PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित



पहिलोपोस्ट

प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित
Photo: Emirates Cricket

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा यूएई र ओमन विजयी भएका छन्।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बृत्य अरबिन्दको उत्कृष्ट ब्याटिङको सहायतमा यूएईले कुवेतमाथि १४३ रनको जित निकाल्न सफल भयो।

एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेतले ३६.३ ओभरमा २२८ रन बनाएर अलआउट भयो।

पहिलो ओभरमा कप्तान मोहम्मद वसीम र दोस्रो ओभरमै आर्यन लार्कालाई गुमाएको युएईको ४.४ ओभरमा रमीज सहजादले विकेट गुम्दा स्कोर बोर्डमा २४-३ को अवस्था थियो। सुरुमै धर्मराएकव यूएईको ब्याटिङलाई रोहन मुस्तफा र बृत्य अरबिन्दले २७५ रनको साझेदारी गर्दै यूएईको इन्निङ्स सम्हाले। अरबिन्दले १४७ बलमा १७ चौका र ९ छक्काको सहायतामा १८५ रन बनाए। त्यस्तै मुस्तफाले ११८ रन बनाउँदा आशिफ खानले ९ बलमा ३० रन बनाए।

बलिङतर्फ कुवेतका शाहरुख कुड्डोस र परभिन्दर कुमारले समान २ विकेट लिँदा यसिन पटेल र सायेद मोनिबले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुवेतका लागि सायेद मोनिबले आक्रामक पारि खेल्दै ३६ बलमा ५ चौका र ६ चौकाको सहायतामा ६८ रन बनाए। त्यस्तै परविन्दर कुमारले ५३ रन बनाउँदा कप्तान मोहम्मद अस्लमले ३३ रन तथा उस्माङ्गी इब्राहिमले १६ रन तथा सिराज खान र याशिन पटेलले समान १४ रन बनाए।

कुवेतलाई लक्ष्यसम्म पुग्न नदिन कार्तिक मियप्पन र जुनैद सिद्धिकीले समान ३ तथा सचित शर्मा, आयन अफ्जल खान, जहुर खान र रोहन मुस्तफाले समान १ विकेट लिए।

मुलपानीमा यूएईको जित

त्यस्तै बिहीवार नै मुलपानी मैदानमा सम्पन्न खेलमा ओमनले कतारलाई ४० रनले हरायो।

टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतार ४७.२ ओभरमा २०९ रनमा समेटियो।

ओमनका लागि आयन खानले सर्वाधिक अविजित ६४ रन बनाउँदा कप्तान जेसन मक्सुदले ४१ रन बनाए। त्यस्तै सन्दीप गोउडले ३४, मोहम्मद नदिन र कश्यप प्रजापतिले १८ तथा अक्विब इय्यासले १७ तथा जतिन्दर सिंह र आदिल साफिक्वीले समान १६ रन बनाए। कतारका लागि मोहम्मद मुराद र अमिर फारुकले समान ३ विकेट लिँदा इक्रामुल्ला खानले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कतारका लागि कप्तान मोहम्मद रिजलानले सर्वाधिक ४३ रन बनाउँदा मोहम्मद मुरादले ३०, इमल लिइन्गेले २७, इक्रामुल्लाह खानले २६ तथा मोहम्मद तनवीरले १९ रन बनाए।

ओमनका बिलाल खानले सर्वाधिक ४ विकेट लिँदा अक्विब इल्यास र जय ओडेराले समान २ विकेट लिए। त्यस्तै जेसन मक्सुदले १ विकेट लिए।

योसँगै एसीसी प्रिमियर कपमा समूह 'ए' मा नेपाल र ओमनले समान २ अंक जोडेका छन् भने मलेसिया, कतार र साउदी अरेबिया अंकविहीन छन्। त्यस्तै समूह 'बी' मा यूएई र हङकङ समान २ अंक जोडेर शीर्ष दुईमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell