म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ।
भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन्। सोमवारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०:३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिए।
‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ’, उनले भने।
परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ। मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए।
अन्नपूर्ण हिमालबाट यसअघि मंगलवार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो। काठमाडौं लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।
अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलवार मृत्यु भएको थियो। हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङको भूगोलमा अवस्थित छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिवारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए। बुधवारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।
अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो। विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।