PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

जितगढी किल्ला : जहाँ २०८ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेर इतिहास रच्यो



रमेश पराजुली

जितगढी किल्ला : जहाँ २०८ वर्षअघि नेपालले अंग्रेजलाई पराजित गरेर इतिहास रच्यो

बुटवल : केहीसमय अघिसम्म ओझेलमा थियो ‘जितगढी किल्ला’। त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा पर्‍यो।

संरक्षण नहुँदा किल्लाका सम्पदा स्थल बालबालिका खेल्ने मैदान जस्तै बनेका थिए। ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला क्षेत्रको स्वरुप अहिले भने फेरिएको छ।

२०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यसको गुरुयोजना बनाएर संरक्षण र सम्वर्द्धनको काम भइरहेको छ। यस स्थलमा अहिले आकर्षक संरचना बनेका छन्।

उतिबेलाको लडाइँ ताकाका सेनाको झल्को दिनेगरी सालिकहरु निर्माण गरिएको छ। जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ।

जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास भइरहेको छ। अहिले उबेलाको किल्ला परिसरको स्वरुप पूरै फेरिएको छ।

नेपाल-अंग्रेजका बिचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा आज (बिहीवार) जितगढी उत्सव मनाइँदैछ। १८७२ बैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरी नेपाली वीरताको इतिहास रचेको थियो।

नेपाली सेनाले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ। जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको नेपाली सेनाको टोलीलाई स्वागत गर्ने र पैदल यात्रा समापन गर्ने कार्यक्रम रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

उनले बिहान १० बजे पैदलयात्री टोलीलाई स्वागत गर्ने र यात्राको समापन गर्ने कार्यक्रम रहेको र दिउँसो १२:३० बजे जितगढी किल्लामा मुल समारोहको कार्यक्रम रहेको बताए। कार्यक्रममा नेकपा (एमाले) उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलसहित यस क्षेत्रका जनप्रतिनिधिलगायतको उपस्थिति रहने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

नेपाल-अंग्रेज युद्धको पृष्ठभूमि र किल्ला

२१ पुस १८७१ देखि १८७२ सम्म नेपाल-अंग्रेजका बिचमा युद्ध भयो। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडेपनि जित हात पार्न सकेको थिएन।

कुमाउ-गडवाल (नाहान), मकवानपुरगढी, कोशी-टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो। तर बुटवलमा भने नेपालले जित हासिल गरेको थियो।

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, अंग्रेज सेनाका मेजर जनरल सुलीभान उडको नेतृत्वमा बुटवल-पाल्पा हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो। अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो।

युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो। जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे। आक्रमणबाट बुटवलमा रहेको सेनाकालीन दरबार ध्वस्त भयो।

दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाइँमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे। अंग्रेजतर्फ ठूलो क्षति भयो।

बुटवल-पाल्पा क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ बैशाख १८७२ मा  विजय हासिल गर्‍यो। युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए।

दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयउत्सव मनाइन्छ। जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ।

भाद्र कृष्ण अष्टमीको साँझ जाग्राम बसेर भजनकिर्तन गर्ने र मध्यरातमा भगवतीको पूजाआजा गरी रथलाई तयारी अवस्थामा राखिन्छ। नवमीका दिन पूजा सकेपछि साइत हेरेर रथलाई जयजयकारको गुञ्जन ध्वनिसहित तीनपटक मन्दिर घुमाइन्छ।

दिउँसो बली दिएपछि रथलाई उठाउने चलन छ। रथलाई तीन पटक घुमाएर ‘कर्णेली पूजा’ दिएपछि मात्र नगरपरिक्रमा गराइन्छ। रथलाई  मन्दिर परिक्रमा गराइ कर्णेल उजिरसिंहको सम्झनामा पूजा गर्ने चलन छ।

यस्तो छ जितगढी किल्ला

पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्व-पश्चिम लम्बाइ २ सय ५ फिट छ र चौडाइ करिब ५५ फिट रहेको छ। गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ। गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फिट ३ इन्च र १० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फिट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ।

आर्थिक वर्ष २०६९/०७० र ०७०/०७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो। उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिएपनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएका थिएनन्। यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो।

जितगढी किल्ला हस्तान्तरण गरिँदै

जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकाका यसअघिका मेयर शिवराज सुवेदीको नेतृत्वमा पर्यटकीय थलोका रुपमा विकास गर्नेगरि गुरुयोजना बनाएर काम सुरु भएको थियो। नेपाली सेनाले जितगढी किल्लाको संरक्षण र सम्वर्द्धनको काम सम्पन्न गरी बिहीवार बुटवल उपमहानगरलाई हस्तान्तरण गर्ने तयारी गरेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलका पृतनापति यामप्रसाद ढकालले जानकारी दिए।

जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको शालिक निर्माण गरिएको छ। उक्त लडाइँमा वीरगति प्राप्त गरेका तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतको शालिक बनाइएको हो।

किल्लाको वास्तुकला, इतिहास, नेपाल-अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार भएको छ। हरियाली गार्डेन तयार भएको छ र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएको छ। किल्ला परिसरसँगै पर्यटनलाई मणिमुकुन्दसेन दरबार क्षेत्र, नुवाकोट गढीसहितका पर्यटन क्षेत्रसँग जोड्ने तयारी गरिएको छ।

गोरखाबाट आएको टोलीलाई नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लामा भव्य स्वागत गर्ने कार्यक्रम राखिएको पृतनापति ढकालले बताए। नेपालको राष्ट्रिय झण्डाका साथमा नेपाली सेनाको श्रीनाथ गण, पुरानो गोरख गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजासहित पदयात्रा सुरु भएको थियो।

तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै सेनाको टोली पैदलमार्ग हुँदै बुटवल आइपुग्ने छ। राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण सहभागी पैदलयात्रामा ५५ जनाको टोली रहेको र जिल्ला जिल्लामा संख्या थप हुँदै गएको पृतनापति ढकालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell