PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'सकम्बरी'को किन भइरहेको छ चर्को आलोचना? सर्जक दोषी कि अडियन्स!



लक्ष्मी बलायर

'सकम्बरी'को किन भइरहेको छ चर्को आलोचना? सर्जक दोषी कि अडियन्स!

काठमाडौं : प्रकाश सपुतको पछिल्लो गीत सकम्बरी सामाजिक सञ्जालमा चर्चामा छाइरहेकै छ। ‘सकम्बरी’ले उधुमै राम्रो भन्दै कतिपयबाट तारिफ बटुलिरहेको छ भने कतिलाई फिटिक्कै मन परेको छैन।

तारिफ गर्नेहरुको तर्क छ - गीतमा वास्ताविकता पस्किएको छ, असन्तुष्ट पक्षको तर्क भने सर्जकले महिलालाई यौनको दृष्टिकोणमा मात्र प्रस्तुत गरे। सार्वजनिक भएको २४ घण्टमै युट्युबमा 'ट्रेन्डिङ' मा चढेको गीतमाथि आलोचनाको पारो पनि ह्वात्तै बढेको छ।

‘फूलमाया’ गीतमात्र हैन कथानक पनि छ। कलाकार बन्ने सपना लिएर शहर पसेकी युवतीको कथाबाट दृश्य शुरु हुन्छ। भिडियोकी मुख्य पात्र ‘फूलमाया(कुसुम शर्मा)’। मोडल बन्ने सपना लिएर उनी गाउँले दाइ(प्रकाश सपुत)सँगै शहर पस्छिन्। तर, शहरमा उनलाई गाउँले दाइदेखि अरु व्यक्तिहरुले प्रयोग गर्छन्। फूलमाया पनि सफल मोडल बन्न हरेकसँग सम्झौता गर्दैँ जान्छिन्। उनी सफल मोडल बनेसँगै सकम्बरीमा फेरिन्छिन्। सकम्बरी बन्न फूलमायाले शरीर बेचेको दृश्य पटकपटक देखाइन्छ।

बारम्बार महिलालाई यौनमा मुछ्दै प्रकाश

प्रकाश दर्शकको ‘सेन्टिमेन्ट’ सँग खेल्न माहिर मानिन्छन्। ‘बोलमाया’ र ‘गलबन्दी’ जस्ता गीतहरुबाट उनले दर्शकको मन जिते। तर, उनको पछिल्ला सिर्जना महिलाका विषयमा संवेदनशील देखिँदैनन्।

एक वर्षअघि प्रकाशले ‘पीर’ ल्याएका थिए। पीरमा पूर्व लडाकु महिलालाई ‘यौनकर्मी’का रूपमा प्रस्तुत गरेपछि माओवादी पक्षबाट चर्कै आलोचना खेपे उनले। सपुतले उक्त दृश्य हटाउन बाध्य भए। महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उनले माफीसमेत माग्नुपर्‍यो।

पीरकै 'फल्ट'लाई ‘सकम्बरी’ मा दोहोर्‍याएका छन् उनले। पटकपटक किन महिलालाई यौन र बिक्रीको साधनको रुपमा प्रस्तुत गर्छन् त प्रकाश? उनीमाथि प्रश्न उठ्न थालेको छ।

महिलालाई अपमान गर्ने गीत ल्याउनेलाई आफू सर्जक नै नमान्ने बताउँछिन् फिल्म लेखक सम्पदा मल्ल। कुनै पनि सर्जकले विषयवस्तु सिर्जना गर्दा समाजप्रतिको दायित्त्व भुल्न नहुने मल्लको तर्क छ।

‘गीतमा प्रयोग गरिएका शब्दहरुले गर्दा मैले पुरा भिडियो हेर्नै सकिनँ। सर्जकहरुले समाजप्रति मेरो दायित्त्व हुनुपर्छ भनेर महसुस गर्नुपर्छ,' उनी भन्छिन्, 'सर्जक भनेको राजनेताभन्दा पनि शक्तिशाली हुन्छ। जसले समाजलाई मार्गनिर्देशन दिने काम गर्छ। राम्रो साहित्यले जहिले पनि समाजलाई सही बाटोमा हिडाउँछ। तर, सर्जकलाई समाजप्रति दायित्त्व नहुँदा यस्तो गीत आएको हो।'

अडियन्समाथि पनि प्रश्न

यस्ता गीतहरु सर्जकका कारणमात्र हैन दर्शकश्रोताको साथले पनि छाउने गर्छ। त्यसैले गायक वा सर्जकलाई मात्र दोष दिएर पन्छिन नमिल्ने उनको तर्क छ। ‘अडियन्स पनि सचेत नहुँदा यस्ता गीतहरु निस्किरहेका छन्। अडियन्सले यस्ता सर्जकहरुलाई रिजेक्ट गर्नुपर्ने हो। तर, उहाँहरु यस्तै सिर्जनामा रमाउनुहुन्छ,' सम्पदाले नेपाली समाजको 'ट्रेन्ड' सुनाइन्।

केही गीतहरु जसलाई समाजले यसरी नै रुचाए। कालीप्रसाद बाँस्कोटाको ‘साली तिम्रो जोवन’ इन्दिरा जोशीको ‘उध्रेको चोली’ जस्ता गीतहरुमा अदृश्य रुपमा महिलाको अपमान गरिएको सम्पदा बताउँछिन्। उनका अनुसार ‘छक्का पञ्जा ४’ पनि 'सेक्स कमेडी' नै बेचिएको छ। 'तर, सानो जमातले कराउँदा केही नहुँदो रहेछ। करौडौं भ्युज पाउँदा उहाँहरु मख्ख पर्नुहुन्छ। प्रश्न गर्दा उहाँहरुले समाजमा यस्तै छ, समाजको प्रतिबिम्ब मात्र देखाएका हौँ भन्नुहुन्छ,' सम्पदाले प्रश्न गरिन्, 'तर, सर्जकहरुले समाजमा यस्तो विकृति छ भनेर देखाउने हो कि समाजलाई मार्गनिर्देशन दिने?'

कलाकार पैसाको पछि लाग्दा संगीतक्षेत्रमा यस्ता विकृति मौलाएको उनको दाबी छ। ‘जब मानिसहरु पैसामा फस्छ तब विकृति आउँछन्। जसले समाजमा एकदमै नकरात्मकता फैलाउँछ। उहाँहरुमा महिलाप्रति कुनै संवेदनशिलता छैन।’

शिरिषको फूलमा विद्रोही पात्र हुन् सकम्बरी। उनै पात्रलाई प्रकाशले गीतमा गलत तरिकाले प्रस्तुत गरेको सम्पदाको आरोप रह्यो।

सर्जकको बुझाइमै समस्या!

रंगकर्मी घिमिरे युवराजले फूलमाया सकम्बरीमा सर्जकको बुझाइमै समस्या देखाए। ‘कहिलेकाँही चर्चित कलाकारको बुझाई के हो भन्ने थाह पाउन समय लाग्छ। कलाकारले लैङ्गिक, धार्मिक, जातीय, वर्गीय र रंगभेदको कुरामा प्रष्ट हुन आवश्यक छ,' युवराजले भने, 'यो गीत हेर्दा सर्जकको बुझाईमा समस्या देखिन्छ। महिलालाई हेर्ने एउटा सर्जकको दृष्टिकोण कस्तो छ भन्ने गीतबाट प्रष्ट थाहा हुन्छ।’

यस्ता विषयमा बहस नहुँदा सिर्जनामा विकृतिहरु बढिरहेको उनको दाबी छ। ‘उहाँले जातीय विभेद भोग्नु भएको होला। तर, उहाँलाई महिलाको अवस्थाबारे थाहा नहुन सक्छ। आखिर उहाँको ज्ञानको स्रोत के हो? सपुतसँग लैङ्गिक चेतना छैन भने उसको सिर्जनामा देखिन्छ,' उनले भने, 'कलामा लागिरहेको मानिसहरुको सामाजिक र राजनीतिक चेतनाको स्रोत के हो भन्ने कुरा मेरो प्रश्न हो। अहिले गीतमा मात्रै नभई फिल्म लेखनमा पनि समस्या छ। यो विषयमा बहस नभएसम्म यस्ता सिर्जनाहरु आइरहन्छन्।’

गीत प्रतिबन्धको माग!

फूलमाया सकम्बरी गीतलाई प्रतिबन्ध नै लगाउनुपर्ने माग छ लेखक शीतल दाहालको। अघिल्ला सिर्जनाहरुसँग तुलनै गर्न नसकिने गरी फूलमायामा प्रकाशले मुखुण्डो भिरेको दाहालको आरोप छ।

‘यसअघि प्रकाश सपुतले जसरी जातीय र विभेदको कुरा जसरी उठाइरहेका हुन्थे। उनी मलाई एक विवेक भएका गायक हुन् जस्तो लाग्थ्यो,' दाहालले भनिन्, 'तर, यो गीत सुनेपछि प्रकाश सपुत पहिलेको हो कि, अहिलेको हो भन्ने लागिरहेको छ। उनको गीतले प्रकाश सपुत संवेदनशील छैन भन्ने देखाउँछ।’

समाज परिवर्तन भए पनि महिलामाथि हुने हिंसा घटेको छैन बरु फेरिँदै दाग लगाउने क्रम बढ्दो छ। जीवनशैली फेरिँदा महिलामाथि लाग्ने आरोपको प्रवृत्ति पनि फेरिएको छ। चुलाचौकाबाट आफै केही गर्छु भन्दै आँटेर निस्कने महिलाहरुमाथि सपुतको सिर्जनाले गलत ढंगले प्रश्न गरेको दाबी छ उनको। ‘प्रकाशले गीत गाउनुभन्दा नाजायज प्रश्न गर्न सिकाएका छन्। उनले आगोमा घिउ थप्ने काम गरेका छन्। हामी अहिले महिलाको चरित्र र व्यक्तिगत जीवनमाथि प्रश्न गर्न पाइदैन भनेर लागिरहेका छौँ,' दाहाल भन्छिन्, 'तर, उनले आफ्ना फ्यानमाझ गलत कुरा फैलाइदिए। गीत सुन्नेहरुले त्यो केटी हिजोसम्म बसमा जान्थी तर, आज स्कुटरमा जान्छे। स्कुटर कसले किन्दियो? भन्ने शंका गर्ने बनाइदिएको छ।’

गीत प्रतिबन्ध नै गर्नुपर्ने भन्ने मागलाई जसरी वाक स्वतन्त्रताको हकले काट्छ त्यसैगरी महिलाको शरीरको अधिकार उसँगमात्र सुरक्षित हुन्छ। यसैले होला पछिल्लो समय 'मेरो शरीर, मेरो मर्जी' भन्ने अभियानै छेडेको छ। प्रकाश सपुतलाई महिलाको चरित्रमाथि प्रश्न उठाउने अधिकार नभएको आक्रोश पोख्छिन् उनी। ‘कति जनाले यौनव्यवसाय घर धानेका होलान्। कसैले रहरले गरे त कसैले बाध्यताले। व्यवसाय छान्ने हक महिलाहरुको हो। महिलालाई योनी बेच्न मन लागे पनि यसरी प्रश्न गर्न मिल्दैन,' दाहाल प्रश्न गर्छिन्, 'गीतमा एउटा केटी प्रतिनिधिपात्र हो। तर, हामी महिलालाई राति के काम गर्छन् भनेर प्रश्न गर्ने को हो? म पनि गाडी चढ्छु, मलाई गाडी कसले किन्दियो? भन्ने अधिकार प्रकाश सपुतलाई कसले दियो।’

यही सिर्जनामार्फत सपुतले आफूले आफैलाई नाङ्ग्याएको दाबी उनको रह्यो। ‘प्रकाश सपुतले आफूले आफूलाई नै नाँगो बनाए। उनले आफ्नो ढाकिएको रुप देखाए। म अब उनको भविष्य देख्दिनँ। प्रकाश सपुतले केटी मान्छेहरुलाई तिमीहरु हामीजस्तो काम गरेर खादैनौँ। यस्तै योनी बेचेर खान्छौँ भन्ने देखाए,’ आक्रोशित सुनिइन् उनी, ‘महिलाहरुले त कहिले पुरुषको विरोध गरेनन्। उनीहरुले सेक्स गर्दा सही र हामीले गर्दा कसरी गलत हुन्छ?  यस्ता भ्रम फैलाउने गीत ब्यान्ड हुनुपर्छ। गीतसंगीतले महिला वा पुरुषलाई निरुत्साहित गर्छ भने त्यो गीत बजिराख्न पर्दैन। म यसको पूर्ण विरोध गर्छु।’

आंशिक यथार्थलाई प्रमुख बनाउँदा समस्या

गीत पितृसत्तात्मक सोचको उपज भएको निर्माता जागृत रायमाझीले बताए। ‘हाम्रो नेपालमा अहिले पनि जुन पितृसत्तात्मक वैचारिक चिन्तन छ। त्यो हरेक कुरामा रिफ्लेक्ट हुन्छ। जुन कुरा प्रकाश सपुतको गीतमा पनि देखिएको छ। तर, समग्रताको विषयवस्तु ल्याउनु पर्नेमा अंशलाई मुख्य बनाएर ल्याउँदा मनोवैज्ञानिक प्रभाव परेको हो।’

गीतमा एउटा महिलाको सतही कुरालाई मात्रै प्रस्तुत गरेको उनले सुनाए। ‘उनले उठाएको त्यो आंशिक चित्र हो। एकजना महिलाले रहर वा बाध्यताले त्यो काम गरेको हुनसक्छ। तर, महिलाहरुलाई शरीरसँग लेनदेन गर्नुपर्ने बाध्यता किन आयो त? रहर नै भएपनि त्यो रहरको स्रोत के हो? त्यो गहिराईमा पुगेको देखिएको छैन,' उनले भने, 'कसैले बाध्यताले गरेपनि अरु नागरिकसरह सम्मानित हुन पाउनुपर्छ। पितृसत्ता नै यसमा प्रकट भएको छ। गीतमा उसको रहरलाई दोष दिइएको छ। खासमा दोष त हाम्रो पितृसत्तात्मक संरचनाको हो नि।’

रायमाझीका अनुसार पितृसत्ताका तीनवटा सोच/चिन्तन हुन्छन्। पहिलो महिलालाई मान्छेको रुपमा नभई वस्तुको रुपमा चित्रण गर्छ। दोस्रो, महिलाहरु भोगिया हुन्, पुरुषहरु चाँहि भोगगर्ने। तेस्रो सोच चाँहि महिलाहरु शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छन् र पुरुषहरु बलिया हुन्छन् भन्ने भाष्य हुन्छ। त्यही पितृसत्तात्मक भाषाबाट नै समाज निर्देशित भइरहेको रायमाझीको दाबी छ।

‘प्रकाश सपुतको गीतमा पनि यी तीनवटा पितृसत्तात्मक सोचहरु देखा परेको छ। पुँजीवादले बुवा र आमाबाहेक बजारमा सबै बिक्री हुन्छ भन्छ। बजारमा के किन्छ भन्ने आधारमा यो बनेको जस्तो लाग्छ,' जागृतले भने, 'यो समाजको आंशिक यथार्थ हो। आंशिक यथार्थलाई प्रमुख बनाएर जाँदाखेरि गीतले अर्को महिलाप्रति अपमान भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell