बुटवल : दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन गौतमका अनुसार सोमवार बिहान घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।
मोटरसाइकलमा सवार विकको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक बस्नेतलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी गौतमले बताए।
दुवै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी गौतमले बताए।