PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

चिनियाँ रक्षामन्त्री लीको रुस भ्रमण : जापानमा जि-७ विदेशमन्त्रीहरु रुस-चीनविरुद्ध छलफलमा जुट्दा मस्कोमा अर्थपूर्ण भेट



विधुर ढकाल

चिनियाँ रक्षामन्त्री लीको रुस भ्रमण : जापानमा जि-७ विदेशमन्त्रीहरु रुस-चीनविरुद्ध छलफलमा जुट्दा मस्कोमा अर्थपूर्ण भेट
Photo: RT

सांघाई : चिनियाँ स्टेट काउन्सलर तथा राष्ट्रिय रक्षामन्त्री ली शाङ्फु आफ्नो चार दिने रुस भ्रमणको लागि आइतवार मस्को पुगेका छन्। त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका नेताहरुलाई भेट गरेका छन्।

युक्रेनमाथि रुसी आक्रमण सुरु भएपछि रुसमाथि पश्चिमा राष्ट्रहरुले नाकाबन्दी र दबाव बढाइरहँदा चिनियाँ नेताहरु मस्को पुगिरहेका हुन्। यसअघि राष्ट्रपति सि चिनफिङ, सीपीसीको विदेश मामिला आयोगका निर्देशक वाङ यीसम्मका नेता मस्को पुगिसकेका छन्।

यसैबिच आइतवारदेखि स्टेट काउन्सलर तथा रक्षामन्त्री ली चार दिने भ्रमणका लागि मस्को पुगेका हुन्। मार्चमा रक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि उनको यो पहिलो विदेश भ्रमण हो। यो भ्रमणले द्विपक्षीय सैन्य सम्बन्धलाई प्रगाढ बनाउने र जटिल सुरक्षा वातावरणका बिच प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय महत्वपूर्ण मुद्दाहरूको शान्ति र स्थिरतामा योगदान पुर्‍याउने चिनियाँ विज्ञहरुले बताएका छन्।

रुसी रक्षामन्त्री सर्गेई शोइगुको निमन्त्रणामा ली आइतवारदेखि बुधवारसम्म रुसको औपचारिक भ्रमणका क्रममा रुसी सैन्य नेताहरूसँग वार्ता गर्नुका साथै रुसी सैन्य एकेडेमीहरूको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल तान केफेईले जनाएका छन्।

‘दुई देशबीचको नयाँ युगका लागि समन्वयको व्यापक रणनीतिक साझेदारीको रणनीतिक अर्थलाई निरन्तर समृद्ध बनाउँदै रणनीतिक सञ्चार, संयुक्त अभ्यास र व्यवहारिक सहकार्यमा नयाँ प्रगति भएकाले चीन-रुस सैन्य सम्बन्धलाई हालैका वर्षहरूमा दुई राष्ट्र प्रमुखको रणनीतिक नेतृत्वमा उच्च स्तरमा राखिएको छ,’ तानले भनेका छन्

ली र शोइगुबिच रक्षा क्षेत्रमा द्विपक्षीय सहयोगको अवस्था र सम्भावनाका साथै सामयिक वैश्विक र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको रुसको रक्षा मन्त्रालयले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसैबिच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार मस्को भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री ली शाङफुसँगको भेटमा रुसी-चिनियाँ सैन्य सहकार्यले दुई देशबिचको रणनीतिक र विश्वासमा आधारित सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्ने बताएको रुसी समाचार एजेन्सी तासले जनाएको छ।

उनले रक्षा क्षेत्रमा मस्को र बेइजिङबिच सफल र व्यापक सहकार्यको प्रशंसा गर्दै भनेका छन्, ‘मलाई लाग्छ कि यो (रक्षा) अर्को प्रमुख क्षेत्र हो, जसले हाम्रो सम्बन्ध, रुस र चीनबिचको सम्बन्धको विश्वासमा आधारित, रणनीतिक चरित्रलाई बलियो बनाउँछ।’

रुसी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्चमा गरेको रुसको राजकीय भ्रमणको स्मरण गर्दै रक्षा मन्त्रालयहरूबिच सहकार्यका विषयमा छलफल भएको स्मरण गरे।

यता चिनियाँ रक्षामन्त्री लीले रुस र चीनबिचको सम्बन्ध ‘नयाँ युगमा प्रवेश गरिसकेको’ र ‘शीतयुद्धका कुनै पनि सैन्य-राजनीतिक गठबन्धनलाई उछिनेको’ र तेस्रो पक्षविरुद्ध असंलग्नता, असंलग्नता र गैर-लक्ष्यीकरणको सिद्धान्तमा आधारित रहेको उल्लेख गरेको क्रेमलिनले जारी गरेको मन्तव्यमा उल्लेख छ।

क्रेमलिनमा भएको बैठकमा रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि सहभागी थिए। यता पश्चिमा राष्ट्रहरुले लीको भ्रमणलाई रुस-युक्रेन द्वन्द्वसँग जोडेर हेरेका छन्।

चिनियाँ जनमुक्ति सेनाका जनरल लीलाई गत मार्चमा चीनको सर्वोच्च जनप्रतिनिधि संस्था पिपल्स कंग्रेसको अधिवेशनले रक्षामन्त्रीमा निर्वाचित गरेको थियो।

ली ति चिनियाँ सेनाका अधिकारी हुन् जसमाथि अमेरिकी प्रतिबन्ध छ। सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एसयू-३५ लडाकु विमान र एस–४०० सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीलगायत रुसी हतियार खरिद गरेको आरोपमा उपकरण विकास विभागका तत्कालीन प्रमुख रहेका ली र विभागमाथि प्रतिबन्ध लगाएको थियो।

सचुवान प्रान्तका स्थानीय ली चीनको पहिलो एन्टी स्याटेलाइट क्षेप्यास्त्रको परीक्षणको नेतृत्व गर्ने सैन्य अधिकारी हुन्। उनकै नेतृत्वमा चीनले सन् २०१७ देखि २०२२ सम्म अन्तरिक्षमा प्रभाव जमाएको थियो। सन् २०२१ मा अमेरिका र रुससमेतलाई उछिनेर चीनले ५५ वटा सफल प्रक्षेपण गरेको थियो।

पछिल्लो समय ताइवान मामिला चर्किँदै गएको छ। गत वर्ष सुरु हुने संकेत देखिएको चीन अमेरिका संवाद टुटेको छ। यस्तोमा अमेरिका र चीनबिचको सैन्य संवाद पनि रोकिएको छ। तर, चिनियाँ विश्लेषकहरु अमेरिकाले सैन्य संवाद नचाहेको आरोप लगाउँदै आएका छन्।

अझ अमेरिकी आकासमा चिनियाँ बेलुन प्रवेशपछि दुई देशबिच सैन्य संवाद पूर्ण रुपमा रोकिएको छ। जि-७ विदेश मन्त्रीको वार्ता जापानमा हुँदै गर्दा अमेरिकी विदेशमन्त्री भियतनाम पुगेर चीनविरुद्ध एक हुन आह्वान गरेका छन्। अर्को तर्फ जी-७ को बैठक मुख्य गरी चीन, रुस र उत्तर कोरियाविरुद्ध लक्षित हुने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

जी-७ का विदेशमन्त्रीहरूको वार्तामा ‘युक्रेनमा रुसको युद्धको अन्त्य’, ताइवान टापुविरुद्ध चिनियाँ मुख्य भूमिको ‘आक्रामकताको सामना’ र ‘उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण वार्तामा फर्काउने’ लगायत विश्वको ‘सबैभन्दा जटिल संकटहरू’बारे छलफल हुने बताइएको छ।

आइतवार भएको भेट तथा बैठकमा के-के विषय सार्वजनिक भए भन्ने मस्को र बेइजिङले सार्वजनिक गरेका छैनन्। रुस र चीनविरुद्ध अमेरिकी नेतृत्वका देशहरु छलफलमा जुट्दै गर्दा चिनियाँ रक्षा मन्त्रीको लीको मस्को भ्रमण अर्थपूर्ण छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell