PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मछिन्द्र क्लब एपीएफसँग पराजित, पुलिसमाथि आधा दर्जन गोलको जित निकालेर जावलाखेल शीर्षस्थानमा



पहिलोपोस्ट

मछिन्द्र क्लब एपीएफसँग पराजित, पुलिसमाथि आधा दर्जन गोलको जित निकालेर जावलाखेल शीर्षस्थानमा
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लब एपीएफ क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफले साविक विजेता मछिन्द्र क्लबमाथि १-० गोलको कठिन जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई हराउन एपीएफका अर्माण्ड बेडोउमले ३९ औँ मिनेटमा निर्णायक गोल गरे। त्यस्तै आज भएको अर्को खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबमाथि ६-१ गोलको फराकिलो जित निकालेको छ। खेलको २९ औँ मिनेटमा फोडे फुफनाको गोलमा अग्रता बनाएको जावलाखेलका लागि हिसुब थपलियाले ५० र ८२ औँ मिनेटमा तथा एनकोटो मासोबीले ६५ र ७२ औँ मिनेटमा र अब्दुल्लाजिज नोशोनबेबले ६५ औँ मिनेटमा गोल गरे। पुलिसका लागि ८८ औँ मिनेटमा मोसेस ट्वुमले सान्त्वना गोल फर्काए।

बुधवार नै सम्पन्न तेस्रो खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई २-१ गोलअन्तरले हरायो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चौथो मिनेटमै कप्तान प्रकाश बुढाथोकीको गोलमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। त्यस्तै ९ औँ मिनेटमा जुनियर एनकेनगुइले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, २५ औँ मिनेटमा फ्रेन्ड्स क्लबका टोरिक जेब्रिनले गरेको गोल फ्रेन्ड्सको जितमा निर्णायक बन्यो। 

आजको खेलमा जित निकालेको जावलाखेलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ। १० खेलबाट जावलाखेलको २० अंक छ भने दोस्रो स्थानमा रहेको सातदोबाटो युथ क्लबको ९ खेलबाट १७ अंक छ। त्यस्तै ११ अंक जोडेर फ्रेन्ड्स क्लब १० औँ स्थानमा उक्लिँदा एपीएफ १४ अंक जोड्दै ८ औँ स्थानमा उक्लिएको छ। जारी सिजन प्रदर्शन सुधार्न नसकेको पुलिस भने ५ अंक जोडेर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell