इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि फराकिलो जित निकालेको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली लिड्समाथि ६-१ गोलको फराकिलो जित निकालेको हो।
लिभरपुलको जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान २ गोल गर्दा कोडी गाक्पो र डार्विन नुनेजले समान १ गोल गरे। खेलको ३५ औँ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै ३९ औँ मिनेटमा सलाहले डिएगो जोटाको पासमा गोल गर्दा पहिलो हाफमा लिभरपुल २-० गोलले अघि रह्यो।
दोस्रो हाफको सुरुमै गोल फर्काउँदै घरेलु टोली खेलमा फर्कने प्रयास गरेको थियो। खेलको ४७ औँ मिनेटमा लुइस सिनिस्टेरले लिड्सका लागि गोल फर्काए। तर, त्यसपछि लिभरपुलले दवाब बढाउँदै ४ गोल थप्यो। खेलको ५२ औँ मिनेटमा जोटा, ६४ औँ मिनेटमा सलाह, ७३ औँ मिनेटमा जोटा र ९० औँ मिनेटमा नुनेजले गोल थप्दै लिभरपुलको फराकिलो जित सुनिश्चित गरे।
जितसँगै ३० खेलबाट ४७ अंक जोडेको लिभरपुल अंकतालिकाको ८ औँ स्थानमा उक्लिएको छ। २९ अंक जोडेको लिड्स भने तालिकाको १६ औँ स्थानमा छ।