PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

नेपालसामु मलेसियाको २ सय ३६ रनको लक्ष्य



पहिलोपोस्ट

नेपालसामु मलेसियाको २ सय ३६ रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा मलेशियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको हो।

पहिलो विकेटका लागि विरनदीप सिंहसँग २२ रनको साझेदारी बनाएर मोहम्मद अमिर १७ रन बनाउँदै ५.५ ओभरमा आउट भए। दोस्रो विकेटका लागि सिंह र कप्तान अहमेद फइजले ११६ रनको ठूलो साझेदारी बनाए।

३३.२ ओभरमा ९५ बलबाट ७६ रन बनाएका कप्तान फइजलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई ब्रेक थ्रु दिलाए। चौथो विकेटका रुपमा विरनदीप सिंह ४६ रन बनाएर ललित राजवंशीको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

त्यसबाहेक खिजार हायतले २२ रन बनाउँदा स्यजरुल इद्रुसले २१ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिँदा ललीत राजवंशीले २ तथा गुलसन झाले १ विकेट लिए। नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

अर्कोतर्फ मुलपानी मैदानमा जारी खेलमा सिंगापुरले हङकङसामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको सिंगापुरले ४२.१ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको हो।

सिंगापुरका लागि कप्तान अरित्र दत्तले सर्वाधिक ४९ रन बनाउँदा आर्यन मोदीले २१ तथा रमेश कालीमुथुले १८ रन बनाए। बलिङतर्फ हङकङका एहसन खानले सर्वाधिक ४ विकेट लिँदा यशिम मुर्तजा ३ तथा आयुश शुक्ला, ऐजिज खान र मोहम्मद गजनफरले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell