- नवीन सुब्बा -
प्रिमियर शोमै ‘जारी’ हेर्ने मौका जुर्यो, फिल्म राम्रै लाग्यो। मैले बारम्बार भन्दै आइरहेको छु, चलचित्रको विषय जबसम्म संस्कृति र भुगौलमा जाँदैन। तबसम्म नेपाली फिल्मको बजार फैलन सक्दैन।
भौगोलिक सिनेमालाई दर्शकले पनि मन पराएका छन्। तर, ‘बुलाकी’ को सन्दर्भमा यो हुन सकेन। पँहुचको कमीले नचल्नु दुखद हो। सुदूरपश्चिम र कर्णालीको कथा पनि चल्नुपर्छ। त्यताको कथा आउन थालेको धेरै भएको छैन। त्यसमाथि लगानी गर्नेहरु नहुँदा फिल्म सफल नभएको हो कि जस्तो लाग्छ।
तर, नेपाली चलचित्र क्षेत्र र संस्कृति निर्माणमा पूर्वको जुन लगानी छ। साहित्य र गीतसंगीतमा जुन योगदान छ। त्यसकै परिणाको रुपमा म ‘जारी’ लाई लिन्छु। फिल्ममा जुन प्रयास भएको छ, त्यसको 'रिजल्ट' चाँहि देखिन्छ। तर, मेरो प्रश्न चाँहि उहाँहरुले जुन काम ‘जारी’ मा गर्नुभएको छ। त्यो मिहिनेत अरु फिल्ममा किन देखिदैँन? भन्ने हो। यदि यो किसिमको मिहिनेत गर्ने हो भने नेपाली सिनेमाको स्तर अझै माथि पुग्छ।
‘जारी’ हेरिरहँदा ‘नुमाफुङ’बाट पनि उहाँहरुले केही ‘रिफरेन्स’ लिनुभएको रहेछ भन्ने लाग्यो। स्वभाविक रुपमा त्यो प्रभाव रहन्छ नै होला! किनभने नुमाफुङ लिम्बू समुदायबाट मुलधारमा आएको पहिलो सिनेमा हो। पहिलो काम भएकाले अलिकति प्रभाव रहनु स्वभाविक नै हो। केही ‘भिजुअल एस्पेक्ट’ त्यहाँबाट आएको छ। एउटै संस्कृतिमा काम गर्दा यस्तो भएको हुन सक्छ। हामीले भोगेको जुन समाज छ, त्यो एउटै हो, त्यसकारण पनि केही समानताहरु आए। तर, ‘जारी’ को आफ्नै परिचय छ। उपेन्द्र सुब्बाले ‘जारी’ लाई कवितात्मक ढंगले तयार पारेका छन्। उनको साहित्यको ‘रिफ्लेक्सन’ फिल्ममा देखिन्छ। जसकारण मलाई ‘नुमाफुङ’ र ‘जारी’ मिल्छ जस्तो लाग्दैन।
फिल्म राम्रो भए पनि केही ठाउँमा त्रृटि नभएका होइनन्। खासगरि, फिल्ममा साँस्कृतिक केही कुरामा समस्या हो कि जस्तो लाग्छ। यसमा माइतीपक्षले जारी तिर्न नसक्दा महिलाले नै पूर्वश्रीमानको घरमा 'नोकर' बस्नुपर्ने देखाइएको छ। उहाँको तिर कसैको भयो होला वा काल्पनिक कथा पनि बनाउनुभयो होला। तर, हाम्रोतिर चाँहि त्यस्तो हुँदैन। हुन त फिल्ममेकरलाई कथा भन्न स्वतन्त्रता हुन्छ। फिल्म 'फिक्सन' पनि हो। तर, फिल्ममा प्रयोग गरिएका केही दृश्यहरु नराखेको भए हुन्थ्यो लागेको छ। तर, फिल्मको 'थिम' बढी व्यवसायिक भएकाले धेरै प्रश्न उठाइराख्न ठीक पनि हुँदैन।
‘जारी’ भनेको महिलालाई आफ्नो 'पार्टनर' छान्ने स्वतन्त्रताको रुपमा लिइएको छ। बिहे गर्दा 'सुनौली – रुपौली' लिइन्छ। त्यो माइतीपक्षले आफ्नो छोरीको सुरक्षाको लागि लिएको हुन्छ। यसमा पो महिलाले विद्रोह गरेको देखाइएको छ। तर, पुरुषले छोड्यो भने के हुन्छ? त्यतिखेरको लागि त्यो सुनौली रुपौली महिलाको सुरक्षाको लागि लिइन्थ्यो। जो महिलालाई जीवन चलाउन उपलब्ध गरिन्थ्यो। तर, समय परिवर्तन भएसँगै संस्कृति पनि परिवर्तन भएको छ। पछिल्लो समय त्यो दुरुप्रयोग भइरहेको छ। अहिले सम्पन्नता बढेसँगै २० तोला सुन माग्ने गरिन्छ।
लिम्बू समुदायकै जारी प्रथाको विषयमा महिलालाई नै केन्द्रमा राखेर अर्को फिल्म आउँदा ‘नुमाफुङ’ सँग तुलना भएको हो। समाज, संस्कृति र विषयवस्तु एउटै भएपनि ‘नुमाफुङ’ र ‘जारी’ बीच आकाश जमिनको फरक छ। (पहिलोपोस्टकी सम्वाददाता लक्ष्मी बलायरसँगको कुराकानीमा आधारित।)