PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

‘जारी’ मा राजी हुनुका कारण सुनाए दयाहाङ र मिरुनाले : पात्र फिट हुन स्क्रिप्ट पनि बलियो हुनुपर्छ



पहिलोपोस्ट

‘जारी’ मा राजी हुनुका कारण सुनाए दयाहाङ र मिरुनाले : पात्र फिट हुन स्क्रिप्ट पनि बलियो हुनुपर्छ

काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। यसैबीच जारी टिमले सञ्चारकर्मीसँग भेटघाट कार्यक्रम राखेको छ। कार्यक्रममा जारीका नायक दयाहाङ राईले पात्रमा फिट हुन फिल्मको स्क्रिप्ट बलियो हुनुपर्ने धारणा राखे। 

‘लिम्बु’ पात्रको फिट हुँदाका अनुभव सुनाउने क्रममा राईले भने,‘फिल्मको स्क्रिप्ट हेर्दा राईको छोरामा लिम्बु पारा आउँदैन की भन्ने डर थियो। तर, अहिले सबैले लिम्बु पारा आएको छ भन्दा खुसी लागेको छ।' काम गर्न कठिन भएपनि लिम्बू साथीहरुसँग नजिक भएकाले केही सजिलो भएको उनको भनाई थियो। ‘चरित्र बन्नका लागि सबैभन्दा गजब कुरा स्क्रिप्ट नै हो। उपेन्द्र दाईले फिल्मको स्क्रिप्ट यसरी लेखिदिनु भएको थियो कि सबै कुरा छर्लङ्ग थियो। सुरुमा केही चुनौती पनि लागिरहेको थियो। किनकी त्यो चरित्रमा रिस, प्रेम र इगो छ। उहाँले कथा छर्लङ्गै लेख्नुभएको थियो। मलाई पात्रमा फिट हुन स्क्रिप्टले नै सहयोग गरेको हो,’ दयाहाङले भने।

त्यसैगरि, अभिनेत्री मिरुना मगरले ‘जारी’ को स्क्रिप्टकै कारण आफू काम गर्न राजी भएको सुनाइन्। आफूले चाहेको जस्तो पात्रमा काम गर्न पाउँदा निकै खुसी लाग्ने उनको भनाई छ।

‘जब मलाई ‘जारी’ को कुरा आयो। मैले काम गरिसकेका चरित्रभन्दा जारीको 'हाङ्मा' क्यारेक्टरभिन्न थियो। यसमा हिरोइनभन्दा पनि एक पात्र बनेर काम गर्नुपर्ने थियो। जुन मेरा लागि ठूलो कुरा थियो। स्क्रिप्ट पढ्ने बित्तिकै मैले चाहेको जस्तो स्क्रिप्ट पाए जस्तो भयो,' मिरुनाले भनिन्, 'अहिले दर्शकको राम्रो प्रतिक्रिया आउँदा त्यो पात्रमा फिट हुन सकेको महसुस हुन्छ। जसको क्रेडिट चाँहि म टिमलाई नै दिन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell