PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रहरीको दमनविरुद्ध मिटरब्याज पीडितको मार्च : गृहमन्त्री र सांसदहरुमाथि प्रश्नैप्रश्न

प्रहरीको दमनविरुद्ध मिटरब्याज पीडितको मार्च : गृहमन्त्री र सांसदहरुमाथि प्रश्नैप्रश्न

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: बुधवार मिटर ब्याज पीडित प्रहरीविरुद्ध खनिएका देखिन्थे। प्ले कार्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि प्रश्न उठाइएको थियो। 'जनवादी गृहमन्त्री कहाँ गए, साहुको धोती मुनि हराए', काजीसाहेब गफ तिम्रा बडा बडा अब त भरियो पापको घडा, क्या बढिया आदेश तिम्रा, मिटरब्याजीलाई छाड्दे खुल्लम खुल्ला! पीडितको चाहिँ टाउको फुटा, भुइँमा लडा!!' यस्तै यस्तै नारा लेखिएको प्ले कार्ड देखाउँदै नयाँ बानेश्वरस्थित संसद भवन नजिकै प्रदर्शनमा उत्रिए उनीहरु।

खासमा सोमवार मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले गरेको दमनविरुद्ध उनीहरु प्रदर्शनमा उत्रिएका रहेछन्। शान्तिबाटिका क्षेत्रमा आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पर्खालभित्र थुनेर अश्रुग्याँस र पानीको फोहोराले प्रहारमान नगरी शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनका निम्ति शान्तिवाटिकाबाट निस्कन लागेका महिलाहरूलाई लछारपछार गरेर, किसान-मजदुरहरूलाई टाउकोमा ताकेर लठ्ठी प्रहार गरेको उनीहरुको आरोप छ। पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट गरेको र उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुनेको समेत दाबी गरे।

नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले लाठी वर्षाएर मानव-अधिकारको हनन् गरेको उल्लेख गर्दै उनीहरुलाई कारवाही गर्न प्रदर्शनमा उत्रिएको उनीहरुको भनाई थियो। 'एकातिर मिटरब्याजजस्तो अत्याचारी र अलोकतान्त्रिक व्यवस्थाको चरम शोषण र आतंकमा मजदुर किसानहरू छन्, अर्कोतिर उनीहरूको न्यायको संघर्षमाथि नै निर्मम दमनमा उत्रेर सरकारले मानव- अधिकार र लोकतन्त्रिक मान्यताको ठाडो उलङ्घन गरेको छ,' उनीहरुले भनेका छन्। यसै दमनविरुद्ध आफूहरुले मानव अधिकार मार्च गरेको पीडितको भनाई थियो।



ट्रेन्डिङ पोस्ट

Ncell