काठमाडौं : नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल अफ आन्ध्रा प्रदेश (एफटीपीसी)बिच आफ्नो देशमा बनेका फिल्मलाई एकअर्काको देशमा रहेका ओटीटी तथा हलमा रिलिज गर्ने सहमति भएको छ।
आइतवार चलचित्र विकास बोर्डमा आयोजित इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा दुई मुलुकका संस्थाबिच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति भएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्विपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे। नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्नु निकै राम्रो रहेको बताए।
एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले साँस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन्। नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिने उनको भनाइ छ। जसको लागि आफूहरुसँग १५ देखि १८ वटा ओटीटी प्लेटफर्म रहेको उनले सुनाइन्।
‘राम्रा र स्तरीय नेपाली फिल्मलाई दक्षिण भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ। जतिसक्दो चाँडो फिल्म रिलिज हुनेछ। जसले गर्दा नेपाली फिल्म पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने हामीलाई विश्वास छ,’ उनले भनिन्।
एनएफपीसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय फिल्मलाई नेपाली ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भइरहेको जानकारी दिए।
एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबिच कला र साँस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको बताए।
उनले भने, ‘फिल्म आदानप्रदान भनेको व्यवसायको सम्भावना, प्रविधि र कास्ट एण्ड क्रिउ आदानप्रदान पनि हो। फिल्ममार्फत हामी दुई देशबिच प्रशस्त सम्भावना विस्तार गर्न चाहन्छौँ।’
एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वको दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ। टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ।
समिटमा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने कलाकार, संगीतकर्मी, प्रदर्शक, निर्माता र निर्देशकलाई सम्मान प्रदान गरिएको थियो।