिङ कसुरका घटना दर्ता हुँदा सार्वजनिक हित, नैतिकता विरुद्धको कसुर मुद्दा २४.६१ प्रतिशत दर्ता छन्। यस्तै, तेस्रोमा १०.४६ प्रतिशत आत्महत्या र ७.०३ प्रतिशत फुटकर ज्यान कसुरका घटना दर्ता भएका छन्।

कास्कीका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार अहिलेको समयमा बैंकिङ कसुरको मुद्दाहरु धेरै दर्ता भएको छ।

‘अहिले धेरै बैंकिङ कसुरको मुद्दाहरु छ। चेक दिने पर्याप्त रकम नहुने। कतिपय अवस्थामा बैंक खाता नै बन्द गरिएको। सिग्नेचर फरक पारियो मिति फरक पारेर चेक दिएको अवस्था हुन्छ,’ उनले भने।

बैंकिङ कसुरका निवेदन समाधान गर्नका लागि मिलापत्र गराउने कोसिस प्रहरीले गर्छ। मिलापत्र नमिले बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता भएर कानुनी प्रक्रियामा अगाडि बढ्छ।

‘यसमा हामीले दुई तवरबाट समाधानको कोसिस गर्छौँ। पहिलो चरण निवेदनको माध्यमबाट पर्न आएको उजुरी हेर्छौँ। सम्बन्धित पक्षलाई बोलाएर मिलापत्र हुनेसम्मको पक्षमा मिल्नुहोस् भन्छौँ। त्यसबाट समाधान भएन भने बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अनुसार जान्छ,’ उनले भने।

यस्तै, पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक ह्याक गरेर रकम माग्ने अपराध बढेको छ। गत भदौमा पोखराका केही पत्रकारको फेसबुक ह्याक गरेर ह्याकरले रकम ठगेका थिए।

पत्रकारको आइडी ह्याक भएर पैसा मागिएको ई-सेवा नम्बर पनि पोखराकै एक युवकको थियो। उनको ई-सेवा आइडी समेत ह्याक भएर ठगिएको अनुसन्धानमा खुलेको थियो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म साइबर अपराधका २ सय ४३ वटा निवेदन परेका छन्। सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाएर त्यसको दुरुपयोग गर्नेको संख्या पनि बढ्दै गएको प्रहरी बताउँछन्।

२८७ घरेलु हिंसाको निवेदनमा २३३ मिलापत्र

कास्की प्रहरीमा चैतसम्म २८७ वटा घरेलु हिंसाको निवेदन परेको छ। जसमध्ये २ सय ३३ वटा निवेदनमा मिलापत्र भएको छ।

मिलापत्र हुन नसकेको निवेदनमा प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाउँछ। परेका निवेदनमध्ये ३३ वटा अदालतमा पुगेका छन्। ९ वटा निवेदन दिएर सम्पर्कमा नआएका पनि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell