काठमाडौं: नेपाली वेब सिरिज ‘ब्रह्माण्ड’ को आज पोखरास्थित गुप्तेश्वर महादेवमा शुभ मुहूर्त गरी छायाङ्कन सुरु गरिएको छ। पोखराबाट छायाकंन सुरु गरेको यो सिरिज आठ घण्टा लामो हुनेछ।
कान्तिपुर फिल्म एकेडेमीले काठमाडौँ र टोपी स्टुडियोज पोखरासँग सहकार्यमा यो सिरिज बनाउन लागेको हो। ८ एपिसोडमा निर्माण हुने सिरिजलाई रियाज नाटक्कारले निर्देशन गरिरहेका छन।
सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, अर्पन थापा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्ट लगायतको अभिनय छ। साथै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले पनि यस सिरिजमार्फत डेब्यु गर्दैछन्।
यस सिरिजमा सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानको छायाङ्कन छ। पुरुषोत्तमले लुट, कबड्डी, छक्का पन्जा, दासढुंगा, उमा, नाई नभन्नु लगायतका सिनेमाहरु खिचिसकेका छन।
फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केल मै सबै भन्दा ठुलो सिरिज निर्माण गरेको दाबी छ। यी सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्म सङै इन्डियाको एउटा ठुलो ओटीटी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुनेछ।
केही समय अघि एकेडेमीले ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो। साइको थ्रीलर ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ।