PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

डुम्रेमा विकासका पोका फुकाउँदै प्रचण्डले स्वर्णिमलाई भने : खहरे खोला सुक्नेवाला छ, राष्ट्रपति भारत जानुको खुलाए कारण



पहिलोपोस्ट

डुम्रेमा विकासका पोका फुकाउँदै प्रचण्डले स्वर्णिमलाई भने : खहरे खोला सुक्नेवाला छ, राष्ट्रपति भारत जानुको खुलाए कारण

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तनहुँको विकासका लागि गोविन्द भट्टराईलाई जिताउन अपिल गरेका छन्। बुधवार तनहुँ १ स्थित डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेललाई झैं गोविन्दलाई जिताएर पठाउन आग्रह गरेका हुन्।

जिते मन्त्री पक्का!

प्रधानमन्त्री प्रचण्डले गोविन्दले जितेमा मन्त्री पक्का हुने वचनसमेत दिए। सम्बोधनकै क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले जितेर आएमा मन्त्री बनाइदिने बताएका थिए। प्रचण्डले आफू देउवाको साथमा रहेको उल्लेख गरे। 'शेरबहादुरजीले गोविन्दजीलाई मन्त्री हुनुहुन्छ भन्नुभयो, म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो अहिले। यो मञ्च लक्की । रामचन्द्रजीलाई झै अत्याधिक मतले जिताइदिनु होला। बाँकी काम शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो। म उहाँसँगै छु, ' प्रचण्डले भने।

पाँच महिनाअघि पौडेलको पक्षमा आफूले मत माग्दा भनाई खेर नगएको प्रचण्डको भनाई थियो। पौडेल राष्ट्रपतिमा निर्वाचित भएको प्रसंगमा उनले भने, 'पाँच महिनाअघि यसरी एकै मञ्चमा सम्बोधन गर्दा रामचन्द्र पौडेलको पक्षमा विजयी गराउन अपिल गरेको थिएँ। उहाँ प्रधानमन्त्री बन्नुहुन्छ मैले भनेको थिएँ। मैले प्रधानमन्त्रीको सम्भावनाको कुरा गरेको थियो। अहिले उहाँ देशकै सर्वच्च पद महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो। मेरो भनाई खेर गएन। मैले भनेभन्दा बढी पाउनुभयो।'

जनता न्यायाधीश हुन्, उचित निर्णय गर्नुहोला

प्रचण्डले यो क्षेत्रमा पूर्व प्रधानमन्त्रीसहित प्रधानमन्त्री नै लाइन लागेर मत माग्न आउनुको अर्थ बुझ्न तनहुँवासीलाई आग्रह गरे। 'पूर्वप्रधानमन्त्री लाइन लागेर हामीले भनिसकेका छौ हामी एक ठाउँमा छौ योपटक सरकार हाम्रो छँदैछ,' उनले भने, 'उपचुनावपछि पनि सरकार हाम्रो रहिरहने नै हो यसमा सुशासनको यात्रा शुरु भइसकेको छ। यसलाई पूर्णता दिनतिर लाने नै हो।'

गोविन्द इमानदार र योग्य उम्मेदवार रहेकोले कुनै हिचकिचाहटविना जिताउनसमेत प्रचण्डको आग्रह रह्यो। 'कुनै द्विविधामा नपरी गोविन्द भट्टराई एउटा संघर्ष त्यागको प्रतीकका रुपमा परिचित हुनुहुन्छ। तनहुँको सुखदुखमा संघर्षका दिनमा कीर्तिमान बनाउनुभएको योग्य उम्मेदवार हो। यो पुष्टि भइसकेको छ। काठमाडौंबाट हेर्दा पनि उहाँ इमानदार र योग्य हुनुहुन्छ,' प्रचण्डले भने, 'रामचन्द्रजीलाई भोट मागेको कुरा सम्झिँदै तपाईहरुलाई अनुरोध गर्न चाहन्छु। तपाईहरु न्यायाधीश हो। उचित निर्णय गर्नुस् त्यसको व्यवस्थापन गर्ने जिम्मा हामी लिन्छौं। यही विश्वास तपाईहरुलाई दिन चाहन्छु।'

विकासका सात आश्वासन

प्रचण्डले गोविन्दलाई जिताउन विकासका आश्वासनसमेत बाँडे। सडक कालोपत्रे बनाउनेदेखि बनिरहेका पुल चाँडो सम्पन्न हुनेसम्मका विषयमा प्रधानमन्त्रीले वचन दिए।

'मुग्लिन पोखरा सडकको काम शुरु त भएको छ तर धिमा गतिमा भएको कारण यहाँको जनतालाई धेरै असजिलो पनि भएको छ पीडा पनि भएको छ। यो सडकको कामलाई द्रुत बनाउन कडा निर्देशन दिइनेछ,' उनले भने, '२०७५ सालका बनेका सबै कच्ची सडक कालो पात्रे गरिनुपर्छ भन्ने तपाइहरुको चाहना मैले बुझेको छु। योपटक नीति तथा कार्यक्रम र बजेटमा अधिकतम सम्बोधन गर्नेछु।'

उनले बन्दीपुरमा खानेपानीको सपना पुरा गर्नेतर्फ पनि काम अघि बढ्ने बताए। यसैगरी उनले भानु जन्मस्थललाई संसारभरीको नेपालीहरुको अध्ययन केन्द्र बनाउन पहल गर्नेसमेत बताए। 'बन्दीपुरमा लिफ्टिङ गरेर खानेपानी सञ्चालन गर्ने कुरा धेरै पहिलेदेखिको तपाईहरुको सपना हो। मेरोतर्फबाट र गठबन्धनको तर्फबाट तुरुन्त अघि बढ्नेछ। तनहुँ र चितवन जोड्ने बुद्धसिंह घाटमा निर्माणाधीन पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ,' प्रचण्डले भने, 'भानु जन्मस्थललाई संसारभरीका नेपालीभाषीको अध्ययन केन्द्रको रुपमा नेपाली साहित्य साधना केन्द्र स्थापना गर्ने बारेमा गत सालदेखि रामचन्द्र पौडेलजीले अलि बढी नै जोड गर्नुहुन्थ्यो। म प्रधानमन्त्री भएकोले यो काम अघि बढाउने विश्वास दिलाउन चाहन्छु।'

त्यसैगरी यस क्षेत्रमा चिडियाघर बनाउने र विश्वविद्यालय बनाउने विषयमा पनि आफू सकारात्मक रहेको बताए। 'चिडियाखाना बनाउने विषयमा श‌ंकर भण्डारीले प्रस्ताव ल्याउनुभएकै थियो। त्यो कामलाई अघि बढाउने विश्वास दिलाउँछु,' उनले भने, 'देवघाट एतिहासिक स्थल हो। मैले त्यहाँ पनि दोस्रोपटक प्रधानमन्त्री हुँदा विश्वविद्यालय बनाउने विषयमा छलफल गरेको थिए। देवघाटमा संस्कृत विश्वविद्यालय बनाउने गरेर गम्भीर बहस चलाउने विश्वास दिलाउन चाहन्छु।'

राष्ट्रपतिको पौडेललाई राम्रो उपचार होस् भनेर भारत पठाएँ

प्रधामन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था खासै गम्भीर नभएको तर राम्रो उपचार होस् भनेर भारत पठाएको जनाए। 'हिजो बेलकामात्रै सम्माननीय राष्ट्रपतिजीसँग बसेर छलफल गरेको थिए। उहाँ अलिकति अस्वस्थ हुनुभएको हो तर गम्भीर हैन। हामी चिन्तित हुनुपर्ने छैन,' उनले भने, 'डाक्टरहरुले राम्रो उपकरण भएको ठाउँमा जाँच्दा राम्रो हुन्छ भनेको हुनाले मैले नै रामचन्द्रजी सल्लाह दिएको उहाँ त उपचार यही गर्छु भन्दै हुनुहुन्थ्यो। उपचारको निर्णय डाक्टरले गर्नुहुन्छ भनेर मैले नै भनेको हुँ।'

यसपटक प्रधानमन्त्री हुँदा आफैलाई पनि सहज नभएको विषय उल्लेख गर्दै पुन आफू पुरानै गठबन्धनमै ब्याक भएको उनको तर्क थियो। 'यसपटक म असहज तरिकाले प्रधानमन्त्री भएँ। म प्रधानमन्त्री हुँदा पनि मलाई चैन भएन। मलाई प्रधानमन्त्री बनाउन नपाएकोमा शेरबहादुरजीलाई चैन भएन,' प्रचण्डले भने, 'हाम्रो लभ अहिले गहिरो भइसकेको थियो। त्यसो भएर हामी उपाय खोज्दै थियौ। जनताबाट जे अनुमोदन भयो यतै फर्कनुको विकल्प देखिएन। हाम्रो निर्णयले राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रदेश सरकार हाम्रो बन्ने क्रममा छ।'

रास्वपा खहरे खोला!

देशको अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गर्दै प्रचण्डले आफूले सुधारका धेरै संकेतहरु देखिसकेको बताए। 'अर्थतन्त्रमा सुधार राख्ने कुरालाई उच्च प्राथमिकतामा राखेको थियो। अब अर्थतन्त्र सुधारको क्रममा छ,' उनले भने, 'हाम्रो देशमा अहिले कुरो धेरै गहिरो छ। ठुलठुला गफ हाँक्नेहरुको अश्लियत के हो भन्ने कुरा हामीले देखिरहेका छौ। सुशासनको क्षेत्रमा नयाँ कदम चलाएको छु। स्कुलमा नयाँ पाठ्यक्रम समयमै पुगेका छन्। नीति तथा कार्यक्रम आउँदा जनताको असन्तुष्टि सम्बोधन गर्ने गरी हामी प्रस्तुत हुनेछौ। तपाईहरु कुनै द्विविधामा नपर्नुहोला। जनताको आशाअपेक्षाअनुसार अघि बढ्ने गरी हामी अघि बढेको हो।'

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार स्वर्णिम वाग्लेलाई लक्षित गर्दै प्रचण्डले उनीहरु खहरे खोला भएको दाबी गरे। 'कहिले कही खहरे खोला उर्लेर आउँदा डरलाग्दो हुन्छ तर त्यो खहरे सुक्नेवाला छ। नदी गम्भीर ढंगले समुन्द्रतिर बगिरहन्छ यो कुरा नबिर्सौ। तनहुँजस्तो भानुभक्तको जन्मस्थल राष्ट्रपतिको जन्मस्थल देवघाट भएको ठाउँ सतीसाल जसरी उभिएर खडा शान्ति संविधानको लागि उभिउँ,' उनले भने, 'गोविन्दजीलाई जिताउनु गठबन्धनलाई जिताउनु हो। तपाईहरुले अत्याधिक मत दिएर जिताउनुस्।'

प्रधानमन्त्री प्रचण्डले गठबन्धनको साझा चुनाव चिन्ह रुख भएको स्मरणसमेत गराए। 'रुख चिन्ह हामी सबैको चुनाव चिन्ह भएको छ। यसमा अत्याधिक मत दिनुस्। निर्वाचनपछि हेर्नुहोला यहाँको विकासले नयाँ गति लिनेछ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell