PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मीराको प्रस्ताव, बालेनको ‘एक्सन’ : अनि सुरु भयो काठमाडौंभित्र पार्किङ व्यवस्थित गर्ने अभियान



सविन ढकाल

मीराको प्रस्ताव, बालेनको ‘एक्सन’ : अनि सुरु भयो काठमाडौंभित्र पार्किङ व्यवस्थित गर्ने अभियान
ट्राफिक प्रहरी प्रमुख हुँदा एक पत्रकार सम्मेलनका क्रममा तत्कालिन डीआइजी मीरा चौधरी। फाइल फोटो।

काठमाडौं : पछिल्लो पटक प्रहरीको नेतृत्वमा को हुन्छ भन्ने रोचक प्रतिस्पर्धा चलिरहँदा उनी पनि एकै लहरमा थिइन्।

नेपाल प्रहरीको ३०औँ महानिरीक्षक तोक्ने संघारमा उनको नाम धेरैले लिन्थे प्रहरी संगठनभित्र। तर, आईजी नियुक्तिको दुई साताअघि सरकाले एआईजी बढुवा गर्दा उनको त्यो प्रतिस्पर्धामा ब्रेक लाग्यो। सन्दर्भ हो तत्कालीन डीआईजी मीरा चौधरीको।

पाँच जना डीआईजी बढुवा हुँदा मीरा परिनन्। त्यही ब्याची बढुवामा परेका एक जना प्रहरी महानिरीक्षक बन्दै थिए। महानिरीक्षकको बाजी ११ दिन अघि बढुवा भएका बसन्त कुँवरले मारे। मीरा एआईजीमा बढुवा त भइन् तर आईजी बन्ने बाटो टुङ्गिएपछि मात्रै।

अघिल्लो सातामात्र उनले एआईजीको दर्ज्यानी पदक लगाएकी छिन्। राष्ट्रिय फुटबल खेलाडी समेत रहेकी मीरा हक्की प्रहरीमा गनिन्छिन्। त्यसो त उनी आईजी हुन सक्छिन् भन्ने पृष्ठभूमि त्यसै तयार भएको होइन। उनले गरेको काम र संगठनलाई पुर्‍याएको योगदानले नै यसखाले अनुमान गरिएको थियो।

२८ वर्ष प्रहरी संगठनमा काम गरेकी चौधरीलाई पछिल्लो ९ महिने कार्यकालले भने झनै चर्चित बनायो। त्यो ९ महिने कार्यकालको उपलब्धि दिने कार्यालय भने काठमाडौं उपत्यका ट्राफिक कार्यालय बन्न पुग्यो।

गत असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएकी चौधरीले ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालिन्। ट्राफिक कार्यालयले पहिलो महिला प्रमुख पायो।

काम गरेर देखाउनुपर्ने मीराको स्वभाव। सँगै सेलिब्रेटी छबि बनाएका काठमाडौंका मेयर बालेन्द्र साहसँगको सहकार्य उनलाई चर्चामा ल्याउने कारण बन्यो।

अघिल्लो वर्ष नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काइँदा मेयर बालेन साह र मीरा चौधरीलगायत। फाइल फोटो।


मीराको बालेनसँगको सहकार्यले बालेनका लागि पनि देखाउने काम बन्यो। एक महिनामा नै मेयर साह र डीआईजी चौधरीको कामले ‘पर्फेक्ट रिदम’ निकाल्यो। कामले गति पायो।

एआईजी मीरा चौधरी आफ्नो कार्यकालमध्ये ट्राफिक कार्यालयमा बिताएको समय सबैभन्दा सन्तोष गर्न लायक मान्छिन्।

‘त्यस अवधिमा धेरै काम भएको जस्तो लाग्छ,’ एआईजी चौधरीले भनिन्।

काठमाडौं महानगरपालिकाभित्र पार्किङको विषयमा लिएको एक्सनका कारण मेयर बालेन्द्र साह चर्चित बने। यसको श्रेय मेयर साहले पाए तर पार्किङको विषयमा जे गरियो त्यसको रणनीति चाहिँ मीरा चौधरीले तयार पारेकी थिइन्।

उनको पहिलो काम नै काठमाडौंभित्र पार्किङ व्यवस्थित गर्नु थियो। जब काठमाडौं महानगरपालिकामा उनले यसबारे प्रस्ताव लगिन् मेयर साहले सहजै स्वीकार गरे।

साहलाई पनि आफ्नो कार्यकालमा केही गरेर देखाउनु पर्ने थियो। मीराको प्रस्ताव उनको लागि अवसर थियो।

त्यतिमात्र होइन, केही समयमा नै उनीहरु एक्सनमा उत्रिए। ठूला भवनका पार्किङ क्षेत्रमा भएका व्यापार व्यावसाय हटाए। त्यहाँ पार्किङ नै गर्नुपर्ने व्यवस्था भयो।

अल्फाबिटा भवनमा अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा मीरा चौधरीलगायत ट्राफिक प्रहरी र नगरप्रहरीहरु। फाइल फोटो।


‘प्रस्ताव हामीले गरेका हौं। उहाँ (मेयर साह)ले ओन गर्नुभयो। महानगरसँग प्रहरीको यस्तै समन्वय हुनुपर्छ। उहाँ र हामीबिच यही समन्वय भएको हो,’ एआईजी चौधरीले भनिन्।

मीराले उनको कार्यकालमा लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकमाथिको कारबाहीलाई तीव्र पारिन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने चालकमाथि कडा कारबाही थालियो।

त्यसो त उनीमाथि ट्राफिक कारबाही राजस्व बढाउनका लागि मात्र हो भन्ने आरोप पनि लाग्यो। प्रहरी कारबाही भनेको नियम पालना गर्ने हो, राजस्व बढाउने होइन भन्ने तर्क छ उनको।

आफ्नो एक्सनले काठमाडौं उपत्यकाको सवारी दुर्घटनामा ७ देखि १० प्रतिशतले कमी आउने उनको दाबी छ। उनको कार्यकालमा दैनिक २ सय भन्दा धेरै सवारी तीव्र गतिमा कारबाहीमा परे।

मीराले स्कुल बसलाई पनि छाडिनन्। नियम अनुसार नचलाउनेलाई कारबाही अभियान थालिन्। केही विद्यालका सवारी चालक कारबाहीमा तानिए।

मीरा सवारी कारवाहीमा मात्र होइन, मुद्दा नै चलाउनुपर्ने अडानमा उत्रिइन्। उनको यसखाले रणनीति विवादित पनि बन्यो। त्यसो त ट्राफिक प्रहरीभित्र तल्लो तहका कर्मचारीको कुरै नसुन्ने आरोप उनीमाथि नलाग्ने होइन।

यद्यपि, प्रहरी व्यावसायिकता भन्दा बाहिर गएर काम गर्दिनन् भन्ने छवि जवरजस्त छ उनको। सीआईबीमा हुँदा ३३ किलो सुन प्रकरणको अनुसन्धानमा होस् वा बारामा हुँदा तस्करी नियन्त्रण मीराको संगठनभित्र चर्चा रहिह्यो। तर, ९ महिने कार्यकालमा पार्किङ व्यवस्थापनमा मेयर बालेन साहसँगको समन्वयले थप उचाइ कायम गर्‍यो।

ट्राफिक प्रहरी प्रमुख हुँदा एक पत्रकार सम्मेलनका क्रममा तत्कालिन डीआइजी मीरा चौधरी र एसपी संजिव शर्मा। फाइल फोटो।


मीराले लामो समयदेखि प्रहरी कार्यालय अगाडि थन्किएका पुराना सवारी साधनलाई व्यवस्थित गर्न ऐन संशोधनका लागि सरोकारवाला निकाय धाइन्। तर, ९ महिनाको कार्यकालमा टुङ्गोमा भने पुगेन। उनलाई उक्त काम उधुरो छोडेको महसुस छ।

‘यो एउटा काम चाहिँ पूरा गर्न पाइनँ कि जस्तो लाग्छ अझै पनि। तर, म प्रहरी संगठनभित्र हुँदा यसबारे भनिरहन्छु,’ मीराले भनिन्।

मीरा कुनै पनि काम थाल्दा त्यसको गहन रुपमा अध्ययन गर्छिन्। ट्राफिक प्रहरीमा हुँदा उनले पुराना सवारी कति छन्? यसले कति ठाउँ ओगटेको छ? यसको सामधान के हो? भन्ने विषयमा अध्ययन गरेकी थिइन्।

उनले ट्राफिक व्यवस्थापनमा गरेको मध्ये दरबारमार्ग र बागबजारको पार्किङ विवादित बनेको छ। यी क्षेत्रमा पार्किङ हटाएपछि व्यवसायीहरु विरोधमा उत्रिए।

सीसीटीभी फुटेजका आधारमा गरिएको मूल्याङ्कन अनुसार ट्राफिक प्रहरीले दरबारमार्गको महेन्द्र सालिकदेखि दक्षिणढोकासम्म पार्किङ हटाएपछि ५ सेकेन्ड बचत भएको देखायो। तर, यसरी पार्किङ हटाउँदा व्यावसायमा कस्तो असर पर्छ भन्ने अध्ययन गर्नुपर्ने उनको तर्क छ।

त्यसखाले अध्ययन हुन नपाउँदै ट्राफिक प्रहरी प्रमुखका रुपमा उनको कार्यकालमा पूर्णविराम लाग्यो। यद्यपि, मीराका लागि प्रहरी संगठनमा रहेर काम गर्न अझै केही वर्ष बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell