PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

३४ वर्षपछि नेपालमा भेटिएको ‘पुड्के खरायो’बारे अमेरिकी बालबालिकाको यस्तो चासो



पहिलोपोस्ट

३४ वर्षपछि नेपालमा भेटिएको ‘पुड्के खरायो’बारे अमेरिकी बालबालिकाको यस्तो चासो

  • बेदवहादुर खड्का-

जागिरको दौरानमा चितवन राष्ट्रिय निकुञ्जमा विविध खाले जलचर/स्थलचर लगायतका वन्यजन्तु एवं चराचुरुङ्गीको अवस्था वासस्थान के कस्तो अवस्थामा छ भनेर फिल्ड अनुगमन कार्य गरिरहन्थे। यो एक प्रकारको गोठालो गर्ने काम नै थियो। यस्तो बेला गाउँले भेषभुषामा जङ्गल गइन्थ्यो र नदीको बगरतिर बाससमेत बसिन्थ्यो।

सधैं झैं २०७२ माघ १६ गते पनि निकुञ्जको मूख्य कार्यालय कसरादेखि १२ किमी पश्चिम वनपथ हुँदै साइकल चढेर शुखीभार घाँसे फाँटामा पुगियो। यो घाँसे फाँटा कसरा र टाइगर टपको बिचोबिच भागमा पर्छ। राप्ती र रिऊ नदीले बनाएको नदी तटीय घाँसे फाँटा हो शुखीभार- जुन दुर्लभ पाटे बाघ, भालु, गैंडा, गौरी गाई र अति संकटापन्न खरमुजुर पंक्षीको राम्रो बासस्थान मानिन्छ। त्यस समयमा खरमुजुरलाई लक्षित गरेर शुखीभारमा घाँसे फाँटाको बासस्थान व्यवस्थापन भइरहेको थियो, जसको अनुगमन गर्नुपर्ने थियो। यस कार्यमा मलाई सहयोग गर्ने पुष्प चौधरी र मनिराज महत्तोसमेत भई वनपथमा साइकल रोकेर घाँसे मैदानको व्यवस्थापन भएको क्षेत्रमा हिँड्दै जाँदा काँसको झुप्पो हल्लिएको देखियो।

हावाहुरी नचलेको बेला काँसको झुप्पो हल्लिनाले मनमा खुलदुली चल्यो। पच्छाउँदै गई हेर्दा हल्लेको काँसको झुप्पोको फेदझाम्टोमा खोस्रेर बनाएको गोलो आकारको गुँडमा एउटा सानो बच्चा पर्‍यो। नियालेर हेर्दा उक्त बच्चा खरायोको जस्तै लाग्यो। फोटो र भिडियो खिचेँ।


यो फोटो बेलायतबाट प्रकाशन भएको संसारभर पाइने साना स्तनधारी प्राणी/लागोमर्फ किताबसमेत छापिएको छ। सामान्य क्यामराबाट खिचिएको यतिको फोटो संसारमा कोहीसँग पनि रहेनछ। फोटो : लेखक।


माऊ पनि होलान् कि? खोजीनीति गरेँ। तर कतै फेला पार्न सकिएन। त्यसैले यो बच्चा कुन प्रजाति हो भन्नेबारे पहिचान गर्न सकिएन। यतिको जङ्गल डुल्दा यस्तो खालको जीव जीवनमा पहिलोपटक देखेको थिएँ।

कसरा आइपछि 'नेपालका स्तनधारीहरु' भन्ने किताबमा रहेका फोटोमा भिडाउँदा र इन्टरनेटमा समेत सर्च गर्दा ‘हिसपिड हेयर’को बच्चा हो भन्ने लाग्यो तर ढुक्क हुन सकिएन। सामाजिक सञ्जालमा समेत फोटो र भिडियो क्लिप राख्दा नेपालका जीव विज्ञबाट यस्तै विचार आयो तर पत्ता लगाउन सकेनन्। त्यसैले अर्जुन थापाको सहयोगले हिसपिड हेयरका अन्तरार्ष्ट्रिय ज्ञाता बेलायती नागरिक डा. डाइना वेलको इमेल ठेगाना पत्ता लगाई फोटो र भिडियो क्लिप पठाएँ। डा डाइना वेलले फोटो हिसपिड हेयरकै भएको निधो गरिदिए।

यसको वितरण अवस्था

नेपाल, भारत र बङ्गालादेशमा पाइने यो प्रजातिलाई नेपालीमा लघुकर्ण खरायो भनिँदो रहेछ भने कसैकसैले पुड्के खरायो पनि भन्दा रहेछन्। अंग्रेजीमा यसलाई हिसपिड हेयर र यसको वैज्ञानिक नाम 'काप्रोलगस हिसपिड्स' रहेछ।

सन् १९८४ मा नेपालको चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लघुकर्ण खरायो पाइन्छ भन्ने तथ्य डाइना वेलसमेतको रिर्पोटबाट भेटिन्छ। पछिल्ला दिनहरुमा लघुकर्ण खरायो नेपालको केवल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाहेक अन्य क्षेत्रमा देखा परेको थिएन। बाम पुड्के बँदेल चितवनबाट हराएजस्तै यो प्रजाति पनि हराएको आशंका गरिएको थियो तर ३४ वर्षपछि पुनः लघुकर्ण खरायो चितवनमा भेटियो।


अध्ययनका क्रममा लेखक।


अन्तर्राष्ट्रिय संरक्षण संघ आइयूसीएनले यसलाई अतिसंकटापन्न (संसारबाट लोप हुने अवस्था)मा पुगेको प्राणीको सूचीमा राखेको छ भने नेपालको कानूनले यसलाई संरक्षित सूचीमा समावेश गरिएको छ। भारतमा सन् १९६४ मै लोप भइसकेको भनिएको तर १९९० मा आसाममा पुनः रेकर्ड गरियो र त्यसपछि भने यो प्रजाति भारतमा पनि फेला परेको तथ्य छैन।

तर एक्कासी यसको बच्चा चितवनमा भेटेपछि नेपालमामात्र होइन विश्वका संरक्षणविद् एवं जीवविज्ञहरुले यो प्रजाति अझै पृथ्वीमा जीवितै छ भनेर सामाजिक सञ्जालमा समेत आश्चर्य प्रकट गरे। हाकिम पल्टेको भए यो खरायो नेपालमा अझै छ भनेर पत्तो लाग्दैन थियो। वन्यजन्तुको हाकिम होइन, गोठालो बन्न सक्यो भने अझ धेरै यस्ता जीवहरु फेला पर्न सक्छन् जसले राष्ट्र र आफूलाई पनि पहिचान दिन्छ।

बासस्थान र आहारविहार

लघुकर्ण खरायो अन्य खरायोभन्दा सानो क्षेत्रमा रहन्छ। यसले आहाराको रुपमा विभिन्न प्रजातिका घाँस, कलिला टुसा, गुलियो घाँस(काँस) प्रजातिका जराहरु खाने गर्दछ। यसको बड्कौला भनौ वा दिसा खैरो रङ्गको हुन्छ। झन्डै हाजमोला चक्कीजस्तै।


लघुकर्ण खरायोको बड्कौला। फोटो : लेखक


लघुकर्ण खरायोको तौल २ देखि २.३ किलोग्राम र शरीरको लम्बाई करिब ४० देखि ५० सेन्टीमिटरसम्म हुन्छ। समथर भूभागमा रहेको बाढीले तहसनहस पारेर मडारिएको काँस र बरुवा घाँसेमैदान क्षेत्र जहाँ गैंडाले गोब्रेको/हगेको/दिसा गरेको) स्थान यसको मूख्य बाससथान हो।

अन्यत्र यस्ता प्रजातिका घाँसहरु/घाँसे मैदानहरुमा विनास भएर गैसकेकाले यो प्रजातिको वासस्थान निकुञ्ज क्षेत्रहरुमा मात्र खुम्चिन पुगेको छ।


रिऊ नदीको बाढीले मडारेर प्रभावित वनाएको लघुकर्ण खरायोको उपयूक्त वासस्थान जहाँ गैंडाले गोब्रेको छ। फोटो : लेखक


यसले पुसदेखि फागुन महिनासम्ममा बच्चा जन्माउने र यस समयमा अत्यधिक मात्रामा घाँसे मैदानहरुमा आगलागी हुने गरेको कारणले यो प्रजाति लोप हुने अवस्थामा पुगेको संरक्षणमा लाग्नेहरुको ठम्याई रहेको छ।

कसरी अन्तरार्ष्ट्रिय पत्रकार सम्मेलनले प्राथमिकता पायो?

चितवन राष्ट्रिय निकुञ्जमा ३४ वर्षपछि पुन भेटिएको लघुकर्ण खरायोकोबारे जर्नलमा प्रकाशन भएपछि यसैको जगलाई टेकेर अन्तरार्ष्ट्रिय अनलाइन पत्रकार सम्मेलन भयो। त्यसपछि मूलुक भित्रमात्र नभै अन्तर्राष्ट्रिय स्तरमा समेत यो खरायोले व्यापक प्रचार पायो।

यसैको प्रभावले विभिन्न देशबाट विभिन्न भाषामा समाचार छापिन थाले र विश्वको कुना-कुनासम्म नेपालमा ३४ वर्षपछि लघुकर्ण खरायो भेटियो भन्ने खबर पुग्न सफल भयो। सोही कुरालाई अमेरिका मिचिगन राज्यस्थित एउटा प्राइभेट विद्यालयमा पढाउने बावर बि सोफर नामकी शिक्षिकाले लोप भएको भनी आँकलन गरिएको लघुकर्ण खरायो चितवनमा भेटियो भन्ने कुरा पत्रिकामार्फत पढेर बुझिन् र आफूले बुझेका कुराहरुलाई आफ्नै विद्यालयमा अध्ययनरत ५/६ वर्षका नानी बाबुहरुलाई बुझाउन कोसिस गरिन्।

यसको लागि उनले संसारबाट लोप भएको लघुकर्ण खरायो नेपालको चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारीले फेला पार्‍यो भनेर सिधै भनिनन्। तिनले पहिला इक्सटिङ्गट भन्ने शब्दको प्रयोग गरेर ससाना नानीबाबुलाई लोप भैसकेको प्राणीबारे जानकारी दिएकी थिइन्।

इक्सटिङ्गट भन्ने शब्द र सो शब्दले दर्शाउने भावबारे अंग्रेजी शब्दकोषमा खोज्ने हो भने मृत वा अस्तित्वमा नरहेको वा लुप्त वा हराई सकेको भन्ने भेटिन्छ। यही कुरालाई कसैलाई बताउने वा बुझाउने हो भने शब्दकोषको सहायताले मात्रै पुग्दैन।

किनकी उक्त शब्दले कहिलेदेखि, कति समयदेखि, कुन बेलादेखि हराएको वा लुप्त भएको वा अस्तित्वमा नरहेको भन्ने कुराको सबै बेलीविस्तार लगाउनुपर्छ। यही कुरा ठुला मान्छेलाई बुझाउन त सजिलो हुँदैन भने सोच्नुस् साना १/२ मा पढ्ने तोते बोली बोल्ने नानीबाबुलाई बुझाउनु वा पढाउनु परेमा के अवस्था रहला?

यही इक्सटिङ्गट शब्दलाई अमेरिकामा बावर बि. सोपर शिक्षिकाले १/२ मा पढ्ने विद्यार्थीहरुलाई बताईबुझाई त्यसपछि नेपालमा लघुकर्ण खरायो फेला परेको कुरा बताएकी थिइन्। बालबालिकाले लघुकर्ण खरायो हेर्न जाने उत्सुक्त ति शिक्षिका समक्ष व्यक्त गर्दा उनलाई निकै अप्ठ्यारो महसुस भएपश्चातः उनले नक्साको सहयोग लिएर नेपाल धेरै टाढा रहेको र हामीले हेर्न सक्दैनौँ भनेर बालबालिकालाई सम्झाउनु बुझाउनु परेको थियो भन्ने कुरा यो पंक्तिकारलाई लेखिएको चिट्ठीमा समेत उल्लेख छ।

अनि साना नानीबाबुलाई लघुकर्ण खरायो अनुसन्धानकर्ताले फेला पारेको कुरालाई स्केचमा कोरी उतारी देखाउन लगाइन्। सिसाकलम पनि राम्रोसँग समाउन नसक्ने १ - २ पढ्ने नानीबाबुको हातले सिसाकलम तथा रंगहरुको प्रयोग गरी घाँसे मैदानमा एकातिर लघुकर्ण खरायो चर्दै गरेको र अर्कोतर्फ अनुसन्धान कर्ताले अध्ययन गरिहेको चित्र बनाई कागजमा दर्साएका थिए। पछि २७ जना नानुबाबुको उक्त चित्र(हार्ड कपी)लाई ति शिक्षिकाले पार्सल गरेर पंक्तिकारसम्म पठाइन्।

जीव संरक्षणका भाव तोते बोली बोल्ने बालबालिकालाई पनि सिकाउन सकिने रहेछ भन्ने विषय ति शिक्षिकाको प्रयासले सफल पारिदिएको छ। पृथ्वीबाट लोप भइसकेको अनुमान गरिएको लघुकर्ण खरायो ३४ वर्षपछि पुनः नेपालमा फेला परेको कुरा कन्जरभेसन साइन्स(अंक ५(१) सन् २०१७) नामको जरनलमा प्रकाशित भएपछि विश्व समुदाय नै हर्षित भएको कुरा उक्त जर्नलमा उद्धृत गरिएको “बच्चा जीव भेटिएपछि त्यसको माउहरु भाले पोथी दुवै त्यसै बासस्थानमा छन् भन्ने कुरा स्वतः प्रमाणित छ” भन्ने हाम्रो भनाइ र हामीले खिचेको लघुकर्ण खरायोको तस्विर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाका विज्ञप्तिहरु, विद्यालय र इन्टरनेट संजालमासमेत उद्धरण भै प्रचार गरिएकाले स्वत सिद्ध हुन्छ।

नेपालमात्र नभै विश्व समुदाय नै लघुकर्ण खरायो पुनः देखा परेको खबरले खुसी भएको र उनीहरुले प्रचारप्रसारमा प्रयोग गरेका विज्ञप्तिसमेत लेखकसँग इमेलमार्फत सेयर गरेकाले हामी प्रयासमा ऐक्यवद्धता जनाई हामी नेपालीहरुलाई संरक्षण कार्यका लागि थप उत्साह र उर्जा थप गरेका छन्।

लघुकर्ण खरायो चितवनमा अझै अस्तित्वमा रहेको पाइनु सुखद कुरा हो। तर २०७२ सालको अन्त्यतिर भेटिएर अन्तर्राष्ट्रिय चर्चा पाएको खरायोले वर्तमान अवस्था के छ? यसबारे न त सरकारको चासो छ न त सम्बन्धित पक्षको नै।

त्यसैले यस प्रजातिको संख्या यकिन गर्न र बासस्थानको निरन्तर सुधार र अनुगमन गर्न कार्यक्रमहरु संचालन गर्नुपर्ने र अनुसन्धानको कार्यहरुसमेत अगाडि बढाउनुपर्ने अपरिहार्य देखिन्छ।

–खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत हुन्। उनी गोही अध्ययन, अनुसन्धान र संरक्षणमा चासो राख्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell