काठमाडौं: फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ प्रिमियर शो भएको छ। पासाङ ल्हामु फाउन्डेशनले बुधबार काठमाडौंमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको हो। प्रिमियर शोमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायत चलचित्रकर्मीहरुको उपस्थिति थियो।
साथै वैशाख १० गतेबाट देशभरका क्युएफएक्स हलहरुमा फिल्म प्रर्दशन हुने फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिइन। २०२२ मार्चमा अमेरिकाको ‘सान्ता बार्बरा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा प्रिमियर भएको यो फिल्म ३०औं पासाङ ल्हामु दिवसका अवसर पारेर देशभर प्रर्दशन गर्न लागिएको हो।
राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर ७२ मिनेट लामो छ। नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश फिल्मले दिन्छ।
अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक वढी समय मेहनत गरेर फिल्म तयार पारेको बताइन्। फिल्म अन्तराष्ट्रिय क्षेत्रमा भएका ३० वटा फेस्टिवलमा प्रदर्शन भइसकेको छ।