PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

म्याग्दीमा डढेलोबाट ७० हेक्टर वन क्षेत्र क्षति, आगो बस्तीमा पस्ने त्रासले नियन्त्रणमा जुटे स्थानीय



पहिलोपोस्ट

म्याग्दीमा डढेलोबाट ७० हेक्टर वन क्षेत्र क्षति, आगो बस्तीमा पस्ने त्रासले नियन्त्रणमा जुटे स्थानीय
फोटो : रासस

गलेश्वर : बैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ।

आइतवार दिउँसोदेखि जिल्लाको बेनी नगरपालिका-३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमवार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन। यसैगरी गत शुक्रवारदेखि बेनी-२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ।

गजुरे वनको आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन्। आगलागी हल्लेगौडा, पोलधारा, सल्देनालगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ। प्रतिकूल मौसमका कारण आइतवार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका-३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए।

‘अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्,’ उनले भने।

आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताए।

‘मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छौँ, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन,’ उनले ने।

घरेलु सामग्रीको भरमामात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिए।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताए।

‘सुक्खा र भिर भएकाले पनि सहजै निभाउन सकिएको छैन। भिरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ,’ उनले भने।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ। गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन्।

उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो। सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ। आइतवार दिउँसो सामान्य वर्षा भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो।

यसैबिच, यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको सो कार्यालयले जनाएको छ। कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको जनाउँदै उनले बुधवारसम्ममा सबै यकिन हुने जानकारी दिए। आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए।

आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ। तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ। घरबाट बाहिर निस्किँदा धुवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन्।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउँछन्। धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिकब्रोन्काइटि जस्ता समस्या आएका उनको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell