PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चुनाव नजिकिँदा यसरी तातियो बाराको माहोल : डिजेवाला गाडीदेखि भारतीय गाडीको लस्कर, भेटिए अटोमा भोट माग्ने पनि, कसको अवस्था के?



राधेश्याम पटेल

चुनाव नजिकिँदा यसरी तातियो बाराको माहोल : डिजेवाला गाडीदेखि भारतीय गाडीको लस्कर, भेटिए अटोमा भोट माग्ने पनि, कसको अवस्था के?

वीरगंज : मधेसमा गर्मीको राप जति बढ्दो छ, त्यो भन्दा चढ्दो छ चुनावी सरगर्मी। बारा २ मा यतिबेला राजनीतिक दलका नेताहरु चुनावी मैदानमा असिनपसिन देखिन्छन्।

चुनावी दौडमा मुख्य दलका उम्मेद्वारलाई चिया पानी पिउने समय पनि मिलाउन सकिरहेका देखिँदैनन्। आइतवार महागढीमाइ नगरपालिकाको वडा १ स्थित बरियापुरमा घरदैलो गरिरहेका भेटिए जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव। उनी वैशाख १० मा हुने चुनावमा आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बनाउन यहाँ उत्रेका रहेछन्।

बरियारपुर मुख्यालय बनाएर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म घरदैलोमा पुग्ने गरेको सांसद् यादव बताउँदै थिए। ‘बढीभन्दा बढी मतदाता समक्ष पुगेर अध्यक्षजीले कुरा राखिरहनु भएको छ, चारै तिरबाट राम्रो रेस्पोन्स पाइरहेको छौ,’उनले भने।

जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग सप्तरीमा ठूलो मतान्तरबाट पराजित भएपछि उपेन्द्र संसदमा छिर्न उपचुनाव लड्न आएका हुन्। यस क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव गत चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि मैदान खाली भएको हो। उपेन्द्रलाई सत्तारूढ गठबन्धनको साथ छ। नेपाली कांग्रेसको राम्रो पकड रहेको यो क्षेत्रमा कांग्रेस उम्मेदवार छैन। यसअघिको निर्वाचनमा माओवादीका उम्मेदवार दोस्रो बनेका थिए। अहिले उनी माओवादीमा छैनन्। माओवादी र नेकपा एसकोसमेत यहाँ उम्मेद्वार छैन। त्यसैले सांसद प्रदीपको दाबी छ : अध्यक्षको जित लगभग सुनिश्चित भइसक्यो।

तर मैदानमा डा सीके राउतको पार्टी उपेन्द्रलाई भारी पर्ने देखिन्छ। सत्तारुढले उपेन्द्रलाई साथ दिने भएपछि सत्ता नै छाडेर राउत चुनावी मैदानमा उत्रेका छन्। अघिल्लो निर्वाचनमा माओवादीबाट उम्मेदवार रहेर दोस्रो बनेका शिवचन्द्र कुशवाहालाई राउतले चुनावी मैदानमा उतारेका छन्। राउतको एउटै जोड छ - आफूले हराइसकेका उपेन्द्रलाई फेरि हारको स्वाद चखाउने। अनि मधेसको मसिहाको ताज खोस्ने।

राउत पनि बरियारपुरमै सम्पर्क कार्यालय खोलेर बसेका छन्। कुशवाहा स्थानीय भएकोले उनैलाई जिताउनुपर्ने राउतको जोड छ। उपनिर्वाचनको प्रचारमा बारामा आइतवार पुनः आइपुगेका राउतले जसपाका उम्मेदवार उपेन्द्रलाई जिताउन राज्यसत्ता लागिपरेको आरोप लगाए। उनले प्रहरी प्रशासन उपेन्द्रको पक्षमा रहेको आरोपसमेत लगाए। बरियारपुरस्थित जनमत पार्टीको सम्पर्क कार्यालयमै सञ्चारकर्मीहरुसँगको भेटमा उनले उपेन्द्रले निर्वाचन आचारसंहिताको उल्लङघन गर्दा पनि कारबाही नगरिएको आरोप लगाए। चुनाव जिताउन प्रहरी प्रशासनको दुरूपयोग भइरहेको भन्दै यो सह्य नहुने बताए। सत्ताको आडमा निर्वाचन गराउन खोजे त्यसको प्रतिकार गर्ने चेतावनी राउतको रह्यो।

जनमत पार्टीका नेता वीपी साह बारा २ को यसपालीको निर्वाचन स्वभिमानसँग जोडेको दाबी गर्छन्। जनमतका उम्मेदवार कुशवाहा उपराष्ट्रपति यादवसँग ३५४ मतले मात्र पराजित भएका थिए। पहिलो संविधानसभामा कुशवाहा यो क्षेत्रबाट निर्वाचित भएका थिए भने त्यसपछिको दुई वटा चुनावमा पराजित हुँदै आएका थिए।

उपेन्द्र र शिवचन्द्रको लडाइँलाई नजिकबाट नियालिरहेको एमालेको अर्को दाउ छ - दुबैलाई लडाएर आफू जित्ने। यहाँ एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार उभ्याएको छ। पौडेलले यो भिडन्तमा दरो टक्कर दिने एमाले कार्यकर्ताको दाबी छ। पौडेल हुलाकी राजमार्गभन्दा उत्तर र पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणी भेगमा उनी बढी सक्रिय छन्। हुलाकीभन्दा दक्षिणमा पर्ने पचरौता नगरपालिकामा पनि मेयरमा एमालेका जलन्धर सिंह निर्वाचित भएको कारण पनि उत क्षेत्रबाट पनि उनले मत पाउने आँकलन छ। तर पनि उनले बारा २ का उत्तरी क्षेत्रलाई आफ्नो टार्गेट बनाएका छन्। पौडेलको पहिलो निशाना जसपा अध्यक्ष उपेन्द्र यादव नै छन्। यादव हराउ अभियानमा उनका अभिव्यक्तिहरू पनि चुनावीसभामा प्रशस्त सुन्न पाइन्छ। बहिरिया–भितरियाको कुरा पनि यो चुनावमा उठाइँदैछ।

यहाँ चर्चामा रहेका अर्का उम्मेदवार हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल। रास्वपा र पर्सामा प्रहरी उपरीक्षक भएर देखाएको कामबाट खरेलको चर्चा यो क्षेत्रमा छ। प्रभु साह नेतृत्वको आम जनता पार्टीको उम्मेदवारमा छन्, अधिवक्ता अरुण ज्ञवाली। पेशाले अधिवक्ता ज्ञवाली बारा २ कै बासिन्दा हुदाँहुदै पनि हाल उनी काठमाडौंमै बसोबास गर्दै आएका छन्। कांग्रेस पृष्ठभूमिका ज्ञवाली गत चुनावमा स्वतन्त्र उम्मेदवार थिए। उनको पक्षमा ७ हजार ६९८ मत परेको थियो।

अधिकांश 'डमी' उम्मेदवार

बारा २ मा १ लाख ५ हजारभन्दा बढी मतदाता छन्। पाँच वटा पालिकाको ४३ वटा वडा र कोल्हबीको २९ नम्बर वडा गरी कुल ४४ वटा वडामा चुनाव हुनेछ। बारा २ को महागढिमाई, पचरौता नगरपालिका हुन् भने बाँकी तीन सुवर्ण, देवताल, करैयामाई गाउँपालिका हुन्। यो क्षेत्रबाट राजनीतिक दलका १२ जना उम्मेदवार छन् भने स्वतन्त्र २४ जना गरी ३६ जनाको उम्मेदवारी परेको छ। चुनावमा भने ६ जना दलको मात्र मुख्य रूपमा चर्चा छ। बाँकी दल र स्वतन्त्र उम्मेदवारहरूको खासै चर्चा छैन। उनीहरूको प्रचार पनि यो क्षेत्रमा कमजोर छ। चुनावमा प्रतिस्पर्धाभन्दा उम्मेदवारलाई विभिन्न तरिकाबाट सघाउन, गाडीको सुविधा लिन डमी उम्मेदवारको रुपमा उनीहरुको उम्मेदवारी परेको हुन सक्ने मतदाताहरु बताउँछन्।

आचारसंहिताको ठाडठाडै उल्लघंन

चुनावी प्रचारको क्रममा निर्वाचन आचारसंहिताको धज्जी उडाइएको छ। चुनावी आचारसंहिता बमोजिम रङ्गीन पोस्टर, पम्पलेट बर्जित गरिएको भएपनि अहिले यहाँ ठूला दलले नै रङ्गीन पोस्टर, पम्पलेट प्रयोग गरेका छन्। यसैगरी, यो क्षेत्रको विभिन्न सार्वजनिक स्थानमा चुनावी सामाग्री झुण्डयाइएको छ। रंगीन एवं अंचारसहिता विपरित साइजको झण्डा तथा सामाग्री प्रयोग भएका छन्। सार्वजनिक स्थानमा चुनाव प्रचारका सामग्रीहरू राख्न नपाउने र निजी क्षेत्रमा स्वीकृति लिएर मात्र राख्नुपर्ने नियमको कसैले मानेका छैनन्। निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले भोजभतेर गर्न पाउँदैनन्। तर अहिले बारा क्षेत्र नं २ को विभिन्न गाउँमा नयाँ वर्षका दिन भोजभतेर खुवाइएको एवं नेताकार्यकर्ताको सहजताको लागि गाउँगाउँमा मेस चलाइएको स्थानीय बताउँछन्। यसैगरी, निर्वाचन आचारसंहिता अनुसार भारतीय गाडीको प्रयोग निषेध छ भने उम्मेदवारहरूलाई निश्चित संख्यामा मात्र सवारी साधनहरूको प्रयोग गर्न पाइने व्यवस्था छ। तर यहाँ दवंग शैलीमा भारतीय नम्बर प्लेटको गाडीदेखि नेपाली गाडीको लस्कर देख्न सकिन्छ। प्रभु साहको आम जनता पार्टीले डिजे तथा कलाकारसहितको गाडी निर्वाचन क्षेत्रमा परिचालन गरिरहेको छ।

कोही अटोबाट भोट माग्दै

धुलो उडाउँदै गाडीको लस्कर कुदाउने उम्मेदवारको बीच नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार मुक्तिप्रसाद यादव भने अटोरिक्शाबाट चुनावी प्रचार गरिरहेका छन्। स्वतन्त्र र अन्य दलहरूको भने खासै सहभागिता देखिंदैन। मुक्तिले धरानका मेयर हर्क साम्पाङकै शैलीमा मतदातासँग मत मागिरहेको बताए। २०६४ सालदेखि चुनाव लडिरहेका यादवको घर बाराको क्षेत्र नं ३ पर्ने कलैया हो। अरुले मासुभात खुवाइरहेको एवं पैसा बाडिरहेको कुरा सुनेको चर्चा गर्दै आफनो कुल खर्च २० हजार रुपैयाँमात्रै भएको बताए। अटोमा बिहानदेखि बेलुकासम्म चालकसहित ५ जनाको टोलीले मतदाताको घरदैलोमा गएर भोट माग्ने काम गरिरहेको उनले बताए। ‘देश बेचुवा र नदी बेचुवा नेतासँग गाडी छ, पैसा छ, तामझामको शैलीलाई अहिले जनताले इन्कार गरिरहेका छन्, नरम र भद्र शैलीले मतदातालाई तानेको कारण फरक शैली अपनाएको छु,’ उनले भने, ‘बारा २ बाट उनले मतदाताको आर्शिवाद पाउँछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell