बुटवल : गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ भने बेवारिसे अवस्थामा एउटा शव फेला परेको छ।
गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दहका ३७ वर्षीय भीमबहादुर कुँवरको छल्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए। कुँवर मंगलवार दिउँसो रेसुंगा नगरपालिका ३ बाझाँखेत भन्ने स्थानमा नुहाउन गएका थिए।
उनी सोही स्थानमा निर्माण व्यवसायीका रुपमा काम गर्दै आएका थिए। उनको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्लाको रुरुक्षेत्र गाउँपालिका-५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा एउटा शव फेला परेको छ। नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा रहेको शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मंगलवार दिउँसो सडेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उक्त शव पहिचानको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ।