PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बिहान ३:५४ बजेको त्यो घटना जसलाई सीसीटीभीले घरको बिच भागबाट मात्र देख्यो...



सविन ढकाल

बिहान ३:५४ बजेको त्यो घटना जसलाई सीसीटीभीले घरको बिच भागबाट मात्र देख्यो...
चितवनमा चुनावी अभियान थालेपछि रविले किनेको घर। यही घरको छतबाट उनका चालक शम्भु झरेका हुन्।

काठमाडौं : हिजो राति (आइतवार) ११ बजे आफ्नो टीम सहित रवि लामिछाने चितवनको घरमा पुगे। चितवन भरतपुर महानगरपालिका ११ मा रहेको घरमा ७ महिना अगाडी मात्र उनी सरेका हुन्।

दिनभरि चुनावी अभियानमा हिँडेकाले थाकेका उनीहरु एकैछिनमा सुतिपनि हाले। आज मंगलवा बारामा निर्वाचन प्रचारप्रसारमा जाने तयारी भएकाले निद्रा पुर्‍याउन हम्मेहम्मे भइसकेको थियो। रविसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र नेता दीपक बोहरा पनि थिए। तनहुँमा चुनावी प्रचार सकेर चितवनमा बास बस्ने अनि बारातिर जाने रुटिन तय थियो।

तीन तले घरको सबैभन्दा  तल्लो तलामा रवि लामिछने  सुतेका थिए। त्यही घरको माथिल्लो तलामा रविका सवारी चालक दिलबहादुर थापा पनि सुतेका थिए। ३९ वर्षीय दिलबहादुरको बोलाउने नाम चाहिँ शम्भु हो। 

मध्यरातदेखि चकमन्न घरमा बिहान चार बज्नै लाग्दा भने ठूलै खैलाबैला चल्यो। निदाइसकेका शभ्भु तेस्रो तल्लाबाट खसेका रहेछन्। रवि लामिछानेका सहयोगी र प्रहरीले खबर पाइहाल्यो। सिन्धुपाल्चोकको बाह्रविसे घर भएका शम्भुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको रहेछ। तत्काल उनलाई पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइयो।

'खबर पाउनासाथ हाम्रो टोली पुगेर अनुसन्धान सुरु गरिसकेको छ। अहिलेसम्म हेर्दा छतबाट झरेको देखिन्छ,' जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले भने।

जुन घरमा उनीहरु सुतेका थिए त्यहाँ निगरानीका लागि सीसीटीभी  क्यामरा पनि जडान छ। तर जहाँबाट शम्भु झरे त्यो क्यामराको पहुँचमा नरहेको एसपी कार्कीले जानकारी दिए। क्यामराले शम्भु झरेको दृष्य चाहिँ दोस्रो तल्लाबाट मात्रै क्याप्चर गरेको देखिन्छ। 

सीसीटीभी फुटेज हेर्दा बिहान ३ बजेर ५४ मिनेटमा शम्भु झरेको प्रहरीले जनाएको छ। जुन ठाउँबाट उनी झरे त्यहाँको फुटेज मिल्थ्यो भने घटना अनुसन्धानमा निचोडतिर पुग्न सहज हुन्थ्यो। त्यसैले रवि लामिछानेका चालकमाथिको घटनामा अनुत्तरित प्रश्न पैदा भएको छ।

शम्भु आफैंँ हामफालेका हुन्? दुर्घटना भयो?  या अरु कसैले खसाल्दिए?  त्यसको कारण के? 

घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। पुरानो मेडिकल कलेज भरतपुरमा भेन्टिलेटरमा उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेज नहुँदा प्रहरी उनको 'रिकभरी'को प्रतीक्षामा छ।

यसैबिच प्रहरीले महामन्त्री ढकालका चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। एउटै तल्लामा सुतेकाले उनका ड्राइभरसँग प्रहरीले सोधपुछ थालेको हो। प्रहरीलाई उनले घटनाबारे आफूले केही पनि चाल नपाएको बयान दिएका छन्। ।

'अरुले उठाएपछि मात्र आफूले थाहा पाएको उनले बताएका छन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

सोही घरमा सुतेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पहिलोपोस्टसँग शम्भु खसिसकेपछिमात्र घटनाबारे आफूले थाहा पाएको बताए। 

रवि लामिछानेले गएको असोजमा चितवनमा यो घर किनेका हुन्। चुनावी अभियानका बिच घर किनेपछि यस विषयले निक्कै चर्चा पाएको थियो। चुनावी अभियानकै क्रममा मध्यरातको यस घटनाले फेरि यो घरलाई चर्चाको केन्द्रमा ल्याइपुर्‍याएको छ। 

रविसँग चितवनमा पुरानो काण्ड पनि जोडिएको छ जसले उनलाई हिरासतको यात्रा गराएको थियो।  नारायणढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा २०७६ साउन २० गते एकजनाले आत्महत्या गरेपछि रवि मुछिएका थिए।  होटलको २०२ नम्बर कोठामा बसेका सञ्चारकर्मी शालिकराम पुडासैनीले आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नु अघि भिडियो रेकर्ड गरेका थिए जसले रविलाई आत्महत्या दुरुत्साहन मुद्दा आकर्षित भयो। र, उनी पक्राउ पनि परे। न्यायिक हिरातबाट धरौटी बुझाएर रिहा भएका रविले उक्त मुद्दामा  जिल्ला अदालत चितवनबाट सफाइ पाए। 

चितवनमै फेरि भएको घटना कसरी भयो खुलिसकेको छैन। तर, यसले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा भने प्रभाव पारेको छ। पूर्व पत्रकार समेत रहेका नेता दीपक बोहराका अनुसार शम्भु लामो समयदेखि रविका चालक रहँदै आएका छन्। उनी घाइते भएर अस्पताल भर्ना भएपछि बाराको चुनावी प्रचारमा रवि र उनको टिमको संलग्नता विथोलिएको छ।

रवि लामिछानेका गाडी चालक घरबाट खसेर गम्भीर घाइते, एसपीको नेतृत्वमा अनुसन्धान हुँद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell