काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले सिंगापुरलाई हराएको छ। समूह 'बी' अन्तर्गतको पहिलो खेलमा बाबर हायतले सानदार शतक प्रहार गर्दा सिंगापुरमाथि हङकङले ८ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको सिंगापुरले ४२.१ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हङकङले ३४ औँ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।
सिंगापुरका लागि कप्तान अरित्र दत्तले सर्वाधिक ४९ रन बनाउँदा आर्यन मोदीले २१ तथा रमेश कालीमुथुले १८ रन बनाए। बलिङतर्फ हङकङका एहसन खानले सर्वाधिक ४ विकेट लिँदा यशिम मुर्तजा ३ तथा आयुश शुक्ला, ऐजिज खान र मोहम्मद गजनफरले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको हङकङका लागि बाबर हायतले शतकीय इन्निङ्स् खेल्दै ९४ बलमा १० चौका र ६ छक्काको सहयतामा अविजित १०८ रन बनाए। त्यस्तै कप्तान निजाकत खानले ५१ रनको अर्धशतकीय पारि खेले।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपाल र मलेशिया प्रतिस्पर्धामा छन्।