PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

चुनावमा झुटो समाचार पर्‍यो महँगो : मानहानी मुद्दामा फक्स न्युज १ खर्ब भन्दा धेरै रुपैयाँ तिर्न तयार



पहिलोपोस्ट

चुनावमा झुटो समाचार पर्‍यो महँगो : मानहानी मुद्दामा फक्स न्युज १ खर्ब भन्दा धेरै रुपैयाँ तिर्न तयार
Photo: AP

मतदान गर्ने विद्युतीय मेसिनको विषयमा प्रकाशित भएको समाचारलाई लिएर फक्स न्युजले झन्डै १ खर्ब रुपैयाँ जरिवाना तिर्न परेको छ। सन् २०२० भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको समयमा प्रकाशित सामग्रीलाई लिएर डोमिनियोन कम्पनीले डेफमेसन (मानहानी)को मुद्दा दायर गरेको थियो। अदालतको सुनुवाई प्रकृयामा जानु जानुभन्दा केही समय अघिमात्रै फक्सले ७८७.५ मिलियन अमेरिकी डलर अर्थात् १ खर्ब ३ अर्ब ६० लाख ६१ हजार रुपैयाँभन्दा धेरै क्षतिपूर्ति तिर्न राजी भएको बीबीसीले जनाएको छ।   

चुनावी अभियानमा फक्स न्युज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा सक्रिय देखिँदै आएको थियो। संसारकै सबैभन्दा धनी मिडिया टाइकुन रुपर्ट मुर्डक फक्स न्युजका मालिक हुन्।

समाचारका विषयलाई लिएर फक्सले दोषी करार गरेको कम्पनी डोमिनियोनले क्षतिपूर्तिका लागि दुई खर्ब रुपैयाँभन्दा धेरै रकमको दावी सहित मुद्दा दायर गरेको थियो। फक्सले प्रचार गरेको झुटो समाचारका कारणा भएको व्यावसायिक क्षतिको पूर्ति हुनुपर्ने भन्दै मुद्दा दायर गरेको थियो। निर्वाचनमा भोटिङ मेसिन डोनाल्ड ट्रम्पलाई हराउनेगरी सेटिङ मिलाइएको भन्दै फक्सले समाचार बनाएको थियो। 

एक खर्बभन्दा धेरै रकम बुझाउन सहमत भएसँगै रुपर्ट मुर्डक कानुनी झन्झटबाट बच्ने भएका छन्। क्षतिपूर्तिको रकममा दुवै पक्ष सहमत भएसँगै अदालती प्रकृया रोकिएको हो। 

फक्सले समकालीन अमेरिकी इतिहासमा मानहानीविरुद्धको सबैभन्दा ठूलो 'सेटलमेन्ट' भएको वक्तव्य जारी गर्दै पत्रकारिताको 'उच्चस्तरीय मानक' स्थापित गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएको छ।  

यद्यपि, फक्सले वक्तव्यमा डोमिनियोनले अदालत समक्ष गरेका कतिपय दावी गलत रहेको पनि जनाएको छ। 

यता डोमिनियोनका प्रमुख कार्यकारी अधिकृत जोहन पौलसले फक्स न्युजको झुटो खबरले आफ्नो कम्पनीलाई धेरै नै खराव अवस्थामा पुर्‍याएको जनाउँदै यस डिलले त्यसको पुष्टि गरेको बताए। 

पछिल्लो समयको सबैभन्दा ठूलो मानहानीको मुद्दा सुनुवाई कुनै कारण नखुलाई सारिएको थियो। पछिल्लो डिल सम्झौताले त्यसको कारण पनि प्रष्ट्याएको छ। फक्स र डोमिनियोन दुवैले यो मुद्दामा 'पत्रकारिताको मर्यादा'लाई आफ्नै हिसाबले उठाएका थिए। 

सन् २०२० को चुनावमा कम्पनीको मेसिनबाट ट्रम्पलाई परेको मत चोरिएको आरोप फक्सले आफ्नो समाचारमार्फत् लगाएको थियो।

मतगणनाबाट  जो बाइडेनले जित निकाल्दा समेत यसै विषयलाई लिएर रिपब्लिकन समर्थकहरुले ट्रम्पले जितेको दावी गर्दै आएका थिए। 

एरिजोनाको मतदानको विषयलाई लिएर तयार पारिएको सामग्रीले सबैभन्दा धेरै प्रभाव पारेको थियो। फक्सका दुई जना उच्चपदस्थ अधिकारीले दुई महिनाअघि मात्रै समाचारमा गरेको गल्तीका कारण पद गुमाएका छन्। 

अदालती प्रकृयामा जानुअघि भएका अनुसन्धानले नै फक्सले गरेको गल्तीको खुलासा गरेको थियो। कन्सपिरेसीमा आधारित भएर आएको समाचार सामग्रीका कारण मुर्डकको कम्पनीले ठूलो क्षति बेहोर्न परेको छ। यसले फक्सको इमेजमाथि पनि राम्रो धक्का लागेको छ। 

अदालती प्रकृया सुरु हुनुअघि नै यो केसमा फक्स फसिसकेको थियो। त्यसैले उसले क्षतिपूर्ति तिर्ने बाटो रोज्यो। क्षतिपूर्ति तिर्नुले फक्स नेटवर्कका लागि कम क्षतिको विषय भएको कानुन व्यवसायीहरुले टिप्पणी गरेका छन्। फक्स विरुद्ध अदालतबाट आदेश आएको भए अझ धेरै क्षति बेहोर्नुपर्ने स्थिति रहेको उनीहरुको भनाइ छ। 

फक्सले यस्तैखाले अर्को मुद्दाको पनि सामना गरिरहेको छ। २.७ बिलियन डलर क्षतिपूर्ति माग सहित चुनावमा आधारित टेक्नोलोजी फार्म स्मार्टमेटिकले मानहानीको मुद्दा दायर गरेको छ। 

डोमोनियनले दुई कन्जर्भेटिभ न्युज नेटवर्कहरु ओएएन र न्युजम्याक्सविरुद्ध पनि मानहानीको मुद्दा हालेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell