
बुटवल : पाल्पा सदरमुकाम तानसेनस्थित पाल्पा दरबार आसपास र मूलढोकाको दायाँबायाँ रहेका घरटहरा हटाइएको छ। पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न त्यस आसपास रहेका घरटहरा हटाइएको हो।
तानसेन नगरपालिकाले बुधवार ५७ वटा पसल तथा घरटहरामा डोजर चलाएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए।
‘पाल्पा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न सूचना निकालेर घरटहरा हटाएका हौँ,’ उनले भने।
नगरपालिकाले व्यापारी तथा व्यवसायीहरुलाई ३५ दिने सूचना प्रकाशन गरेर पसल हटाउन भनेको थियो। सोही अनुसार मंगलवार ३५ दिन पुगेपछि बुधवार घरटहरा हटाइएको हो।
पुरातत्व विभागले गत माघ १० गते पाल्पा दरबारलाई सौन्दर्यीकरण तथा थप विकासका लागि तानसेन नगरपालिकालाई पत्र पठाएको थियो। घरटहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गरि सुन्दर बनाउने नगरपालिकाको योजना रहेको छ।
तानसेन नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा नगरपालिका तथा अन्य सामाजिक संस्थाहरुले सटर भाडामा लगाएका थिए। व्यापारी तथा व्यवसायीहरुले भने नगरपालिकाले आफूलाई अन्याय गरेको गुनासो गरेका छन्।
३५ दिने सूचनाका आधारमा आफूहरुलाई विस्थापित गरेको उनीहरुको भनाइ छ। आफ्नै अन्य विकल्प नभएका व्यापारीहरुलाई अन्यत्र सटरको व्यवस्था गर्न सकिने नगरपालिकाका प्रवक्ता कार्कीले बताए।
विस्थापित हुने अवस्थामा पुगेका व्यापारीहरुलाई तानसेनकै नारायणस्थानको रेडक्रस भवन नजिकैका ९ वटा सटरमा व्यवस्थापन गर्न सकिने नगरपालिकाले जनाएको छ।